गीतकार भण्डारीको ‘आमाको सम्झना’को लोकार्पण

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, –201_7296 लोककवि अलि मियाँको आठौं स्मृति दिवस तथा गायिका अम्बिका भण्डारीको तीज गीत भिसिडी आमाको सम्झनाको लोकार्पण आइतबार सम्पन्न भएको छ।
दिवसको अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले भण्डारीको भिसीडीको विमोचन गरेका हुन्।
लोककवि अलि मियाँलाई सम्झँदै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपाली लोकस·ीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका लोककवि अलिमियाँको नाममा पोखरामा जन्मेको प्रतिष्ठानले लोक साहित्य तथा लोकसंगीतको प्रतिनिधिका रुपमा चिनारी दिन सकेकोमा खुशी व्यक्त गरे। ‘लोक साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्छ तर सामान्य किसिमले मात्र हुँदैन। लोक साहित्य यति गहन विधा छ।’–सरुभक्तले भने–‘युग सुहाउँदो विकास गर्दै संस्कृतिलाई लान सकेमात्र पुस्तौं पुस्तासम्म जीवित रहन्छ।’
अर्को प्रसङ्गमा उनले तीज पर्वमा अनुशासनहीनता, फजुल खर्च बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। परिवारसँग बसेर हेर्न नमिल्ने, सुन्न नसकिने गीतहरू आउन थालेकोमा उनले चिन्ता जनाए।
शिक्षाविद् डा. गणेशबहादुर गुरुङले प्रतिष्ठानले लोकगीत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राखे।
प्रतिष्ठानका सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जिल्ला–जिल्लामा गएर लुकेका स्रष्टालाई खोजी–खोजी सम्मान गरी राज्यले गर्नु पर्ने दायित्व पूरा गरेको बताए। उलने थपे–‘अब लोकगीत सङ्ग्रहालय स्थापना प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ।’
प्रतिष्ठानका संरक्षक सदस्यसमेत रहेका रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले तीजका गीत चेलीबेटीको मनको अभिव्यक्ति भए पनि पछिल्लो क्रममा दोहोरी र जुहारी गीत बनेकोमा चिन्ता व्यक्त गरे। उनले भण्डारीले बजारमा ल्याएको जस्ता मौलिक गीतहरूको खाँचो औंल्याए। ‘मौलिक भाका धानिरहनुभएका हरिदेवी कोईरालालाई अब नयाँ पुस्ताले साथ दिनुपर्छ’–श्रेष्ठले भने–‘ विकृत गीतहरूलाई निरुत्साहित गर्नुपर्छ ।’ उनले अलि मियाँको ईच्छा अनुसार सबै मिलेर प्रतिष्ठान गठन गरेको जनाए।

भिसीडीको समीक्षा गर्दै गीतकार आरजु बिष्ट ‘सल्यानी’ले आमाको स्मरणमा मौलिक शब्द र भाकामा तयार पारिएको एल्बम उत्कृष्ट र कर्णप्रिय रहेको बताए। उनले लोकगीत र लोकजीवनलाई गीतमा अभिब्यक्त गर्नेहरुको खडेरी परेको भन्दै भण्डारीजस्तालाई मिडियाले पनि सघाउनु पर्ने बताए।
गीतका स्रष्टा भण्डारीले पछिल्लो समयमा तीजे गीतमा विकृति आएकाले आफूले मौलिक शब्द र भाकालाई समेटेर गीत ल्याएकाले सबैले किनेर सुनिदिन आग्रह गरिन्। उनले भनिन्–‘सङ्गीतमार्फत संस्कृतिको जर्गेना र सामाजिक दायित्व निर्वाह गर्न यो क्षेत्रमा लागेकी हुँ।’
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत तथा सचिव पदमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।