सङ्क्रमणकालीन व्यवस्थापनसँग सम्बन्धित ११ वटा विषयमा सहमति

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काजी श्रेष्ठ

काठमाण्डौं–संविधानसभा मातहतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सङ्क्रमणकालीन व्यवस्थापनसँग सम्बन्धित ११ वटा विषयमा सोमवार सहमति जुटाएको छ । तत्कालीन संविधानसभाको संवैधानिक समितिले सहमति गरिसकेका ४८ विषयमा केन्द्रित रहेर सोमवार  भएको छलफलमा ११ वटा विषयमा दलहरूबीच सहमति भएको हो । समितिका सभापति डा बाबुराम भट्टराईले निर्वाचन प्रणाली कस्तो अपनाउने भन्ने विषय राज्यको पुनर्संरचना समिति मार्फत टुङ्गो लगाउने सहमति भएको बैठकपछि जानकारी दिनुभयो । प्रस्तावित नयाँ संविधानमा बाधा अड्काउ फुकाउने अधिकार सङ्क्रमणकालीन भागअन्तर्गत राख्ने र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्र प्रमुखले आदेश जारी गर्न सक्ने व्यवस्था गर्ने भन्ने बारेमा दलहरूबीच सहमति भएको सभापति भट्टराईले बताउनुभयो । सोमवार भएका सहमतिहरुलाई एक महिनाभित्र संसद्बाट अनुमोदन गराउने बारेमा पनि दलहरु एक मत भएका छन् । मुलुकको सङ्घीय व्यवस्थापिका दुई सदनात्मक हुने तथा प्रदेश व्यवस्थापिकाको नाम प्रदेशसभा राख्न पनि दलहरूबीच सहमति भएको छ । हाल कायम रहनुभएका राष्ट्रपति र उपराष्ट्रपति अर्काे संविधान जारी नभएसम्मका लागि वा अर्काे व्यवस्था नभएसम्मका लागि कायम रहने भए पनि कुनै कारणले रिक्त हुन आएमा तत्काल कायम रहेको व्यवस्थापिका–संसद्बाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्छ भन्नेमा पनि बैठकमा दलहरूबीच सहमति भएको बताइएको छ । सहमति भएका विषय समितिले संविधानसभामा पठाउने र संविधानसभाको पूर्ण बैठकमा छलफल गरेर त्यो विषय मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने व्यवस्था मिलाइएको छ ।