त्यो ज्यान फाल्यौ नि,भोकै पार्‍यौ नि

684 पटक पढिएको

सम्पादक: Dhading News

radhika-and-shuishilaa-conflict-victim_395918996कालिकोटमा त्यो ज्यान फाल्यौ नि
भोकै पार्‍यौं नि
….
धादिङ जोगीमारा ५ की १४ वर्षीया राधिका चेपाङ र सुशिला विश्वकर्माले  यसरी गीत सुरु गर्दा सहभागीका आँखा रसाउन थालिसकेका थिए। राधिका र सुशिला रोकिएनन्…
सबले देख्छन् लाको र खाको
कसले देख्छ यो मनमा पीर भाको
एक्लै पार्‍यौं नि
…..
उनी जस्तै समस्यामा परेका ६० जनाको बीचमा बसेर यो गीत गाउदा कोही पछ्यौराले मुख छोपेर रुन थाले भने त कोही हातले आँखा छोपेर आँशु लुकाउन बाध्य भए। उनीहरु सानै हुदा १३ वर्षअघि धादिङको जोगीमारा ५ का चित्रवहादुर चेपाङ र राजकुमार विश्वकर्मा काम खोज्दै कालिकोट विमानस्थलमा पुगेका बेला सुरक्षा कारवाहीमा परेर मरेपछि राधिका र शुसिला सधै बाबालाई यसरी नै सम्झन्छन्।
कमाउने घरको मूलीको मृत्यु भएपछि त कत्तिदिन उनको परिवार भोकै बस्नुपर्‍यो। आफ्नो बुबा कस्ता थिए ? उनीहरुलाई अनुहारसम्म थाह छैन ।  मात्र थाहा छ त सेनाले कालिकोटमा मारेको भन्नेकुरो । राधिका र शुशिलाका बुवा मात्र होइन कालिकोट विमानस्थलमा सेनाको कारवाहीमा परेर धादिङ जोगीमारा १३ जनाले ज्यान गुमाएका थिए।
धादिङ र नुवाकोटका बेपत्ता भएका व्यक्तिका परिवारहरुवीचको सहभोज कार्यक्रम आयोजना गरेका बेला राधिका र सुशिलाले गीत गाउदै सहभोजमा आएका सवैलाइ रुवाइदिएकी थिइन । सहभोजमा आएका अधिँकाशहरुको पिडा पनि राधिका र सुशिलाको जस्तै भएकाले सवै भक्कानिन पगेका थिए । सहभोज कार्यक्रममा धादिङ र नुवाकोटवाट द्वन्दकालमा वेपत्ता भएका परिवारजनले एक आपसमा पिडा साटासाट गरेर आफ्ना दुःख विसाए ।
राज्यले वेपत्ता भएका व्यक्तिका परिवारको लागि कुनैपनि पहल र चासो नदिएको वेपत्ता भएका परिवारहरुले बताए । अहिले एस एल सी परीक्षा दिएर बसेकी कन्चन मुडभरीलाइ पनि सधै बुवाको याद आइरहन्छ । २०६१ सालमा उनी नर्सरी पढ्ने बेलामा तत्कालिन सेनाले बावालाइ अपहरण गरेदेखि अहिलेसम्म उनको बुवाको केही पत्तो छैन । कन्चन भन्छिन, ‘राज्यले हाम्रा हराएका अभिभावकहरुको खोजीमा कहिल्यै चासो देखाएन ।’
आँखा रसिलो बनाउदै भनिन, ‘जुन दिन सम्म सरकारले अव तिम्रो बुवा आउदैन भनेर भन्छ त्यो दिनसम्म त बुवा फर्केर आउने आस लागिरहन्छ नी !’अनुज ठकुरीलाइ पनि बवा घरमा नहुदा सधै नरमाइलो लाग्ने गरेको बताउछन । आफु सानै भएकाले वेला तत्कालिन माओवादीले अपहरण गरेका बुवाको कुनै याद छैन उनलाइ । ‘अरु साथीको बुवाहरु सधै घरमा हुन्छन आफनो अहिलेसम्म देखेको छैन ।’ भक्कानिदै उनले भने, ‘वावा भएको भए दशै तिहारमा त रमाइलो हुन्थ्यो होला नी ।’
द्वन्दकालमा आफ्नै दुवै छोरा वेपत्ता भएका एमाओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले आक्रोश पोखे, ‘वेपत्ता भएका व्यक्तिका परिवारलाइ राज्यले कतिन्जेलसम्म अन्योलमा नै राख्ने ? अव सरकारले नै सत्य निरुपण आयोग मार्फत तत्काल बेपत्ताहरुको स्थिति जाँचबुझ गरि यथार्थता सार्वजनिक गरिदिनुपर्छ ।’
नेपाल रेडक्रस सोसाइटीले यस्तै द्वन्दकालमा मृत्यु भएका र वेपत्ता भएका व्यक्तिका परिवारहरुका लागि हातेमालो कार्यक्रम चलाइरहेको छ । हातेमालो कार्यक्रमले द्वन्दकालमा वेपत्ता भएका धादिङका २८ व्यक्तिका परिवार, कालिकोटका मारिएका धादिङ जोगीमाराका १३ जना विपन्नको परिवार र नुवाकोटवाट वेपत्ता भएका २७ जनाका परिवारहरुलाइ जिविकोपर्जन सम्वन्धी कार्यक्रमहरु र सामाजिक मनोपरामर्श दिइरहेको छ ।
रेडक्रसको अन्तराष्ट्रिय समितिको सहयोगमा धादिङ र नुवाकोट जिल्लामा सञ्चालित बेपत्ता भएका व्यक्तिका सदस्यहरुका लागि मनोसामाजिक परामर्श तथा हातेमालो कार्यक्रम अन्तर्गत राज्य र विद्रोही दुवै पक्षबाट बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई एकै स्थानमा राखि सहभोज आयोजना गरिएको हो
हातेमालो कार्यक्रमका संयोजक सुजन रेग्मीले भने, ‘यस्तो पिडा एक जनालाइ मात्र होइन धेरैजनालाइ परेको छ । हराएका व्यक्ति र मृत्यु भएका व्यक्तिलाइ सम्झेर बस्ने मात्र भन्दा पनि वाँकी जीवनलाइ सहज बनाउपर्छ भनेर हातेमालो कार्यक्रमले वेपत्ता भएका परिवारहरुलाइ मनोपरामर्श दिने काम गर्दछ । त्यही काम अन्तरगत धादिङ र नुवाकोटका वेपत्ता भएका परिवारहरुका लागि सामुहिक सहभोजको कार्यक्रम गरिएको हो ।’

– अन्नपूर्ण पोष्ट दैनिकबाट