धादिङ जिल्लाका ३१ जना विदेशका जेलमा
615 पटक पढिएको
तामाङ दम्पतीले जतिबेला थाहा पाए, त्यतिबेला ढिला भइसकेको थियो। छोरा धनबहादुर अपराधको अँध्यारो गुफामा यति भित्रसम्म छिरिसकेका थिए, बाहिरबाट हेर्दा त्यहाँ निष्पट्ट अन्धकारबाहेक केही देखिँदैनथ्यो। फर्कने बाटोधरी लगभग बन्द भइसकेको थियो।
धनबहादुर लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डको बैंकक विमानस्थलमा सन् २००० मा पक्राउ परिसकेका थिए। उनीहरूले बल्ल बुझे, छोरा लागुऔषध ओसार्ने गिरोहका भरिया बनेका रहेछन्। छोराको हातबाट पाएको जुन महँगा उपहारले उनीहरू दंग थिए, त्यो त्यही लागुऔषधको आम्दानीबाट किनिएको रहेछ।
जेठो छोरा विदेशी भूमिमा पक्राउ परेपछि म्लाङदुङ तामाङको घरमा जगै भासिएजस्तो भयो। बुहारीसँग सम्बन्ध अमिलियो। दुई जना नाति च्यापेर बुहारी माइत लागिन्। अहिले म्लाङदुङका ठूलो नाति एसएलसी दिने तयारीमा छन्। धेरै भेटचाहिँ हुँदैन।
‘छोरा भइदिएको भए नातिहरू पनि घरमै हुन्थे होलान्,’ म्लाङदुङले दुखेसो पोखे, ‘छोरा साथमा नभएपछि नातिहरू पनि बिरानो भएका छन्, बूढाबूढी छोराको फोटो हेरेर धुमधुम्ती बसिरहन्छौं, एक्लै घर रुंगिरहन्छौं।’
…
लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डको जेल पर्ने धनबहादुर एक्ला नेपाली होइनन्।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार लागुऔषध तस्करीमा त्यहाँ कारावास सजाय काटिरहेका नेपालीको संख्या ५७ छ। तीमध्ये आधाभन्दा बढी धनबहादुरजस्तै धादिङको उत्तरी गाउँका बासिन्दा छन्। दार्खा, सत्यदेवी, तिप्लिङ, सेर्तुङ र झार्लाङ गाविसका २४ सहित धादिङ जिल्लाका ३१ जना लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डका विभिन्न कारागारमा सजाय काट्दैछन्। तीमध्ये पनि नुवाकोटसँग सीमा जोडिएको सत्यदेवी गाविसका मात्र १७ जना छन्। त्यस्तै, दार्खाका एक, तिप्लिङका दुई, सेर्तुङका तीन र झार्लाङका एक जना रहेको नेपाली दूतावासले जनाएको छ।
थाई जेलमा रहेका बारा, डुमरवानाका कैदी पनि धादिङेकै आफन्त हुन्।
५७ मध्ये ९ जना बैंककबाहिर चियाङराई र चियाङमाई जेलमा छन्। ‘पक्राउ पर्ने र छुट्ने कैदी निरन्तर रुपमा हुने गरेको छ,’ बैंककस्थित नेपाली दुतावासका डिपुटी चिफ अफ मिसन डोरनाथ अर्यालले नागरिकसँग भने।
लागुऔषधको स्वर्णभूमि मानिने ‘गोल्डन ट्यांगल’ अन्तर्गत पर्ने थाइल्यान्डमा लागूऔषध तस्करीमा संलग्नलाई कडा सजाय दिइन्छ। अदालतले दोषी ठहर्यााएका अधिकांशले जन्मकैद वा लामो समय जेलसजाय पाउने गरेका छन्।
विदेशमा बन्दी जीवन बिताउँदै आएका नेपालीसँग समन्वय गर्ने गैरसरकारी संस्था बन्दी आदानप्रदान सन्धि नेपालको विवरणअनुसार लागुऔषध कारोबारमा संलग्न अभियोगमा मकाउ, चीन, श्रीलंका, इन्डोनेेसियमा १–१ र सिंगापुरमा जेलमा दुई नेपाली बन्दी छन्। ती सबै धादिङ, सत्यदेवीकै हुन्।
‘कतिपय परिवारका पतिपत्नीसहित अन्य सदस्यसमेत पक्राउ परेका छन्,’ सत्यदेवीका पूर्वप्रधानपञ्च वीरबहादुर तामाङले नागरिकसँग भने।
सत्यदेवीकी बिमला तामाङ पाँच वर्षअघि म्यानमारबाट लागुऔषध थाइल्यान्ड ल्याउँदै गर्दा पक्राउ परेकी थिइन्। केही समयपछि उनका पति आइतराम नेपालमा समातिए। अहिले बिमला थाइल्यान्डको चियाङली जेलमा आजीवन कारावास काटिरहेकी छन् भने २० वर्ष जेल सजाय पाएका उनका पति आइतराम राजधानीकै केन्द्रीय कारागारमा छन्।
गत वर्ष नेपाल प्रहरीले धादिङ, सत्यदेवीकै ‘काइँली’ भनिने गोपी तामाङको बालाजुस्थित घरमा छापा मारेर उनका छोराछोरीसहित पाँच जनालाई लागुऔषध तस्करी अभियोगमा पक्राउ गरेको थियो। उनी लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा संलग्न रहेको प्रहरी दाबी छ।
यसरी एउटै गाउँबाट यति धेरै व्यक्ति लागुऔषध तस्करीमा संलग्न हुनुको कारण के त?
४० को दशकमा ‘झिटिगुन्टा’ व्यापार निकै चल्तीमा थियो। व्यापारीहरू गरिब तथा बेरोजगार युवालाई आफूसँग ‘भरिया’ का रूपमा विदेश लैजान्थे। र, उनीहरूमार्फत रेडियो, टेलिभिजनलगायत तेस्रो मुलुकका सामान आयात गर्थे।
विदेशबाट फर्कनेले आफूसँग ल्याउने निश्चित परिमाणको सामानमा भन्सार नलाग्ने व्यवस्थाकै कारण ‘भरिया’ पेसा फस्टाएको थियो। यसबापत गरिब तथा बेरोजगार युवाले विदेश भ्रमणको मौका र सामान आयात गरिदिएबापत ज्यालासमेत पाउँथे। व्यापारीले बिनाभन्सार नेपाल भित्रिएका त्यही सामान बढी नाफामा स्थानीय बजारमा बिक्री गर्थे।
यसरी फस्टाएको पोके तस्करीमा पछि सुन र लागुऔषध पनि जोडियो।
त्यही समयतिर सत्यदेवीका गणेश लामा व्यापारीको ‘भरिया’ बनेर हङकङ, बैंकक र सिंगापुर आउजाउ गरिरहन्थे। झिटिगुन्टा व्यापारअन्तर्गत तेस्रो मुलुकका विद्युतीय उपकरण ल्याउने काममा छिरेका उनी पछि लागुऔषध कारोबारीसँग जोडिन पुगे। अहिले थाइल्यान्डकै जेलमा छन्।
‘पोके व्यापार गर्दागर्दै गणेश लामा लागुऔषधको समेत भरिया बनिसकेका रहेछन्,’ गणेशसँग परिचित सत्यदेवीका एक स्थानीयले भने, ‘उनकै पछि लागेर गाउँका अरू पनि भरिया बने र लागुऔषध तस्करी गिरोहमा सामेल भए। एउटाले अर्कोको आर्थिक उन्नति देखेर सिको गर्ने क्रममा यो जालो गाउँभरि फैलिँदै गयो।’ त्यसपछि उनी ठमेल पर्यटन व्यवसायीको रुपमा काम गर्थे।
धादिङको उत्तरी क्षेत्रबाट लागुऔषध तस्करीको यो जालोमा छिर्ने क्रम करिब १५ वर्षअघि उत्कर्षमा पुगेको स्थानीय सम्झन्छन्। खासगरी माओवादी सशस्त्र द्वन्द्वका कारण गाउँका धेरै युवा कि सहर विस्थापित भए कि लागुऔषध कारोबारी बने।
‘सशस्त्र द्वन्द्वकालमा युवाहरू सहरतिर विस्थापित हुने क्रम तीव्र थियो। त्यही समय धेरै युवाले पैसा कमाउने सहज विकल्पका रूपमा यसलाई लिएको पाइन्छ,’ पूर्वप्रधानपञ्च वीरबहादुरले भने, ‘यसबाट हुने आम्दानीले एकपछि अर्को गर्दै धेरैलाई आकर्षित गर्यो’।’
यसले स्थानीय स्तरमा ठूलो सामाजिक समस्या उत्पन्न गरेको उनी बताउँछन्। ‘लागुऔषध कारोबारमा संलग्नमध्ये अधिकांश आफैं दुर्व्यसनी हुँदा रहेछन्,’ उनले भने, ‘यो समस्या स्थानीय स्तरमा पनि देखियो।’
यस्तो विकृति भित्रिनुको अर्को कारण निरक्षर स्थानीय बासिन्दालाई ‘यो काम गैरकानुनी हो’ भनी सुरुमै सतर्क गराउनेको अभाव पनि हो।
धनबहादुरका साथी गोपाल फ्युबा दार्खा–३ कै बृचेत माध्यमिक विद्यालयमा शिक्षक छन्। नेपालीमा स्नातकोत्तर उनी आफू पनि झन्डैझन्डै ‘पिठो’ (स्थानीय बोलीचालीमा लागुऔषधलाई पिठो भनिन्छ) कारोबारमा छिरिसकेको सम्झन्छन्।
गाउँबाट एसएलसी दिएपछि थप अध्ययनका लागि राजधानी छिरेका थिए गोपाल। पढाइसँगसँगै पोखराको एउटा ट्रेकिङ कम्पनीमा जागिर खान थाले। यो २०५५/५६ सालतिरको कुरा हो।
‘पैसा साह्रै थोरै थियो,’ ती दिन सम्झँदै गोपालले भने, ‘एक–दुईपटक भरिया बनेर विदेश गइसकेका गाउँकै तीन जना साथी पोखरा आए। उनीहरूले मन फुकाएर खर्च गरे। मलाई पनि पिठो बोक्न जाने रहर जाग्यो।’
उनका अनुसार त्यतिबेला एकपटक ओसारेको ९० हजार रुपैयाँ ज्याला पाइन्थ्यो। उनी यही लोभमा पासपोर्ट बनाउन काठमाडौं आए। तर, काकाले बेस्सरी हकारेपछि उनी हच्किए। यो काम ‘अवैध’ रहेछ भन्ने उनलाई काकाबाटै ज्ञान भयो। र, बेलैमा यसमा छिर्नबाट जोगिए।
‘काकाले ‘यस्तो काममा लागिस् भने हामी तँ मरेको ठान्नेछौं’ भन्दै बेस्कन हकार्नुभयो,’ उनले सम्झे, ‘त्यो सुनेपछि आँटै आएन।’
आफूलाई काकाको सुझबुझले जोगाए पनि गाउँका अरू धेरैलाई त्यसैगरी हकार्ने र सम्झाउने मानिसको अभाव भएको उनी बताउँछन्। त्यसैबीच मुलुक सशस्त्र द्वन्द्वको चपेटामा परेर गाउँमा बस्नै नसक्ने भएपछि धेरैले सेना र माओवादीको दोहोरो मारबाट बच्न यसैलाई विकल्प बनाए।
‘त्यसपछि त भरिया बनेर लागुऔषध ओसार्नेहरू ह्वात्तै बढे,’ उनले भने।
बैंककस्थित दूतावासका डेपुटी चिफ अफ मिसन अर्यालले पनि जनचेतना अभावका कारण धेरै समस्या परेको ठान्छन्। ‘भरिया बनेर यता आएर पक्राउ पर्ने वा थाहा नपाई लागुऔषधको तस्करीमा फसेका धेरै छन्,’ अर्यालले भने, ‘उनीहरुलाई सचेत विषयमा जनचेतनता जगाउन आवश्यक छ।’
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोप्रमुख डिआइजी केशरीराज घिमिरे देशभित्र पनि लागुऔषध कारोबारमा संलग्न धेरै धादिङ र मकवानपुरका रहेको बताउँछन्।लागुऔषध कारोबारमा संलग्नमध्ये केही अहिले पनि थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, पाकिस्तान र अफ्रिकी देशमा बसेर काम गरिरहेका छन्। संसारभरि ‘बाली नाइन’ नामले चर्चित लागुऔषध काण्डको खुलासा हुँदा धादिङ, सत्यदेवीका मानसिंह घलेले अन्तर्राष्ट्रिय गिरोह चलाउने गरेको पाइएको थियो। सन् २००५ मा इन्डोनेसियाली प्रहरी कारबाहीमा घले मारिएका थिए।
इन्डोनेसियाबाट ८ किलो लागुऔषध अस्ट्रेलिया तस्करी गर्ने क्रममा अस्ट्रेलियालीहरू पक्राउ परेपछि घलेको संलग्नता खुलेको थियो। सन् २००१ मा अमेरिकाले निगरानी राख्न थालेको घलेमाथि अस्ट्रेलिया सरकारको दबाबका कारण जकार्ता प्रहरीले कारबाही गरेको हो। त्यसअघि अन्य विभिन्न अपराधमा घले पक्राउ पर्दै छुट्दै आएका थिए।
उता, लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी ५० वर्षीय गोपी तामाङ (काइँली) लाई नेपालसहित भारत, बंगलादेश, श्रीलंका र थाइल्यान्डका प्रहरीले खोजी गरिरहेको छ। अफगानिस्तान र पाकिस्तानका सीमा क्षेत्रमा बसेर कारोबार गर्ने आशंका गरिएको गोपीलाई लागुऔषधका ठूला तस्करका रूपमा चिनिन्छ।
यही समूहले नेपाललाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध तस्करी गरिरहेको प्रहरी भनाइ छ। प्रहरीका अनुसार पछिल्लो समय उनकै मार्फत धेरै नेपाली लागुऔषध तस्करी जालोमा जोडिन पुगेका हुन्।
…
कमाए कि गुमाए?
लागुऔषध तस्करीका दुई रूप भेटिन्छन् गाउँमा। एकतिर यसले केही हदसम्म आर्थिक उन्नति गराएको छ भने अर्काेतिर पारिवारिक विखण्डन र समस्या ल्याएको छ। घरमूली नै विदेशी कारागारमा बन्दी जीवन बिताउनुपर्दा परिवार छिन्नभिन्न भएका उदाहरण प्रशस्तै छन्।
धनबहादुरको परिवार त्यसैमध्ये एक हो।
अहिले पनि धादिङको उत्तरी क्षेत्रमा लागुऔषध ओसारपोसारमा संलग्न हुनेहरू बडो सानसाथ गाउँ पुग्छन्। सडकबाट जाँदा करिब ८ घन्टा लाग्ने उक्त ठाउँमा पुग्न उनीहरू हेलिकप्टर प्रयोग गर्छन्। झन्डै २०–२५ मिनेट दुरीमा हेलिकप्टर ल्यान्ड गरेर घरसम्म पुग्छन्।
‘कारोबारमा संलग्नहरू बारीको पाटामा हेलिकप्टर झारेर त्यहीँ घरपरिवारसँग भेटघाट गरी फर्कन्छन्,’ एक स्थानीयले भने, ‘कोही–कोही मात्र दुईचार दिन यतै बस्छन्।’ ती स्थानीयका अनुसार उनीहरूको बास धेरैजसो काठमाडौं र विदेशमै हुन्छ।
‘ठूला कारोबारीका कुरै छाडौं, भरियाहरूको पनि फूर्तिफार्ती निकै बढी हुन्छ,’ उनले भने, ‘गाउँमा हुने जात्रा वा उत्सवमा उनीहरूको रबाफ प्रस्टै देखिन्छ।’ त्यही देखासिकीले कतिपय युवालाई लागुऔषध भरिया बन्न प्रेरित गरेको उनले बताए।
यति हुँदाहुँदै लागुऔषध ओसार्ने अपराधमा सरिक भएर कमाउनेभन्दा गुमाउनेहरू नै यहाँ बढी छन्।
लागुऔषध ओसारपोसारमा संलग्नलाई समाजमा पुनःस्थापित हुन समस्या छ। एकचोटि तस्करको छाप लागेपछि रोजगारी पाउन समस्या हुने गरेको पाइएको छ।
लागुऔषध कारोबारमा संलग्न भनी १० वर्ष कारावास सजाय भोगेर गत वर्ष रिहा भएका एक व्यक्ति अहिले गाउँ–काठमाडौं आउजाउ गरिरहन्छन्। भरिया बन्नुअघिसम्म उनी झार्लाङको एक प्राथमिक विद्यालयमा शिक्षक थिए। २०५१ देखि २०५५ सालसम्म उनले शिक्षकका रूपमा १ हजार ८ सय ५० रुपैयाँ तलब थाप्थे।
‘चाँडै पैसा कमाउने भूत सवार भयो। त्यसपछि भरियाको काम गरेँ,’ उनले सुनाए, ‘देखासिकी पनि हो।’ यस क्रममा धेरैचोटि पाकिस्तान, थाइल्यान्ड र म्यानमार पुगेको उनले बताए।
पाकिस्तानमा पक्राउ परी तीन वर्ष जेल परेर छुटेका उनी पछि जोरपाटीस्थित डेराबाट लागुऔषधसहित पक्राउ परे। ‘९ वर्ष ५ महिना जेल सजाय भोगेँ,’ उनले भने, ‘जेलमै बस्दा समाजशास्त्रमा मास्टर्स गरेँ, तर अहिले बेरोजगार भएर भौंतारिरहेको छु। लागुऔषधमा जेल परेको भन्नेबित्तिकै कसैले जागिर दिँदैन।’
लामो समय तस्करी गरेर थुप्रै पैसा कमाए पनि अहिले उनीसँग सम्पत्तिको नाममा केही छैन। दुई छोरामध्ये एकलाई छारे रोगले च्यापेको छ।
‘मैले यसमा लागेर केही पाइनँ, जे कमाएँ सबै गुमाएँ,’ उनले भने, ‘परिवारलाई पनि कहिल्यै सन्तोष भएन, आफ्नो जन्मथलोको इज्जत पनि खराब भयो, कुलको इज्जत पनि गयो।’
दुर्व्यसनी बनेर धेरै फर्किएका केहीका मृत्युसमेत भएको स्थाानीय बासिन्दा बताउँछन्। ‘लागुऔषधका दुर्व्यसनी बनेका यस्ता केहीमा एचआइभी/एड्सजस्तो गम्भीर रोगसमेत भेटिएको छ,’ एक स्थानीयले भने, ‘निकै बिरामी भएपछि गाउँ आएर केहीको मृत्युसमेत भएको छ।’
…
कहिलेकाहीँ क्रिश्चियन मिसनरीहरु जेलमा परेका मानिसका सन्देश लिएर धादिङ आइपुग्छन्। जेलमा परेकाहरुलाई सघाउने कार्यमा संलग्न उनीहरु फोटो, चिठीपत्र लिएर आउने गरेका छन्। म्लाङदुङसँग पनि हरियो ब्याकग्राउन्डमा खिचेको छोराको फोटो छ। मंसिरमा सत्यदेवी आएका क्रिश्चियन मिसनरीले ल्याइएको।
उनी दिनहुँ यही फोटो हेरेर टोलाउँछन्।
छोरो फर्कने हो/होइन। फोटो हेरेर बुढ्यौली धानिरहेका छन् म्लाङदुङ। भन्छन्, ‘यस्तो दुर्दिन अब अरूलाई देख्नु नपरोस् ‘नागरिक न्यूज डट कममा मणि दहालले खबर लेख्नु भएको छ ।