नौ महिना कन्दमूल र सिस्नो तीन महिना मकै
2134 पटक पढिएको
उज्यालो भुइँमा नखस्दै कृष्णबहादुर चेपाङ कोदालो र डोको बोकेर घरमाथिको पखेरातिर लाग्छन् । निस्किएको करिब एक घण्टापछि तीन किलोजति कन्दमूल (गिठ्ठा, भ्याकुर) लिएर घर फर्कन्छन् । यो उनको दैनिकी नै हो । उनको परिवारमा दुई वर्षका दूधेबालकसहित पाँचजना छन् । “हामी चेपाङ जाति, जंगली कन्दमूलको भरमा बाँचेका छौं,” लामो सुस्केरा हाल्दै कृष्णबहादुरले भने ।
बु्रसबाङकै अर्को छाप्रोमा दिलमाया आफ्ना सातजना बच्चालाई भान्साको वरिपरि राखेर सिस्नो केलाउँदै हुन्छिन् । वर्षमा करिब नौ महिना सिस्नो र कन्दमूल खानु उनको बाध्यता हो । दिलमायाको जम्मा दुई हलको भिरालो बारी छ । भन्छिन्, “मकै पाक्न आठ महिना लाग्छ । त्यसपछि मुस्किलले तीन महिना खान पाइन्छ ।”
ब्रुसबाङमा २५ घर चेपाङ बस्छन् । सबैको अवस्था उस्तै छ ।
“हाम्रो देशका ३ हजार ९ सय १५ गाविसको कुनै गाउँमा यति धेरै अभाव छ भने धादिङ जिल्लाको महादेवस्थान गाविसको वडा नं. ३ मा रहेको ब्रुसवाङमा छ,” पूर्व वडा अध्यक्षसमेत रहेका टेकबहादुर चेपाङले भने । गाउँमा मंसिरदेखि साउनसम्म नौ महिना अनिकाल हुने र भदौदेखि कात्तिकसम्म मात्र सहकाल रहेको उनले बताए ।
“हाम्रो गाउँमा मान्छे छन् र अभावमात्र छ,” पूर्ववडा सदस्य सिद्धिबहादुर चेपाङले भने । अहिले ब्रुसबाङका धेरै लोग्ने मान्छे मुस्ताङ सडक खन्न गएका छन् । “उनीहरूले चार महिना सडक खनेर ल्याएको पैसाले वर्षे अनिकाल टर्छ,” १२ वर्षीया विनिमाया चेपाङले डोकाको सिस्नु देखाउँदै भनिन्, “अहिलेका लागि यो सिस्नु छ ।” “बाआमा वनमा खानेकुरा खोज्न गएका छन्, खै ! कुनबेला आउने हुन्,” अँध्यारो छाप्रोबाट बाहिर निस्किँदै उनले भनिन्, “बेलुकाका लागि खानेकुरा नल्याए भोकै सुत्नुपर्छ ।”
पृथ्वी राजमार्गको मलेखुको दक्षिण भागमा पर्ने महादेवस्थान गाविसको ताल्तीबाट सात घण्टाको एकोहोरो हिँडाइपछि दुर्गम बस्ती ब्रुसवाङ पुग्न सकिन्छ । यो गाउँ खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवासुविधाबाट पनि वञ्चित छ ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको उपभोग गर्न पाउनु आफ्नो अधिकार हो भन्नेसमेत उनीहरूलाई हेक्का छैन । हेक्का छ त केवल साँझ–बिहान बालबच्चा र वृद्धवृद्धालाई के खुवाउने भन्ने मात्र ।
स्कुलले उमेरका बालबालिका पनि खानेकुरा खोज्दै जंगल चहारिरहेका हुन्छन् । अब त जंगलको कन्दमूलसमेत मासिन थालेको उनीहरू बताउँछन् । रानीभ्याकुर, गिठ्ठा, सामा, कागुनो, माल कागुनो, सिस्नु, लुँडे, भार्लाङ, वन तरुल, पुष्टकारी तरुल, तामा, टाँकीको मुन्टा, च्याउलगायतका कन्दमूल पनि पेटभरि पाउन छाडेका छन् उनीहरूले । चेपाङहरूको दैनिकीमा दिनानुदिन संकट थपिँदैछ तर सरकार पूरा बेखबर छ । नजिकको बजार मलेखु आइपुग्न पनि उनीहरूले १२ घण्टा जोडसँग हिँड्नुपर्छ ।
मानवअधिकारको विश्वव्यापी घोषणपत्र १९४८ को धारा २५ मा प्रत्येक व्यक्ति र उसको परिवारले बासस्थान, खाद्य, लत्ताकपडा, औषधि उपचारलगायतको अधिकार पाउनुपर्ने उल्लेख छ । तर, कन्दमूलको भरमा वषौंदेखि त्राण बचाइरहेका उनीहरूका लागि बासस्थान, अन्न र औषधोपचार त धेरै ठाढाको वस्तु हो ।
नेपालको अन्तरिम संविधान २०६३ को भाग ३ को मौलिक हकअन्तर्गत पनि धारा १३ मा समानताको हक, धारा १८ को उपधारा १ र २ मा क्रमशः रोजगारी तथा सामाजिक सुरक्षाको हक र प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सम्प्रभुताको हक हने उल्लेख छ ।
तर, यस गाउँमा राज्यको तर्फबाट गाविस सचिवसमेत पुगेका छैनन् । धादिङमा १० गाविसमा चेपाङको बसोबास छ । तर, महादेवस्थानको व्रुसवाङको अवस्था अन्यको भन्दा दयनीय छ । आव ०३६÷३७ सालदेखि प्रजा विकास कार्यक्रम लागू भए पनि सबै चेपाङलाई सामाजिक न्यायका आधारमा सहायता वा कार्यक्रम पुग्न सकेको छैन ।