हाइवेको खानामा दलाली

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

c23a17b8a627da09843d7724612c3aea_L
मुग्लीन (चितवन)-उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापा हरेक महिना चारदेखि छपटक पृथ्वी राजमार्ग हुँदै काठमाडौं ओहोरदोहोर गर्छन्। तर, उनी हत्तपत्त हाइवेका होटल छिर्दैनन्।
‘जतिसुकै भोक खेप्नुपरोस्, काठमाडौं नै पुग्छु, कि त घरबाटै खाएर निस्कन्छु,’ उनी भन्छन्, ‘गुणस्तरहीन खाना, त्यो पनि अति महँगो। सधैं कति झगडा गर्नु?’ हाइवेको खानालाई पैसा तिर्ने उपभोक्ताले सँगसँगै रोग पनि किनिरहेको उनी बताउँछन्। ‘अर्को कुरा, यहाँका खानामा दलाली प्रवृत्ति छ, चालकको कमिसनअनुसार खानाको रेट र गुणस्तर निर्धारण हुन्छ,’ थापा भन्छन्।
पछिल्लो समय नियमितजसो हाइवेमा यात्रा गर्नेहरू हत्तपत्त त्यहाँ खाना खाँदैनन्। कारण हो– महँगी, गुणस्तरहीन खाना र जबर्जस्ती गर्ने प्रवृत्ति। होटल र गाडी चालकबीचको कमिसनको मार यात्रुले खेप्नुपरेको छ। यात्रुले भरिएको गाडी खाना–खाजाका लागि पुर्या इदिएबापत यातायात मजदुरले सम्बन्धित होटलवालासँग प्रतिटि्रप २ सयदेखि २ हजारसम्म कमिसन लिन्छन्। होटलवालाले त्यो पैसा यात्रुलाई महँगो शुल्क लिएर असुल्छ।
‘अहिले कसले धेरै कमिसन दिने भन्ने प्रतिस्पर्धा होटल व्यवसायीमा बढेको छ,’ मुग्लिन बजार एकाइका अध्यक्ष होटल व्यवसायी नारायणप्रसाद पाण्डेले भने, ‘पहिलेजस्तो खाना खुवाइदिनुपर्योग भनेर गाडी रोक्ने चलन अहिले छैन। जसले धेरै भत्ता दिन सक्यो, त्यहीँ यात्रुलाई खाना, खाजा खुवाइन्छ।’ केही वर्षपहिले २० वटासम्म बसका यात्रुलाई खाना खुवाएको पाण्डे सम्झन्छन्। तर, अहिले उनको होटलमा आउने दुई रात्रिबस मात्रै हुन्छन्। अन्य होटललेे बढी कमिसन दिएपछि आफ्नोमा आउने चालकहरू त्यतै लागेको पाण्डे बताउँछन्। भन्छन्, ‘होटल धेरै खुले, पहिले सबै गाडी मुग्लिनमै खाना खान रोकिन्थे, हाइवेका लागि सेन्टर पर्थ्यो। अहिले फरकफरक ठाउँमा खाना खुवाइन्छ।’
ग्ााडी चालकले गुणस्तरीय र ताजा खाना पाइनेभन्दा पनि धेरै कमिसन दिने होटल खोजेर यात्रु पुर्यानउँछन्। उनीहरूले रोकेको ठाउँबाहेक अन्यत्र खान सम्भव हुँदैन। राजमार्गमा यात्रुलाई खाना खुवाउने होटल प्राय एक्लाएक्लै छन्। टाढा गए गाडी छुट्ने डरले पनि त्यही होटलमा नखाई सुखै छैन। खाना नखाने यात्रुले अन्य चिजको मूल्य पनि बजारभाउभन्दा महँगो तिर्नुपर्छ। मूल्यअनुसार खानाको गुणस्तर परीक्षण नगरिएको, सरसफाइमा ध्यान नदिने, बासी खाना खुवाउने प्रवृत्ति धेरै रहेको उपभोक्ताको गुनासो छ।
चालकलाई कमिसन दिने प्रवृत्ति पहिल्यैदेखि रहे पनि अहिले त्यसमा अस्वस्थ प्रतिस्पर्धा बढेको होटल व्यवसायी बताउँछन्। २ सयदेखि ५ सय रुपैयाँसम्म रहेको कमिसन अहिले एकैचोटि २ हजारसम्म पुगेको छ। उपभोक्ता ठगिने क्रम झन् बढेको छ। पृथ्वी राजमार्गका होटलपिच्छे मूल्य फरकफरक छ। नेपाल सरकारले तोकेको वा उत्पादित वस्तुमा उल्लेख गरिएभन्दा निकै महँगो मूल्य असुल्छन्, यहाँका व्यापारी। यही कारण होटलवाला र ग्राहकबीच पटकपटक तनाब हुने गरेको छ। यी होटलले सादा खानाको १ सय ५०, चिकेन खानाको २ सय र मटनखानाको २ सय २५ रुपैयाँभन्दा बढी लिन्छन्। यी खानाको गुणस्तर कहीँकतै परीक्षण गरिएको हुँदैन। सरकारले सबै व्यवसायमा अनिवार्य मूल्य सूची टाँसेर पारदर्शी व्यवहार गर्न निर्देशन दिए हाइवेका होटलले लागू गरेका छैनन्।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले कहिलेकाहीँ अनुगमन गरे पनि नियमित नभएको स्वयं होटल व्यवसायी बताउँछन्। दुई वर्षअघि विभागले मुग्लिन बजारलगायत राजमार्गका होटलको स्तर निर्धारण गरेर चिह्न टाँसेको थियो। होटल तथा रेस्टुरेन्टले पालना गर्नुपर्ने न्यूनतम मापदण्डका आधारमा अति राम्रो, राम्रो, ठिकै र कमजोर गरी चारवटा संकेत चिह्न होटलमा टाँसिएका थिए। त्यसको दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म अनुगमन प्रभावकारी नभएको थकाली होटल सञ्चालक कोपिला सेरचन बताउँछिन्। विभागले खानाको गुणस्तर, सरसफाइलाई आधार बनाएर होटलको वर्गीकरण गरेको थियो। लामो समय अनुगमन नभएकाले विभागले टाँसेको संकेत चिह्न प्रभावकारी हुन सकेको छैन नागरिक न्युज डट कमले खबर लेखेको छ ।