बगरमा सुन खोजेर नुनको जोहो

1411 पटक पढिएको

सम्पादक: Dhading News

boteधादिङ-तनहुँको व्यास– ५, कुमालटारीका ५५ वर्षीय वीरबहादुर बाटेले बालुवा धुँदै सुन जम्मा गर्न थालेको ४० वर्ष भयो। उनी हजुरबा–हजुरआमासँगै १२ वर्षको उमेरदेखि बगरमा सुन खोज्न हिँडेका थिए। बगरमै हुर्किए। त्यही कामलाई निरन्तरता दिए। श्रीमती फूलमाया पनि वर्षौंदेखि उनलाई सघाइरहेकी छन्।
३५ वर्षीय मेखबहादुर बोटे १३ वर्षको उमेरदेखि बालुवामा सुन खोजिरहेका छन्। उनका तीन दाजुभाइमध्ये दुईजनाले बालुवा चालेरै जीवन धानिरहेका छन्। व्यास– ५ कुमालटारीका २७ बोटे परिवारको पुर्ख्यौली पेसा नै बालुवामा सुन खोज्नु हो। जसलाई सुनधुवा भनिन्छ।
सुनको भाउ एक लालको पाँच रुपैयाँ अर्थात् तोलाको पाँच सय हुँदादेखि बालुवा चाल्न थालेका हुन्। अहिले एक तोला सुनको मूल्य साठी हजार नाघिसक्यो। यसबीचमा झन्डै १ किलोग्राम सुन बालुवाबाट प्राप्त गरे। अहिलेको मूल्यमा आधा करोडभन्दा बढी रुपैयाँका मालिक हुनुपर्ने वीरबहादुरको आङ नांगै छ। वर्षको ९ महिना नदी किनारमा सुन खोज्ने श्रीमती फूलमायाको पनि कान बुच्चै छ। ‘दुःखले कमाएको सुन बेचेर बिहान–बेलुकाको छाक टार्नबाहेक केही गर्न सकिएन, तीन छोरा र तीन छोरीको पढाइ, खाना, चाडपर्व यस्तैमा सकिन्छ पैसा,’ फूलमायाले दुखेसो पोखिन्।
यस वर्ष पनि तीजअघिबाट त्रिशूली बगरमा आएका वीरबहादुरले तीनपटक गरी १८ लाल सुन बेचेर ७ हजार २ सय कमाए। त्यसैले दसैं माने। दसंै मानेर पुनः बगरमा आइपुगेका उनी तिहार मान्न जाने तयारीमा छन्।
हरेक वर्ष त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, कालीगण्डकी, तादीलगायत नदीमा उनीहरू बालुवा चाल्छन्। यी सबै हिमनदी हुन्। उत्तरका हिमालबाट निस्किएर चुरेको फेदी हुँदै बग्ने यी नदीका मुग्लिनसम्मको बगरमा सुन भेटिन्छ। तलतिर पुग्दा ज्यादै कम पाइने बोटेको अनुभव छ।
बालुवामा सुन खोज्न सजिलो छैन। दिनभरि पसिना बगाउँदा बल्ल एक–दुई लाल सुन फेला पर्छ। यसरी खोजिएको सुन मुग्लिङ र डुम्रेका सुन पसलमा लगेर बेच्छन् उनीहरु। मुग्लिङस्थित मनकामना सुनचाँदी पसलका प्रोपाइटर दिलबहादुर विश्वकर्मा भन्छन्, ‘बोटेले नदीकिनारमा फेला पार्ने सुन असली तेजाबी सुन हो। उनीहरुले ल्याउँदा ७० देखि ८५ प्रतिशत शुद्ध हुन्छ। त्यसलाई प्रशोधन गरेर कलात्मक वस्तु बनाइन्छ।’
बोटे परिवार भदौ लाग्नेबित्तिकै पाल, खाद्यान्न तथा पकाउने भाँडावर्तन, एक सरो बिस्तराको कुम्लो र सुन चाल्न प्रयोग गरिने स्थानीय औजार बोकेर खोला सानो भएका र बगर देखिएका स्थानमा पुग्छन्। घरको जिम्मा बालबच्चा र बूढापाकाले लिन्छन्। उनीहरु एकैचोटि दसैं, तिहारलगायत चाडपर्व मनाउन घर पुग्छन्। आजभोलि उनीहरुको दिनचर्या मलेखुबजारपारि कुम्पुरस्थित त्रिशूली नदी किनारमा बितिरहेको छ।
अल्पसंख्यक जाति नदीको बगरमा सुन खोजेर जीवन निर्वाह गरिरहेको छ। तर, बगरमा सुन भेटिने कुराप्रति राज्यले कुनै चासो दिएको छैन। वातावरण विज्ञानका विद्यार्थी लक्ष्मण शर्माका अनुसार हिमालका फेदीमा सुनलगायत विभिन्न धातुका साना–ठूला खानी छरिएर रहेको अनुमान छ। तीव्रगतिमा बग्ने त्रिशूली, बूढीगण्डकीलगायत नदीले वर्षायाममा तिनै खानीबाट सुनका केही अंश बगाएर ल्याएको हुन सक्छ। सुनको घनत्व बालुवा र पानीभन्दा निकै बढी हुने हुनाले यस्ता नदीले बगाएर ल्याएको सुन धेरै तलसम्म नपुग्ने उनले बताए।
बगरमा जो कसैले सहजै सुन पत्ता लगाउन सक्दैन। आफूसँग भएको चाँपको पाटीका सहायताले बोटेहरु कुन बगरमा सुन छ भन्ने पत्ता लगाउँछन्। पहिले ख्यालै नगरी बालुवा चाल्न थालियो भने दिनभरिमा पनि सुन नभेटिने बताउँछन् वीरबहादुर। बालुवा धुँदा–धुँदा उनको हात–खुट्टाको छाला पूरै खुइलिसकेको छ। दिनभरि बगरको टन्टलापुर घामले छाला डढेर कालो भएको छ। बिहान ८ बजे खाना खाएर काम थाल्ने उनीहरु एकैपटक साँझको खाना खान्छन्।
टुनीको काठबाट बनाइएको डुँड, बाँसको कप्टेराबाट बनाइएको जाली, चाँपको काठबाट बनाइएको पातलो पाटी, बालुवा खोसि्रने कुटो, रड, बोरा, थैलो बोटे परिवारका औजार हुन् नागरिक न्युज डट कमले खबर लेखेको छ ।