धादिङमा स्थायी शिक्षकको दरखास्त फारममा ठगी

740 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/शिक्षक सेवा आयोगलले स्थायी शिक्षकका लागि लिन लागेको परीक्षाको फारममा जिल्ला शिक्षा कार्यालय धादिङले ठगि गरिरहेको छ ।

स्थायी शिक्षकका लागि आवेदन दिनेहरुले दरखास्त फाराम जहाँ सुकैवाट लिन र भर्न सकिने भने पनि जिल्ला शिक्षा कार्यालय धादिङले जवर्जस्ती रुपमा एक प्रति फारमको ५० रुपैयाँ शुल्क असुलेर ठगि गरिरहेको हो ।

कार्यालयले राजस्व खातामा जम्मा नहुने गरी फारामको शुल्क असुल्ने गरेको दरखास्तवालाहरुले गुनासो गरेका छन । दरखास्तवालाले आफैले आयोगको वेवसाइटबाट डाउनलोड गरेर भरेको फारामलाई शिक्षा कार्यालयले मान्यता नदिएको र फारम किन्न बाध्य पारको उनीहरुको गुनासो छ ।
जिल्ला शिक्षा कार्यालय धादिङले आफैले फायल र फाराम तयार पारेर त्यही फाराम मात्र भर्नुपर्ने वाध्यता वनाएको शिक्षा कार्यालयमा फाराम भर्दै गरेका एक युवाले वताए ।

फारम बुझ्न बसेको शिक्षा कार्यालयका कर्मचारीले भने आफूले माथिको निर्देशन अनुसार नै बाहिरबाट ल्याएको फारम दर्ता गर्न नसक्ने बताए ।  शिक्षा कार्यालयले दिएको फायल वजारमा ५ रुपैयामा किन्न सकिन्छ । त्यसै गरी दुई पाना फोटोकपीको बढीमा  ५ रुपैया पर्दछ । जम्मा १० रुपैयामात्र पर्ने कागजलाई ५० रुपैया लिंदा शिक्षक संघ संगठनले भने कुनै विरोध जनाएका छैनन ।

शिक्षक  सेवा आयोगलेनै सार्वजनिक सूचना जारी गर्दै इन्टरनेटबाट डाउनलोड गरेर फाराम भर्न सकिन्छ भनेकाले शिक्षा कार्यालयले दरखास्तवालालाई कार्यालयवाटै फाराम र फायल किन्न वाध्य पार्न नहुने नेपाल शिक्षक युनियनका केन्द्रिय सदस्य लक्ष्मण शर्माको सुझाव छ ।

जिल्ला शिक्षा कार्यालयका जिम्मेवार कर्मचारीहरु भने जिल्ला शिक्षा समितिको निर्णयवाटै कार्यालयको नगदी रसिद काटेर प्रति फायलको ५० रुपैया लिईएको  भन्दै थप जवाफ दिनवाट पन्छिने गरेका छन ।

जिल्ला शिक्षा कार्यालय धादिङले आईतवा सम्ममा ४५ सय जनाको दरखास्त फाराम बुझिसकेको जनाएको छ । धादिङ जिल्लामा विभिन्न तहका लागि १ सय १२ जना शिक्षकको दरवन्दी रिक्त छ ।