नेतृत्व दोहोरिएमा पार्टी असफल हुने ओलीको दाबी

508 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, १५ असार – नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले १५ वर्षसम्म नेतृत्वमा रहेका नेता पार्टीको अध्यक्ष भएमा पार्टी असफल हुने बताएका छन् ।

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६३ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आज काठमाडौंमा  आयोजित ‘जनताको बहुदलीय जनवाद र नेतृत्व हस्तान्तरण’ विषयक विचारगोष्ठीमा नेता ओलीले पार्टी जीवनको लोकतान्त्रिकरणका लागि नेतृत्व हस्तान्तरण हुनुपर्ने उल्लेख गरे ।

वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता ओलीले प्रश्न गर्नुभयो, “१५ वर्षसम्म नेतृत्व गरेर असफल भएर पार्टी धसाएर (पहिलो संविधानसभा निर्वाचनमा पराजय पछि) बीचमा राजीनामा दिएका नेताले नयाँ अभिभारा पूरा गर्न सक्लान् ?”

नेता ओलीले एमालेको आशन्न नवौं महाधिवेशन केवल कर्मकाण्डी मात्र नहुने र यसले मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गर्ने अभिभारा पूरा गर्ने नीति र नेतृत्व चयन गर्न महाधिवेशन कोशेढुङ्गा सावित हुने बताए ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेता ओलीलाई यसपटक अध्यक्ष बनाउनु न्यायोचित हुने भन्दै त्यसपछि नेतृत्व हस्तान्तरण हुने धारणा राखे ।

महासचिव ईश्वर पोखरेलले नेता ओली सर्वसम्मत अध्यक्ष बन्नुपर्ने धारणा राखे सेतोपाटी डट कमले खबर लेखेको छ ।