नमुना बन्दै नलाङको ‘एग्रो टुरिजम’

950 पटक पढिएको

सम्पादक: Dhading News

नलाङ-मकवानपुर र धादिङका ६ व्यवसायीले धादिङको नलाङ–४ मा एग्रो टुरिजमको काम थालेका छन् । विभिन्न व्यवसायमा आबद्ध व्यवसायीले ५ करोड रुपैयाँको लगानीमा ग्रामीण भेगमा एग्रो टुरिजमको काम थालेका हुन् ।

DSC_0543नलाङ गाविसको ३ सय रोपनी नाङगो डाँडालाई हरियाली बनाएर व्यवसायीले अग्र्यानिक खेतीसँगै रिसोर्ट सञ्चालनमा ल्याएका छन् । चिसो हावापानी रहेको नलाङमा ०६७ सालदेखि हिमालय अनटप अग्र्यानिक कफी स्टेट र कन्ट्रि प्याराडाइज रिसोर्ट दर्ता गरी व्यवसायीले एग्रो टुरिजमको काम थालेका छन् । फार्ममा उत्पादित परिकारको सत्कार, मनोरम वातावरणमा बसाइसँगै विभिन्न हिमशृंखलाको अवलोकन गर्न पाइने भएकाले अग्र्यानिक फार्मभित्र सञ्चालित रिसोर्टमा स्वदेशीदेखि विदेशी पर्यटकको आकर्षण बढिरहेको अध्यक्ष भरत रेग्मीले बताए । “मलेसिया, नेदरल्यान्डजस्ता देशमा एग्रो टुरिजमको सफलता देखेर हामीले नेपालमा यसको सुरुवात गरेका हौं,” उनले भने, “अहिले यहाँको अग्र्यानिक खेती प्रणाली र पर्यटनबारे ज्ञान हासिल गर्न विदेशीसमेत आउन थालेका छन् ।”

एग्रो टुरिजम व्यवसाय थालेको ४ वर्षको अवधिमा विभिन्न देशका राजदूत र कन्सुलरदेखि नेपाल सरकारका मन्त्री समेत रिसोर्टमा आइपुगेका छन् । उनीहरूले समेत एग्रो टुरिजमको यो अवधारणाको प्रशंसा गरेको रेग्मीको भनाइ छ । १ हजार ३ सय ६८ मिटरको उचाइमा रहेको फार्म एवं रिसोर्टबाट अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गणेश, गौरीशंकरलगायत हिमाल देख्न सकिने भएकाले पर्यटक आउने क्रम बढ्दो छ । “रिसोर्टमा वर्षमा आउने पर्यटकले फार्ममा काम गर्ने कामदारको खर्च आंशिक रूपमा धानेको छ,” उनले भने । फार्ममा ५० हजार कफीको बिरुवा रोपिएको छ । ४ वर्षअघि थालेको कफीखेतीले यो वर्षदेखि फल दिन थालेको छ । यहाँ उत्पादित कफीको नर्वे, डेनमार्क, फिनल्यान्ड, स्विडेनजस्ता देशमा माग रहेको छ । पूर्ण रूपमा उत्पादन दिन थालेपछि गुणात्मक ढंगबाट आम्दानी वृद्धि हुनेमा सञ्चालक कृष्ण कटुवाल विश्वस्त छन् । “७ वर्षमा कफीको बोट वयस्क हुन्छ, त्यसपछि पूर्ण रूपमा उत्पादन दिन थालेपछि गुणात्मक रूपमा आम्दानी हुनेछ,” उनले भने । यहाँ उत्पादित कफी विदेशमा निर्यात गरी विदेशी मुद्रा भिœयाउने लक्ष्य राखेका व्यवसायीले सन् २०१७ सम्ममा ४० देखि ६० हजार किलो प्रशोधन गर्ने प्लान्ट नै सञ्चालन गर्ने सोचका साथ अघि बढेका छन् ।

फार्ममा कफीसँगै विभिन्न प्रजातिका फलफूल, कटुस, इपिल, पौलानियालगायत बिरुवा रोपिएको छ । वृक्षारोपणले वातावरण संरक्षणसँगै आम्दानीको पनि बाटो खुलेको छ । फार्ममा निर्माण गरिएका १ दर्जन प्लास्टिक पोखरीमा वर्षाको पानी संकलन गरी हिउँदमा खेतीका लागि सदुपयोग गर्ने गरिएको छ । उनीहरुले खेतीसँगै गाई र बाख्रासमेत पालेका छन् । गाउँलेलाई कफी खेतीतर्फ आकर्षित गर्न स्थानीयस्तरमा बिरुवा वितरण गरिएको छ । गाउँमा अग्र्यानिक फार्म र रिसोर्ट सञ्चालनमा आएपछि स्थानीयले समेत रोजगारी पाएका छन् । अहिले फार्ममा १६ जना पूर्णकालीन कामदार छन् भने समयअनुसार ५० जनासम्मले रोजगारी पाउने गरेको कामदार रामशरण सामरी बताउँछन् ।

भिन्न व्यवसायमा संलग्न व्यवसायीले कृषिसँगै पर्यटनको अवधारणालाई देशभर फैलाउन खोजेका छन् । उनीहरूले गरेको कामबारे जानकारी लिन अहिले देशभरबाट अवलोकनकर्ता आउन थालेका छन् । आएका अवलोकनकर्ता उत्साही भएर आफ्नो गाउँमा यस्तै काम गर्ने अठोट लिँदै फर्किने गरेका छन् ।

ग्रामीण भेगमा रहेको नलाङमा पूर्वाधार र पानीको अभाव रहेको व्यवसायी बताउँछन् । करिब १ किलोमिटर तलबाट पानी खेप्दै आएका उनीहरूले सडकको स्तरोन्नति र पानीका लागि सरकारसँग आग्रह गरेका छन् । कृषिलाई प्रोत्साहन गर्ने खालको बजेट आएकाले यसबाट लाभ हासिल हुनेमा उनीहरू आशावादी छन् ।