कुरै सुन्दैनन् डाक्टर , सञ्चार सीपमा डाक्टरहरु कमजोर

570 पटक पढिएको

प्रकाशित मिति: २०७१, ७ चैत्र शनिबार ०७:२६

सम्पादक: धादिङ न्यूज

 

 

 

 kalaखोटाङका गणेश राई एक्कासी कान नसुन्ने भए । राजधानीका नाम चलेका नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञलाई देखाए । तर, उनले दिएको औषधिले राई नछोएपछि न्युरो फिजिसियनकहाँ पुगे । न्युरो फिजिसियनले इएनटी विशेषज्ञकहाँ रेफर गरे । पछिल्ला विशेषज्ञले राईको रोग पहिचान गरेको दाबीसहित भनिदिए– यसको उपचार छैन, जानुस् ।   खासमा राई अन्यत्र उपचार सम्भव हुन्छ, हुँदैन, विकल्प के हुन सक्छ भन्ने विषयमा धीत मारेर डाक्टरसँग कुरा गर्न चाहन्थे । तर, उनको कुरै नसुनी अर्को बिरामी बोलाए । उनी निन्याउरो अनुहार बोकेर बाहिर निस्किए । चितवनका ७० वर्षीय रामचन्द्र वाग्लेलाई घुँडा, दुख्ने, अनिद्रा, अरुचि, मुख सुक्नेजस्ता थुप्रै समस्या छन् । चितवनका नाम चलेका डाक्टर सबैले हेरिसके । काठमाडौंका नामी डाक्टरलाई पनि देखाइसके । तर, उनको वास्तविक समस्या पत्ता लाग्न सकेको छैन । ‘न के रोग भएको हो भन्न सक्छन् न मेरो कुरा सुन्छन्,’ उनले भने, ‘नेपालमा जान्ने डाक्टर नै छैनन् ।’ वाग्ले हत्तपत्त अस्पताल जानै चाहँदैनन् । छोराहरुले जबर्जस्ती पु¥याउँदा पनि निको होला जस्तो लाग्दैन । ‘बुबा विश्वासै गर्नुहुन्न,’ छोरा सुदनले थपे, ‘डाक्टरले समय दिएर कुरा बुझाइदिए पो विश्वास हुन्थ्यो र !’   खोटाङका राई र चितवनका वाग्लेका समस्या लिएर स्वास्थ्य खबरपत्रिका टिम फिजिसियन डा. जगदीशप्रसाद अग्रवालकहाँ पुग्यो । डा. अग्रवालले जवाफ दिए, ‘यो बिरामीका कुरा डाक्टरले नसुन्दा र बुझाउन नसक्दाको नतिजा हो ।’ घण्टौं लाइन बसेर, पैसा तिरेर जाँदा पनि डाक्टरले हेर्दै–हेर्दैनन्, समय दिँदैनन्, राम्ररी हेर्दैनन् । अधिकांश बिरामीका यस्तै गुनासा छन् डाक्टरसँग । केही डाक्टरहरु रोगबारे जानिसकेपछि अनावश्यक कुरा गरेर समय कटाउन आवश्यक नभएको तर्क गर्छन् । तर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा.अर्जुन कार्की कस्तो मान्छेलाई रोग लाग्यो भनेर थाहा पाउनु कुन रोग लाग्यो भनेर थाहा पाउनुजत्तिकै महत्वपूर्ण हुने बताउँछन् ।   पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा.अर्जुन कार्की कस्तो मान्छेलाई रोग लाग्यो भनेर थाहा पाउनु कुन रोग लाग्यो भनेर थाहा पाउनुजत्तिकै महत्वपूर्ण हुने बताउँछन् ।   ‘कहाँ बस्ने, कस्तो आर्थिक हैसियतको, कुन सामाजिक र व्यवसायिक परिवेशको मानिस हो भन्ने थाहा पाउन पनि उत्तिकै जरुरी छ,’ उनले थपे, ‘बिरामीका पीडा खोतलेर आफैँले अनावश्यक पीडा भोग्नुपर्छ भन्ने सोच राख्ने र पेशाको जिम्मेवारी पटक्कै नभएकाहरुले मात्र त्यस्तो तर्क गर्छन् ।’ बिरामीको परामर्शलाई छोटो समयमा टुंग्याउनु भनेको रोगलाई अधकल्चो छाड्नु भएको उनको भनाइ छ । नेपालका अधिकांश डाक्टरले बिरामीलाई पर्याप्त समय दिँदैनन् । त्यसो त कतिपय अस्पतालमा हुने भीडका कारण थोरै समयमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता पनि छ ।  तर, नचाहेर वा नजानेर बिरामीलाई पर्याप्त समय दिने प्रचलन नभएको डा.अग्रवाल औंल्याउँछन् । आखिर बिरामीलाई डाक्टरले कति समय दिनुपर्छ त ? यसको ठ्याक्कै जवाफ पाउन सजिलो छैन । यसमा बिरामीको अवस्था, डाक्टरसँग कतिऔं पटक भेट भएको हो, कस्तो रोग हो भन्नेजस्ता थुप्रै कुराको भूमिका हुन्छ । डा.अग्रवाल थप्छन्, ‘बिरामीको नजरमा आफ्नो पीडा धैर्यपूर्वक सुनेर सजिलोसँग बुझ्नेगरी चिकित्सा विज्ञानले सुझाएको कुरा भन्नु नै असल डाक्टरको पहिचान हो ।’ डा. कार्कीको शब्दमा अधिकांश डाक्टरले बिरामीलाई आधारभूत प्रश्न मात्रै सोध्नका लागि दिँदै आएको समय पर्याप्त छैन । डा.अग्रवाल र मन्दिरा शाहीले आईओएममा ‘एमडी/एमएसका विद्यार्थीमा सञ्चार सीप’ सम्बन्धमा गरेको अध्ययनमा बिरामीसँग लिइने मेडिकल अन्तर्वार्तासम्बन्धी सीप सन्तोषजनक नरहेको देखाएको थियो । आईओएमका १ सय ६२ एमडी/एमएस विद्यार्थीमध्ये ३० जनामा उक्त अध्ययन गरिएको थियो । डा.अग्रवालका अनुसार देशका अधिकांश मेडिकल स्कुलमा सञ्चारसम्बन्धी सीप तालिम कार्यक्रम समावेश गरिएको छैन । यद्यपि एमबीबीएसको पाठ्यक्रममा सन् २००९ देखि ‘मोडल अन कम्युनिकेसन स्कील्स’ समावेश गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा भएका अध्ययनहरुले पनि डाक्टरहरु बिरामीसँग सोधीखोजी भन्दा रेडियोलोजिकल र प्रयोगशालाजन्य परीक्षणको विकल्पमा जाने गरेको देखाएका छन् । जुन क्लिनिकल समाधानको सूत्र भए पनि बिरामीलाई निरोगी भएको महसुस गराउने तरिका होइन । विज्ञहरु पनि कम समय दिएर गरिने फितलो कुराकानीको असर निकै नराम्रो हुने बताउँछन् । रोगबारे व्याख्या गर्ने, सुन्ने र सहानुभूति दिँदा बिरामीको उपचारमा ठूलो प्रभाव पार्छ । अझै अर्काे अध्ययनले ६० प्रतिशत मामिलामा बिरामीले डाक्टरलाई भेटेर फर्किएपछि पाएका निर्देशनलाई गलत रुपले बुझ्ने गरेको देखाएको छ । औसत डाक्टरहरुले बिरामीले पहिलोपटक आफ्ना कुरा राख्दा करिब १८ सेकेण्डमात्रै सुन्ने गरेको देखाएको छ । स्वतन्त्र रुपमा बोल्न दिने हो भने बिरामी डाक्टरको अर्को प्रश्न नआउँदासम्म एक मिनेट मात्रै बोल्छन् । ‘एक मिनेट पनि बिरामीलाई बोल्न नदिएर कसरी एकअर्काका कुरा बुझ्न सकिन्छ ?’ डा. अग्रवाल थप्छन्, ‘डाक्टर–बिरामीबीच जति धेरै प्रश्न–उत्तर भयो, उति नै ग्याप घट्ने र विश्वास बढेर उपचार प्रभावकारी हुने हो ।’ डाक्टरहरुका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा एक जना बिरामीका लागि कम्तीमा पनि १५ देखि २० मिनेट समय दिनुपर्छ । नेपालमा चिकित्सा संहिताको राम्रो अनुगमन नहुँदा डाक्टरले बिरामीलाई दिने समय निकै थोरै हुने गरेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत नेसनल सेन्टर फर हेल्थ प्रोफेसनल्स एजुकेसनका कार्यकारी निर्देशकसमेत रहेका  प्रा. डा. अग्रवालको भनाइ छ । ‘नेपालमै भएका अध्ययनले पनि डाक्टरसँगको सञ्चारबाट अधिकांश बिरामी सन्तुष्ट नभएको तथा बिरामीको तनावको ५० प्रतिशत कारणसम्म डाक्टर पुग्न नसकेको देखाएको छ,’ डा.अग्रवालले भने । आम रुपमा डाक्टरहरु कम्तीमा एउटा बिरामी १० मिनेटको समय दिनैपर्नेमा सहमत छन् । तर, नेपालमा अधिकांश विशेषज्ञ डाक्टरको सन्दर्भमा यो कुरा लागू हुँदैन । बिहानदेखि राति अबेरसम्म क्लिनिकमा व्यस्त हुने केही डाक्टरले जाँच्ने बिरामीको सूची हेर्दा पनि थाहा हुन्छ । नामको पछाडि दौडिने प्रवृत्तिका कारण पनि डाक्टरले बिरामीका अपेक्षा पूरा गर्न सक्दैनन् । ‘बिरामी वा आफन्तले जानकारी माग्दा तपार्इं डाक्टर कि म भनेर हप्काउने चलन छ । डाक्टरले त बिरामीले बुझ्ने भाषामा जानकारी दिने संस्कारको अभाव छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘यो डाक्टरमा सञ्चार सीप नभएको दृष्टान्त हो ।’ समय नदिने, राम्रोसँग वार्तालाप नगर्ने, कुनै विषयलाई सजिलो गरी बुझाउन नखोज्ने बानीलाई चिकित्सा शिक्षाविद्हरु सञ्चारसीपको अभावको संज्ञा दिन्छन् । सञ्चारसीपभित्र बिरामीका पीडा सुन्ने बानी, सहानुभूति देखाउने र समस्या लेख्ने कला, उपचारका क्रममा साथीजस्तो व्यवहार, नराम्रा समाचार कसरी सुनाउने र सम्भावित दुर्घटनाबारे कसरी मानसिक रुपमा तयार पार्ने भन्ने जस्ता कुरा समेटिन्छन् । ‘विभिन्न वर्ग, समुदाय, भाषा, परिवेशबाट आएका मानिससँग कसरी व्यवहार गर्ने भन्ने कुराले उपचारमा धेरै फरक पार्छ,’ डा.अग्रवालले भने, ‘तर, डाक्टरहरु बिरामीको कुरा सर्सती सुन्छन् र औषधि लेखिदिन्छन् र भन्छन् निको नभए आउनू ।’ निजीमा धेरै बिरामी हेरेर धेरै पैसा कमाउने चलनदेखि सरकारीमा बिरामीको अत्यधिक चापका कारण डाक्टरलाई भ्याइनभ्याई हुन्छ । बिरामीलाई बढी समय दिनुपर्छ भन्ने कुरामा पूर्ण रुपमा विश्वास नगर्ने डाक्टरहरु कति यो विषय प्राविधिक भएको भन्दै बिरामीको समस्या बुझ्न र बिरामी पक्षलाई सन्तुष्ट र आश्वस्त नपारेसम्म समय दिनुपर्ने दाबी गर्छन् । डाक्टरले प्रभावकारी ढंगले उपचार गर्ने हो भने सामान्यतः दैनिक २५/३० जना बिरामीलाई परामर्श दिनुपर्ने सल्लाह विज्ञहरुको छ । यो पनि गम्भीर नठानिएका रोगमा लागू हुन्छ । तर, नेपालमा अधिकांश नाम चलेका डाक्टरहरू दुवै सिफ्ट ओपिडी गर्ने र दिउँसोको समयमा शल्यक्रिया एवं अध्यापनको समेत जिम्मेवारी लिन्छन् । त्यसै कारण बिरामी पक्ष उपचारबाट सन्तुष्ट नहुने, उपचारको सल्लाह, प्रेस्क्रिप्सन र शल्यक्रियासमेत फरक पर्ने हुन्छ ।  नाम चलेका डाक्टरले दिनमा ५० देखि ७० जनाको हाराहारीमा बिरामी हेरेका उदाहरण पनि छन् । – 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ७ चैत्र शनिबार ०७:२६ मा प्रकाशित