केमा बढ्यो कर ? केमा दिइयो सहुलियत ? ठूला लगानीका उद्योगलाई आयकर छुट

704 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 download (1)काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१/०७२ को बजेट भाषणमार्फत केही वस्तुमा कर बढाउने र केही वस्तुमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । सरकारले आफ्नो प्राथमिकता हेरेर करको दायरामा केही तलमाथि गरेको छ । सरकारले कृषि, उर्जा, उद्योगलाई विषेश प्राथमिकतामा राखेको छ ।

आइतबार बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले सरकारले कृषिमा अनुदान, उर्जामा कर छुट र उद्योगमा नीतिगत सुधार तथा कर छुटका विभिन्न योजना रहेको बताए । त्यसैगरी मानव स्थास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु र विलासी वस्तुहरुमा कर बढाएको घोषणा गरे ।

उर्जामा १०० प्रतिशत कर छुट

तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दै सरकारले निजी क्षेत्रका लगानीकर्तालाई आकषिर्त गर्न प्रतिमेगावाट विद्युत उत्पादन गर्दा ५० लाख रुपैयाँ भ्याट फिर्ता गर्ने घोषणा गर्‍यो । त्यसैगरी १० वर्षसम्म पूर्णरुपमा आरकर छुट र त्यसपछि पाँच वर्ष आयकरमा ५० प्रतिशत छुटको घोषणा गर्‍यो ।

कृषिमा के-के अनुदान

सरकारले कृषि क्षेत्रको विकासका लागि मोटो रकम अनुदान दिने घोषणा गरेको छ । कृषि उद्यममा युवालाई प्राथमिकतामा दिँदै सिँचाई, मल, बीउ र यन्त्र खरिदमा विषेश अनुदानको व्यवस्था गरेको छ । ६ प्रतिशत व्याजदरमै कृषि कर्जा उपलब्ध गराउन सरकारले कृषि कर्जाको व्याजमा ४ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । त्यसैगरी कृषि तथा पशु बीमाको बीमाशुल्कमा ७५ प्रतिशतसम्म छुट दिएको छ । गत वर्ष यस्तो छुट ५० प्रतिशतमात्रै थियो ।

ठूला लगानीका उद्योगलाई आयकर छुट

सरकारले १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना हुने उत्पादनमुलक उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने भएको छ । यस्ता उद्योगले कारोबार सुरु गरेको पाँच वर्षपछि पुन ३ वर्ष ५० प्रतिशत आयकर छुट पाउनेछन । २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म पूर्ण र त्यसपछिका तीन वर्ष ५ प्रतिशत आयकर नलिने अर्थमन्त्रीको बजेट भाषण्मा उल्लेख छ । कपडा उद्योगलाई पुनस्थापित गर्न करमा विषेश सहुलियत दिइने छ ।

आयकर छुट

सरकारले व्यक्तिगत आयकरको दायरा बढाएको छ । एकल व्यक्तिला लागि २ लाख ५० हजार रुपैयाँसम्म एक प्रतिशतमात्रै र विवाहितका लागि भने ३ लाख रुपैयाँसम्म एक प्रतिशतमात्रै आयकर लाग्ने घोषणा गरेको छ । यसअघि एकल व्यक्तिका लागि २ लाख र विवाहित व्यक्तिका लागि २ लाख ५० हजार रुपैयाँसम्ममात्रै एक प्रतिशत आयकर लाग्थ्यो ।

सवारीसाधन र पाटपुर्जामा कर बढ्यो

सरकारले दुई पांग्रे तथा चारपांग्रे सवारीसाधनलाई विलासी वस्तुमा वर्गीकरण गर्दै कर बढाएको छ । जसअनुसार १२५ सीसीसम्मको मोटरसाईकलको कर पाँच सय रुपैयाँले बढेर दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । १२५ सीसीभन्दा माथि २५० सीसीसम्म पनि पाँच सय रुपैयाँले बढेर चार हजार रुपैयाँ पुगेको छ भने २५० सीसीभन्दा माथिको दुई पांग्रे सवारीसाधनमा एक हजार रुपैयाँले कर बढाएर ६ हजार रुपैयाँ पुर्‍याएको छ ।

त्यसैगरी १००० सीसीसम्मका चारपांग्रे सवारीसाधनमा १५ सयले कर बढाएर १८ हजार रुपैयाँ पुर्‍याएको छ । १००१ देखि १५०० र १५०० देखि २००० सीसी सम्मका साधनमा दुई/दुई हजार रुपैयाँले कर बढाएर क्रमशः २० र २२ हजार रुपैयाँ पुर्‍याएको छ । त्यस्तै २००१ देखि २९०० सीसीसम्मका लागि २५ सय रुपैयाँले बढाएर ३० हजार रुपैयाँ र २९०१ देखि माथि चार हजार रुपैयाँले बढाएर ४८ हजार रुपैयाँ पुर्‍याएको छ । सरकारले गाडीका पाटपुर्जाको कर पनि बढाएको छ ।

सरकारले जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सुर्तीजन्य र मदिराजन्य पदार्थमा कर बढाएको छ । साउन १ गतेदेखि लागू हुनेगरी सरकारले सूर्तीजन्य पदार्थ गुट्खामा १५ प्रतिशत करको वृद्धि गरेको छ ।

त्यसैगरी चुरोटमा १० प्रतिशत र मदिरामा ८ प्रतिशत कर बढाएको छ ।

-अनलाईन खबरवाट