केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान र शालिक स्थापना गरिने

1263 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pidaaliधादिङ-दक्षिणी धादिङको पिडा गाविस – ४ च्याङ्लीमा  साहित्यकार केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान निर्माण गरी त्यहाँ उहाँको सालिक स्थापना गरिने भएको छ ।
धादिङको पिंडा गाविसका कृष्णराज लामिछानेका सुपुत्रका रुपमा पिंडालीकोे जन्म १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । धादिङको पिंडाँमा पिंडालीका बाबु बाजेले जीवन भुक्तान गरेकाले केशवराज लामिछानेले आफ्नो थर लेख्ने ठाँउमा पिंडाली लेख्ने गरेका थिए । पिंडालीका पूर्खाहरुले पनि लेखक र प्रकाशकका रुपमा नाउँ चलाएका थिए । पिंडालीको पत्रकारिताको इतिहास २००८ सालदेखि नै सुरु भएको थियो । त्यस बेला उनले गाइजात्रा नामक हास्यव्यड्ग्य पत्रिकाको सम्पादन समेत गरेका थिए । त्यसपछि नयाँ कदम र विकास नामक पत्रिकाको पनि पिंडाली प्रकाशक बनेका थिए । पिंडाली पछि मधुपर्क मासिकका सम्पादक समेत भएका थिए ।

            बुधबार हासने प्रतिष्ठानका महासचिव धर्मराज बराल र साहित्यकार एवं पत्रकार श्याम रिमालसहित तथा स्थानीयवासीबीच भएको छलफल कार्यक्रममा च्याङ्लीलाई साहित्य पर्यटन क्षेत्र बनाउने प्रतिबद्धता जनाइएको छ ।हास्यव्यङ्ग्यकारका रुपमा प्रसिद्ध साहित्यकार तथा पत्रकार पिंडालीका ‘खै खै’, ‘फेरि उल्टै मिल्यो’, ‘प्रसन्न हुनुहोस्’, ‘व्यङ्ग्यै व्यङ्ग्य’, ‘अन्तदेखि सुरु’, ‘एकादेशकी महारानी’लगायत कृति प्रकाशित छन् । उनी ‘गोरखापत्र’, ‘मधुपर्क’ र ‘विमर्श’ साप्ताहिकसँग पनि सम्बद्ध भए । बिपी कोइराला प्रधानमन्त्री हुँदा निजी सचिवका रुपमा काम गरेका  पिंँडालीको जन्म भएको यस वर्ष आगामी माघ १६ गते एक सय वर्ष पूरा हुँदैछ । उनका पुर्खा लामिछाने हुन् ।

                                पिंँडालीका नातेदार एवं पिडा गाविसका पूर्वअध्यक्ष प्रमोद रुपाखेतीले च्याङ्लीस्थित डोल भन्ज्याङ उमाविले यस वर्ष बेलायतबाट अन्तर्राष्ट्रिय शैक्षिक सम्मान पाएकाले सो क्षेत्रमा  पिंडाली उद्यान निर्माण गर्ने, सो स्थानमा पिँडालीको सालिक निर्माण गरी शैक्षिक र साहित्यिक पर्यटनको विकास गर्न लागिपर्ने बताउनुभयो ।

 हासने प्रतिष्ठानका महासचिव बरालले स्थानीयवासीको अगुवाइमा पिडामा पिँडालीको सालिक राख्ने कार्य गर्ने, उनको लडेको घरको जीर्णाेद्धार गर्ने, उहाँको व्यक्तित्व र कृतित्वलाई लिपिबद्ध गरी सबैलाई चिनाउने कार्यमा हासने प्रतिष्ठान मार्गदर्शक संस्थाका रुपमा रहने बताउनुभयो ।

पृथ्वीराजमार्गको आदमघाटबाट ११ किमि दक्षिण कच्ची बाटाको दूरीमा रहेको पिंडालीको पुख्र्यौली घरलाई गाउँको ‘ठूलो घर’का रुपमा चिनिन्थ्यो । केही समयअघि भत्केको सो घर तीन तलाको थियो । सरकारको नागरिकता टोलीलगायतले सोही घरमा बसी काम गर्थे ।  छलफलमा  पिडाका समाजसेवी अर्जुनप्रसाद अर्याल, राजेन्द्र सुवेदी र मोहन लामिछानेको पनि सहभागिता थियो ।