कहाँ पुग्यो एमाले महाधिवेशनको तयारी ?

662 पटक पढिएको

सम्पादक: Dhadingnews.com

UML-9th-Congress-Logo-600x351

काठमाडौं, १६ असार । नेकपा एमालेले महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

एमाले महासचिव एवं मुल व्यवस्थापन समितिका संयोजक इश्वर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको व्यवस्थापकीय काम निरन्तर अगाडि बढिरहेको जानकारी दिनुभएको हो । महासचिव पोखरेलले महाधिवेशनका सन्दर्भमा कतिपय नेता–कार्यकर्ताका अभिव्यक्तिहरु अस्वस्थ, कटु र पार्टी एकतालाई कमजोर पार्ने खालको भएको भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्ति जस्ताको तस्तैः

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा भइरहेका कामबारे जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूसँग साप्ताहिक भेटघाटअन्तरगत नै यो पाँचौं शृङ्खलाको पत्रकार सम्मेलन आयोजना गरेका छौं । सबै सञ्चारकर्मी साथीहरूलाई हार्दिक स्वागत गर्दै यस बीचमा भएका केही महत्वपूर्ण कामहरुबारे जानकारी गराउन चाहन्छु ।

१) विधान प्रकाशन: पार्टी केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले विधानलाई अन्तिम रूप दिंदै प्रकाशन गरिएको छ । विधान पार्टीको वेभसाइटwww.cpnuml.com मा हेर्न सकिनेछ ।

२) प्रतिनिधि चयन: महाधिवेशन प्रतिनिधिको चयन समाप्त भएको छ । निर्वाचित भएर २ हजार २ सय १४ प्रतिनिधिहरू आउनुभएको छ । जो, निम्नानुसार संख्यामा रहेको देखिन्छ:

मेची – ११९, कोशी – १४८, सगरमाथा– ८८, जनकपुर – ८९, नारायणी – १४१, बागमती– १३२, उपत्यका–१०८, गण्डकी– १२७, लुम्बिनी– १८९, धौलागिरी – ४८, राप्ती– ७४, भेरी– १२०, कर्णाली– ५३, सेती– १०३, महाकाली– ६१, केन्द्रीय कार्यालय र विभाग– २३, भारत प्रवास– ३४, जनसंगठन– २०२, सम्पर्क विशेष– ३४, अञ्चल समन्वय कमिटी– १७, प्रवास (भारतबाहेक)– २४ । मनोनित– ५ प्रतिशतले १११ गरी कुल जम्मा २ हजार ३ सय २५ जना ।

३) व्यवस्थापकीय काम: महाधिवेशनको व्यवस्थापकीय काम निरन्तर अगाडि बढिरहेका छन् । यसबीच खाद्य उपसमिति, आवास उपसमिति, अतिथि सत्कार उपसमिति, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापन समिति, महाधिवेशन स्थल व्यवस्थापन उपसमिति, प्रचार उपसमिति, कार्यालयलगायत उपसमितिहरूले आफ्ना कामहरुलाई तीब्रताका साथ अगाडि बढाइरहेका छन् । महाधिवेशनमा भाग लिन अघिल्लो पत्रकार सम्मेलनमा जानकारी दिइएबाहेक भाकपा (माक्र्सवादी), भाकपा, भाकपा (माले लिवरेशन), फरवार्ड ब्लक, रसियन कम्युनिष्ट पार्टी, रिभोल्युसनरी कम्युनिष्ट पार्टी अफ बङ्ग्लादेश, कम्युनिष्ट पार्टी अफ श्रीलङ्का, पिपुल्स पार्टी अफ कम्बोडियाबाट कन्फर्मेशन प्राप्त भएको छ । नेपालका राजनीतिक पार्टीहरूमध्ये संविधानसभामा प्रतिनिधित्व गर्ने सबै पार्टी तथा नेकपा–माओवादीलाई आमन्त्रण गरिएको छ ।

प्रचार उपसमितिले काठमाडौं उपत्यकाका सबै चोक, उपत्यकाभित्रका क्याम्पसहरू, आकाशे पुलमा ब्यानर तथा होर्डिङ बोर्ड स्थापना गरेको छ । पर्सी असार १८ गतेदेखि महाधिवेशनको सचिवालय महाधिवेशनस्थल भृकुटीमण्डपमा स्थापना हुनेछ ।

४) प्रचार–प्रसार अनुगमनको प्रारम्भिक प्रतिवेदन: प्रचार उपसमितिको गत १३ जेठ २०७१ मा बसेको पहिलो बैठकले विशेष प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीलाई गम्भीर ध्यानाकर्षण गराएको थियो । प्रस्तावमा भनिएको थियो– ‘नवौं महाधिवेशनको सन्दर्भमा बहस, छलफल र अन्तक्र्रिया सञ्चालन गर्दा र उक्त प्रक्रियामा सक्रिय हुँदा प्रमुख नेताहरु र सिङ्गो पंक्तिले पार्टीको समग्र हित, एकता र हार्दिकता अभिबृद्धि गर्ने गरी प्रस्तुत हुन यो बैठक हार्दिक अनुरोध गर्दछ । यस सन्दर्भमा कतिपय सञ्चारमाध्यमहरुमा सम्पे्रषित आरोप–प्रत्यारोपयुक्त अभिव्यक्तिहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसलाई समयमै निराकरण गरी स्वस्थ र मर्यादित बहस–विमर्शमा सरिक हुँदै अघि बढ्नका लागि पार्टी नेतृत्वसमक्ष विशेष अनुरोध गर्ने निर्णय गरिन्छ ।’ केन्द्रीय कमिटी बैठकले प्रस्तावलाई हार्दिकरूपमा ग्रहण गरेको उक्त प्रस्तावअनुरूप गतिविधिहरू नभइरहेको विश्लेषण गर्दै उपसमितिको दोस्रो बैठकले त्यसको अनुगमनका लागि कार्य टोलीसमेत गठन गरेको थियो । कार्यटोलीले प्रचार–प्रसारका सन्दर्भमा कतिपय नेता–कार्यकर्ता र पार्टी निकट सञ्चारमाध्यम एवम् सोसल मिडियामा प्रकाशित कतिपय अभिव्यक्तहरू अस्वस्थ, कटु र पार्टी एकतालाई कमजोर पार्ने खालका रहेको ठहर गरेको छ । आगामी दिनमा यस बिषयमा गम्भीर हुन सम्बद्ध सबै कमरेडहरू तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

५) महाधिवेशनको जिङ्गल: आजैदेखि नवौं राष्ट्रिय महाधिवेशनको जिङ्गल सार्वजनिक गरिएको छ ।

ईश्वर पोख्रेल
संयोजक
१६ असार २०७१