सल्यानटारमा गड्यौला पालेर तरकारी खेती
2716 पटक पढिएको
केशव अधिकारी
सल्यानटार ( धादिङ) – सिंचाईकोे लागि त परै जावोस पिउने पानीको समेत निकै दुःख रहेको धादिङको सल्यानटारका किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन । बाह्रै महिना पानीको दुःख रहेको सल्यानटारका किसानले तरकारी खेतीका लागि नयाँ प्रयोगको पनि शुरुवात गरेका छन ।
बाटोमा हिंडदा गड्यौला देख्दा घिनाउने सल्यानटार पिपलगाउंका कुमालहरु अहिले घरमा गड्यौला पालनका लागि जुटेका छन । गड्यौलाबाट कम्पोष्ट मल बनाउन सकिने भएपछि उनिहरु तरकारी खेती संगै गड्यौला पालन तर्फ आकर्षित भएका हुन । पिपलगाउंका ३० जना कुमाल परिवार आवद्ध रहेको समुहले अहिले परिक्षणका रुपमा नन्दकुमार कुमालको घरमा गड्यौला खेती शुरु गरेको हो । गड्यौला खेतीबाट कम्पोष्ट बनाउने तालिम पाएका यहांका किसानले अहिले परिक्षण खेती शुरु गरेका छन । पिउनको लागि ल्याएको पानीलाई प्लािष्टक ट्याङकीमा जम्मा पारेर थोपा सिंचाई प्रविधि मार्फत शुरु गरिएको तरकारी खेती अहिले नमुना वन्न पुगेको छ । केही महिना अघि सम्म वजारवाट किनेर ल्याएको तरकारीको भर पर्ने पिपलगाउंका कुमालहरु आज भोली घर घरमै तरकारी फलाउन थालेका छन । थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी लिन सकिने ज्ञान पाएपछि आंफुहरु व्यवसायिक तरकारी खेती र कम्पोष्ट मलका लागि गड्यौला पालनमा लागेको नन्दकुमार कुमालले वताउनु भयो । धेरै समय नदिए पनि कमाई राम्रो हुने भएपछि आंफु व्यवसायिक गड्यौला पालनमा लागेको कुमालको भनाई छ । गडेयौलाबाट उत्पादित कम्पोष्ट मल वजारमा १६ रुपियाँ प्रति किलो बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
मलबाट राम्रो आम्दानी लिन सकेमा समुहका सबै सदस्यले व्यवसायिक रुपमा गड्यौला पालन गर्ने सहमती जनाएकोले अहिले परिक्षणका रुपमा नन्दकुमारले डेढ किलो गड्यौलावाट खेती शुरु गरेका हुन । गैर सरकारी संस्था सहयोगी हातहरुको समुह (सहास नेपाल) द्धारा संचालित स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजना (इल्लिप) कार्यक्रमको सहयोगमा सल्यानटारमा व्यवसायिक तरकारी खेती र गड्यौला पालन शुरु गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत केशव घिमिरेका अनुसार गड्यौलाबाट तीन महिनामा मल निस्कन्छ । ‘अरु वस्तु पालेजस्तो गड्यौला पाल्न दुःख छैन, थोरै मेहनतवाट कमाइ राम्रो गर्न सकिने भएकाले धेरै भन्दा धेरै किसानलाई गड्यौला खेतीतर्फ आकर्षित गर्नुपर्ने घिमिरेको सुझाव छ । कम्पोष्ट मलको व्यावसायिक खेती गर्न सके रासायानिक मलको प्रयोगलाई शुन्यमा झार्न सकिने घिमिरे वताउनुहुन्छ । गड्यौलाको प्रयोगवाट माटो खुकुलो हुनुका साथै चिस्यान पनि रहिरहने भएकाले सुख्खा ठाउंका किसानलाई व्यवसायिक गड्यौला पालन तर्फ आकर्षित गराउनु उपयुक्त हुने घिमिरेले वताउनु भयो ।
सहास नेपालको इल्लिप परियोजना संचालनमा आएपछि वजारवाट सुख्खा तरकारी किनेर खाने गरेका पिपलगाउंका कुमालहरु आज भोली आंफै मौसम अनुसारको ताजा तरकारी उत्पादन गरेर बेच्न सक्ने भएको परियोजनाका जिल्ला संयोजक हरिराम लोहनी बताउनुहुन्छ । सहास नेपालले धादिङ जिल्लाको सल्यानटार,फुलखर्क,बुढाथुम र मुलपानी गाविसमा स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजना संचालन गर्दै आईरहेको छ ।