यसरी मुक्त होऔं चिन्ताबाट

546 पटक पढिएको

प्रकाशित मिति: २०७१, २४ फाल्गुन आईतवार ०९:३०

सम्पादक: धादिङ न्यूज

 

 

 

tanab नेपालीबीच अब मानसिक तनाव वा चिन्ता नौलो कुरा रहेन। बढ्दो बेरोजगारी, आर्थिक समस्या, आधुनिक जीवनशैलीको चाहना, व्यक्तिगत महत्त्वाकांक्षा र विविधले मानसिक-कुण्ठा चुलिँदो छ।
उत्कण्ठा, अशान्ति, अनुचिन्ता, त्रास, मनस्ताप, उत्ताप आदि शब्दका माध्यमबाट चिन्तालाई बुझ्न सकिन्छ।

 

भागवतमा चिन्ता डरका कारण उत्पन्न हुन्छ र चिन्ताग्रस्त व्यक्तिमा अतिचिन्ता, अनिद्रा, अस्थिरता आदि मानसिक समस्या देखिन्छन् भन्ने उल्लेख छ।
जब चिन्ता वा मनस्ताप प्राथमिक तहमा हुन्छ, त्यो छटपटी वा आतुरीको रूपमा अभिव्यक्त हुन्छ भने चिन्ता नै घनिभूत भएपछि ‘डर’ बन्छ।
यहाँ हामीले बुझ्नुपर्छ कि चिन्ता, डर, मानसिक तनाव जीवनका प्राकृतिक कुरा हुन्। हरेक मानिसमा नयाँ काम थाल्नुभन्दा पहिला उत्सुकतापूर्ण डर देखिन्छ, जसले उसमा अस्थायी रूपमा अनिद्रा, बेचैनीजस्ता मानसिक समस्या र वाकवाकी लाग्ने, शरीर दुख्नेजस्ता शारीरिक समस्या देखा पर्न सक्छन्। काम गर्न थालेपछि क्रमश: सामान्य हुन्छन्।
चिन्ता कसरी हुन्छ?
परीक्षा दिन जानुभन्दा पहिला आत्तिनु, पसिना आउनु, रिजल्ट आउने राति निद्रा नलाग्नु, शरीर चिसो वा तातो हुनु, बारम्बार पास भइन्छ कि फेल भनेर झस्किनु अत्यन्त साधारण व्यवहार हो।
विवाहपूर्व, कामको थालनीभन्दा पहिले, नयाँ ठाउँ वा मान्छेसँग भेट्दा, महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त हुँदा चिन्ता, मानसिक दबाब वा मनस्ताप प्राकृतिक कुरा हुन्। अपेक्षित काम समाप्त भएपछि चिन्ता पनि रहँदैन।
मनोवैज्ञानिकहरूले चिन्ताले पीडित व्यक्तिहरूमा अनेकौं समस्या (लक्षण) देखिने भनी बताएका छन्। यद्यपि चिन्ता ‘समग्र’ पहिचान भने हुन बाँकी नै छ।
सामान्य अवस्थामा निम्न लक्षण एक दिनदेखि १५ दिनसम्म रहन सक्छन् तर त्यसपछि क्रमश: समाप्त हुन्छन्। स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नदेखिने तर व्यवहारमा समस्याहरू देखिन्छन्।
यी समस्या एक महिनाभन्दा बढी समयदेखि छन् भने यो मानसिक समस्या हुन सक्छ। सामान्यतया ६ महिनासम्म (मेडिकलमा केही नदेखिने तर व्यवहारमा भोग्नुपर्ने) भयो भने यस्तो समस्यालाई ‘जब्बर समस्या’ का रूपमा लिनुपर्छ र मनोवैज्ञानिक उपचार आरम्भ गर्नुपर्छ।
चिन्तामा के हुन्छ?
सामान्यतया ‘चिन्ता’ नामक मानसिक समस्याले ग्रस्त व्यक्तिमा डर लागिरहने, राम्रो निद्रा नपर्ने अथवा एकपटक निद्रा खुलेपछि पुन: निद्रा नपर्ने, कुनै काल्पनिक विषयका बारेमा सोचेर डर लाग्ने, शरीरका मांसपेशी दुख्ने, बिनाकारण बारम्बार अपच अथवा पेट बिग्रिरहने, शरीरले बिनाकारण भुइँ छोडेजस्तो हुने, हरेक कुरामा एकदम सावधानी अपनाउनुपर्ने, टाउको दुखिरहने, पुरानो कुरा सम्झेर मन पोलिरहने, अनावश्यक रूपमा राम्रो काम गर्नुपर्छ भनेर परिश्रम गर्न थाल्ने, टोलाउने र काम बिगार्छु कि भनेर आफ्नो क्षमतामा शंका गर्ने जस्ता लक्षण देखा पर्छन्।
चाणक्य नीतिमा लेखिएको छ, ‘चिताले एकपटक जलाउँछ तर चिन्ताले बारम्बार जलाइरहन्छ। त्यसैले बुद्धिमान् मानिसले बारम्बार चिन्ताको राँकोमा जल्नुभन्दा एक पटक चितामा जल्न मन पराउँछन्।’
सुरुसुरुमा हामीलाई चिन्ताको मानसिक रोग लागे/नलागेको थाहा हुँदैन तर जब मेडिकलमा समस्या नदेखिने तर व्यवहारमा समस्या देखियो भने हामीले आफूलाई मानसिक समस्या परेको बुझ्नुपर्छ। यस्तो अवस्थामा मनोवैज्ञानिकहरूसँग परामर्श लिनु उचित हुन्छ।
मनोवैज्ञानिक परामर्शदाताले चिन्ताबाट उन्मुक्ति दिने उपायहरूबारे तपाईंसँग सल्लाह गर्छ र तपाईंसँगै सहकार्य गर्छ। तपाईंलाई चिन्ताको गहिरो खाडलबाट बाहिर निकाल्न प्रयत्न गर्छ।
चिन्ताको जरो डर हो
चिन्ताको मूल कारण डर भएको मनोविज्ञहरूको ठहर छ। बूढो हुने डर, खाइपाई आएको सुविधा खोसिने डर, परिवारमा एक्लो हुने डर, विवाह सफल नहुने डरजस्ता हजारौं कारणले गर्दा हाम्रो अन्तर्मनमा बलियो गरी ‘डर’ जमेको हुन सक्छ।
यस्तो मनको भित्री तहमा रहेको डर चिन्ता बनेर बारम्बार हाम्रो दैनिक क्रियाकलापलाई प्रभावित परिरहेको हुन सक्छ। जब माथि लेखिएका १२ वटा लक्षणमध्ये चारभन्दा बढी लक्षणहरू हामीमा देखा पर्छन् तर मेडिकलमा समस्या देखिँदैन भने हामीमा चिन्ताले आक्रमण गरे छ भनेर बुझ्नु नै उत्तम हुन्छ।
चिन्ताबाट उन्मुक्ति प्राप्त गर्न त्यति सजिलो छैन। अन्तर्मनको गहिराइमा बसेको डरले हाम्रो दैनिक क्रियाकलापलाई प्रभावित परिरहेको हुन्छ। हामी समयमा उठ्न सक्दैनौं। दिसा गर्न समय लाग्छ।
डरले कार्यालय जान मन लाग्दैन। टोलाएर महत्त्वपूर्ण काम रहन्छ। शरीर दुखेर कहीँ जान/आउन मन लाग्दैन इत्यादि। यी र अन्य धेरै कुरामा चिन्ताले बाधा पु:याइरहेको हुन सक्छ।
यसका लागि हामीले ‘डर’को स्रोतको पहिचान गर्न सक्नुपर्छ। यो काम परामर्शदाताको सहयोगमा सजिलोसँग गर्न सकिन्छ।
चिन्ताबाट मुक्ति पाउने उपाय
– तपाईंलाई चिन्ताको मानसिक समस्यामा छु जस्तो लाग्छ भने दैनिक तीनपटक च्यामोलोमाइलको चिया पिउनोस्। यसले राहत अनुभव हुन्छ पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ।
– यसैगरी नेपालमा सजिलै पाइने ग्रिन-टी अर्थात् हरियो चियाका पात उमालेर दैनिक रूपमा प्रयोग गर्नाले पनि चिन्तालाई समाप्त गर्छ। यस्तो चियामा मह हाल्नु वा केही पनि नमिसाई पिउनु राम्रो हुन्छ। यसमा एल-थियानाइन हुन्छ।
– यसैगरी विज्ञहरूले बाबरी चिया, क्याप्सुल र चुसेर प्रयोग गर्दा पनि चिन्ता मुक्तिमा सहयोग मिल्ने पत्तो लगाएका छन्। बाबरी तुलसीकै एउटा प्रजाति भएकाले तुलसीलाई समेत चिन्ता रोगको मुक्तिका लागि प्रयोग गर्न सकिन्छ।
– शारीरिक व्यायामले पनि हामी चिन्तामुक्त हुन सक्छौं। धेरैजसो मानिसमा पैसा, रोग र वृद्धावस्थाको डरले चिन्ता सघन भएको हुन्छ। नियमित आधी घन्टा शारीरिक व्यायाम गर्नाले पनि चिन्तामा ह्रास हुन्छ।
– हरेक दिन १०-१० मिनेट जति श्वास रोक्ने अभ्यासले पनि चिन्तालाई घटाउन मद्दत गर्छ। लामोलामो सास फेर्ने, खुला ठाउँमा आरामसँग बस्ने, बगैंचाको स्वच्छ हावामा उन्मुक्त भएर रम्ने गर्नाले चिन्तामा विराम लाग्न सक्छ।
– आफूले गरेको काम सफल भएमा वा अन्य कुनै खुसीको अवसर प्राप्त भएमा आफैंलाई धन्यवाद दिनुपर्छ। प्रकृति वा आफूले आस्था राख्ने कुलदेवता, ईश्वर वा आफूले सम्मान गर्ने मानिसलाई धन्यवाद दिनुपर्छ।
हामी अरूलाई सम्मान गर्छौं तर आफूलाई सम्मान गर्न जान्दैनौं। जसले आफूलाई राम्ररी धन्यवाद दिन सक्दैन, अरूलाई पनि उसले धन्यवाद भन्न सक्दैन। त्यसैले आफूले असल काम गरेबापत आफूलाई इनाम दिनुपर्छ।
यस्तो इनाम सिनेमा हेर्न गएर, पार्कमा घुम्न गएर, आफूलाई मन पर्ने चीज खाएर (मदिरा, लागूपदार्थ वा अन्य कानुनले निषेध गरेका बाहेक) र मन पर्ने मान्छेलाई भेटेर, मन्दिरमा गएर, गरिबलाई दान दिएर, उपकार गरेर आफूलाई धन्यवाद दिनुपर्छ।
दैनिक गायत्रीमन्त्र वा गीता, वा अन्य धार्मिक पूजाआजाबाट पनि चिन्ता कम हुन सक्छ। मन भनेको विश्वास हो। हाम्रो जीवन विश्वासमा टिकेको हुन्छ। विश्वासका हरेक आदर्शको विज्ञान खोज्नु आवश्यक छैन। विज्ञानभन्दा पनि तपाईंको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो। विश्वासले चिन्ता मुक्त गर्छ तर अन्धविश्वासले अँध्यारोतिर धकेल्छ।
अन्त्यमा, एउटा कुरा सधैं याद राख्नुपर्छ चिन्ता सबैमा हुन्छ। चिन्ताले मानिसलाई प्रगतिको बाटोतिर पनि लैजान्छ। चिन्ता नलिने मान्छेले प्रगति गर्न सजिलो हुँदैन तर चिन्ताले हाम्रो दैनिक व्यवहारमा फरक पारिरहेको छ, हामीले आफूले गर्नुपर्ने काम गर्न सकिरहेका छैनौं भने मनोवैज्ञानिकसँग परामर्श लिनु उचित हुन्छ।
मनोवैज्ञानिकसँग भेट हुनु भनेको पागलपन होइन। हामी मान्छेलाई हरेक पल हरेक क्षण परामर्श चाहिन्छ। मनको स्वास्थ्यका लागि परामर्श गर्न किन डराउने?



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २४ फाल्गुन आईतवार ०९:३० मा प्रकाशित