पानी, स्वास्थ्य र जीवन

816 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पानी हाम्रो जीवनको अभिन्न अंग हो। पानी र जीवनबीच अन्योन्याश्रित सम्बन्ध छ। सबै जीवित प्राणी पानीमा निर्भर हुन्छन्। पानीको यति धेरै महत्त्व भएकाले यो स्वच्छ, प्रदूषणमुक्त र कीटाणुरहित हुनुपर्नेमा दुईमत नहोला। वातावरणीय सन्तुलन कायम गर्न पनि पानीको अहं भूमिका हुन्छ।

जनसंख्या वृद्धि, मानव बस्ती विस्तार, भौतिक संरचना निर्माण र वनविनाशले वातावरणका साथै पर्यावरणलाई समेत नकारात्मक असर पारेको छ। एकातिर बाढीपहिरो, भूकम्प, प्राकृतिक प्रकोप भने अर्कोतिर मानवनिर्मित कलकारखाना, मेसिन, औजार, सवारीसाधन आदिबाट वातावरण सन्तुलन खल्बल्याएको छ। प्राकृतिक एवं अप्राकृतिक कारणले पानीको स्रोत र अवस्थालाई प्रदूषित बनाउन मद्दत पुर्‍याएको छ।

पानी प्राणी जातिका प्राणदायकका रूपमा महत्त्वपूर्ण भए पनि प्रदूषित भएमा स्वत: हानिकारक र प्राणघातकसमेत हुन सक्छ। मानिसलाई लाग्ने लगभग एकतिहाइ रोग दूषित पानीबाट उत्पन्न हुने हुनाले स्वस्थ रहन स्वच्छ र सफा पानी प्रयोग गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार ५० प्रतिशतभन्दा बढी रोग पानीको कारणबाट हुने गरेका छन्। दूषित पानी रोगव्याधीका कारक हुन्।

जस्तै- चर्मरोग, झाडापखाला, पेट दुख्ने, जुका आदि। पानीबाट उत्पन्न रोगले विश्वका वैज्ञानिकलाई समेत चिन्तित बनाएको छ। साथै पानी स्वच्छताका लागि सबै एकजुट हुन आह्वान गरिएको छ। विश्वका एक अर्ब १० करोडभन्दा बढी मानिसमा स्वच्छ र पर्याप्त मात्रामा पानी सुविधा पुग्न सकेको छैन। जबकि विश्व स्वास्थ्य संगठनले पानी स्वच्छ, स्वस्थ र दूषित पदार्थरहित हुनुपर्छ भनेर जोड दिएको छ।

पृथ्वीको करिब ७० प्रतिशत भाग पानीले भरिएको छ। त्यसमध्ये ९४ प्रतिशत पानी महासागर, समुद्रका रूपमा रहेको छ, जो पिउनयोग्य छैन। पृथ्वीमा दुईतिहाइ भागमा पानी भए पनि पिउनयोग्य पानी (फ्रेस वाटर) ६ प्रतिशत छ, जसमध्ये जमिनमुनिको पानी ३.६ प्रतिशत, ताल ०.०७ प्रतिशत, वातावरणमा ०.३४ प्रतिशत छ। हिउँ जमेर बरफको रूपमा पृथ्वीका धु्रव, हिमाल र हिमशृंखला छन्। पृथ्वीमा रहेको सबै बरफ पग्लने हो भने यसबाट जति पानी पाइन्छ, त्यसबाट एक हजार वर्षसम्म पृथ्वीमा प्रयोग गर्न पुग्ने पानी उपलब्ध हुन्छ।

एउटा व्यक्तिलाई ७५० मिलिलिटर (एक लिटरको तीनचौथाइ) पानीले करिब २४ घन्टा पुर्‍याउन सक्छ वा न्यूनतम आवश्यकताअनुसार पुर्‍याउन सक्छ। जबकि साधारणतया स्वस्थ रहन दुईदेखि पाँच लिटर पानी सेवन गर्नुपर्छ। शरीरलाई पानीको आवश्यकता गर्मी ठाउँमा बढी र जाडो ठाउँमा कम हुने गरेको पाइन्छ। गर्मी ठाउँमा शरीरबाट पानी पसिनाको रूपमा बाष्पीकरण हुने भएकाले दुई डिग्री तापक्रम बढेमा शरीरमा भएको तरल पदार्थ ५० प्रतिशत वाष्पीय भएर घट्ने हुन्छ।

मानिसको शरीरको तौलको करिब ८० प्रतिशतसम्म पानी हुने हुनाले मानव जीवनमा यसको आवश्यकता र महत्त्व धेरै भएको हो। त्यसैले शरीरको तौलभन्दा २० प्रतिशत तरल पदार्थ घटेमा मानिसको मृत्यु हुने सम्भावना हुन्छ। यसरी पानीबिना मानिस १० दिन मात्र बाँच्न सक्छ। त्यसैले पानीलाई जीवनको एक अभिन्न अंगको रूपमा लिइएको हो।

पानी मानव उपभोगबाहेक अन्य घरेलु प्रयोग (धुन, पखाल्न, नुहाउन), बोटबिरुवाका साथै औद्योगिक प्रयोगका लागि पनि नैसर्गिक आवश्यकता मानिन्छ। पानीको यति धेरै महत्त्व हुँदाहुँदै पनि त्यसको प्रयोगबाट स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको हुन्छ। विकासोन्मुख देशमा पानीलाई धेरै किसिमको रोगको कारकका रूपमा लिन सकिन्छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष विश्वमा करिब २२ लाख मानिसको मृत्यु झाडापखालाबाट हुन्छ।

त्यसको ९० प्रतिशत संख्या विकासोन्मुख देशका पाँच वर्षमुनिका बालबालिका जो झाडापखालाका साथै आउँबाट पनि बढी संख्यामा रोगले ग्रसित भएको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एक अर्ब मान्छेले प्रयोग गर्ने पानीको स्रोत प्रदूषित छ। यस्तो भयावह तथ्यांक नियालेर हेर्दा यसको रोकथामका पक्ष पनि विचारणीय छ। स्वच्छ पिउने पानी, सरसफाइ र प्रदूषण नियन्त्रण भएमा मात्र हामीलाई स्वच्छ पानी उपलब्ध हुन्छ।

बढ्दो जनसंख्या, सहरीकरण, औद्योगीकरण र कृषिमा आधुनिकीकरणले गर्दा पानीको समस्या थपिँदै गएको छ। यही हिसाबले जनसंख्या वृद्धि भएमा पानीको परिमाणात्मक एवं गुणात्मक समस्या अझ भयावह हुनेछ। जनसंख्या वृद्धि सँगसँगै सहरमा बसोबास गर्नेहरूको चाप दिनानुदिन बढिरहेकाले पानीको सन्तुलनमा नकारात्मक असर परेको छ। एकातिर पानी आपूर्ति घटेको छ भने अर्कोतर्फ घरायसी फोहोर एवं प्रदूषण थप कारक भएको छ।

ढल सोझै नदीमा मिसाउनाले पानीको स्रोत फोहोर भएकाले गुणस्तरमा नकारात्मक असर परेको छ। उद्योग, कलकारखाना, अस्पताल, औषधिबाट निस्कने फोहोर प्रदूषणका प्रमुख तत्त्व हुन्। यसले वातावरण मात्र नभई पर्यावरणलाई समेत खतरा पुर्‍याउँछ। यस्ता स्रोतबाट उपचार नगरी फालिने पदार्थका साथै औद्योगिक फाल्तु पदार्थले पानीलाई प्रतिकूल असर पारेको हुन्छ।

कृषिको विकाससँगसँगै उत्पादन वृद्धि गर्न रासायनिक मल, विषादी, जीवनाशक विषादीको व्यापक प्रयोगले माटो र पानीलाई प्रदूषित बनाएको छ। विषादी माटोको संसर्गबाट पानीको स्रोत प्रदूषित गराउने प्रमुख कारक मानिन्छ।

सार्वजनिक वितरण हुने पानीको गुणस्तर घरदैलोसम्म आइपुग्दा विभिन्न प्रदूषणको संसर्गले प्रदूषित भएको पाइएको छ। त्यसैले पानीलाई घरमा उपचार गरेर मात्र प्रयोग गर्नु उचित हुन्छ। पानी घरेलु रूपमा क्लोरिन राखेर, पानी उमालेर, सोडिस प्रविधिबाट प्रशोधन गरेर पनि उपभोग गर्न सकिन्छ। उपचार नगरी प्रयोग गर्न उपयुक्त मानिँदैन।

वातावरणीय प्रभावले पानीको स्रोतलाई प्रभावित पारेकाले उपचार गरेको पानी मात्र प्रयोग गर्नुपर्ने हुन्छ। पानी प्रशोधन गरी बोतल बन्दी गर्ने उद्योगले सरकारले निर्धारण गरेको प्रशोधित पिउने पानीको स्तरअनुरूप उत्पादन गर्नु उद्योगको दायित्वभित्र पर्छ। हाल नेपालमा करिब एक सय ७५ वटाजति पानी प्रशोधन गर्ने उद्योग स्थापना भएका छन्। बोतलबन्दी पानीको प्रयोग व्यापकरूपमा प्रयोग हुने गरेको छ।

बोतल बन्दी पानीको गुणस्तरमा विशेष ध्यान दिई अनुगमन गर्ने गरिएको छ। स्वच्छ पानी उपलब्ध गराउन सरकारी निकाय, उद्यमी व्यवसायीले उच्च सर्तकता अपनाउन जरुरी छ।

नेपालमा पनि सरकारले पानीको संवेदनशीलतालाई मध्यनजर गरी सरकारी, गैरसकारी संस्था समन्वयात्मक रूपमा राष्ट्रिय पानी दिवस सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन थालेको छ। साथै स्वस्थ रहन स्वच्छ पानीको आवश्यकताबारे सबै पक्षबाट उत्तिकै महत्त्व दिन थालिएको छ।

-लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक हुन्।

-अन्नपूर्ण पोष्ट डट कमबाट