उचाईले सेनामा भर्ति हुन रोकेपनि विदेशमा पाएको ठक्करले गाउँमै भेडा पालेर मालामाल
686 पटक पढिएको
धादिङ, – गाउँका साथीभाइ भारतीय सेनामा जागिर खान गएपछि धादिङ सेर्तुङका खरिमान तामाङलाई आफ्नै चिन्ताले धेरै सताउन थाल्यो । साथीहरु भारतीय सेनामा भर्ति हुन गए । आफ्नो उचाई नपुगेपछि खरिमान साथीहरुसँग जान पाउनुभएन ।
सँगैका साथीहरुले घरमा खर्च पठाउन थालेपछि खरिमानको मन कटक्क खान थाल्यो । गाउँका अरु कोहि विदेश नगएपनि आफु चाहिँ विदेश गएरै भएपनि केहि त गर्नुपर्यो भन्ने सोच खरिमानमा जाग्यो । उहाँ धादिङको सेर्तुङबाट वैदेशिक रोजगारीमा जाने पहिलो व्यक्ति बन्नुभयो ।
गाउँमा ८० हजार ऋण काढेर कतार गएका खरिमानले न भनेको काम पाउनुभयो, न त तोकिएको तलव नै । प्लम्बिङको कामका लागि विदेश गएपनि हातमा सीप नभएपछि हेल्परको काम गर्नुपर्यो । १२ सय रियल दिने भने पनि ६ सय रियाल मात्रै हातमा पर्योे । साहुलाई भनेको भाकामा ऋण बुझाउन नसकेपछि डबल तिर्नुपर्यो र २ वर्षको कमाई साहुको ऋणमै गयो । चार वर्ष कतारमा बिताएका खरिमान जम्मा ४० हजार रूपैंया लिएर घर फर्कनुभयो ।
परदेशमा दुःख पाएर फर्किएका तामाङले त्यहि ४० हजारबाट भेडापालन व्यवसाय सुरु गर्नुभयो । उहाँको भेडिगोठमा अहिले १ सय २६ ओटा बरुवाल जातका भेडा छन् । घरपरिवारसँगै बसेर गरेको यो व्यवसायले उहाँलाई आम्दानी र सन्तुष्टी दुवै मिलेको छ । बाबुबाजेले गर्दै आएको भेडापालनलाई उहाँले व्यवसायिक रुपमा विस्तार गर्नुभयो । उहाँले गरेको व्यवसायमा जोखिम पनि कम छ ।
फोकस नेपाल धादिङले जिल्लाका किसानलाई लक्षित गरि भेडा पालन सम्बन्धी विभिन्न कार्यक्रम सन्चालन गरेको छ । संस्थाले एबिसिडी कार्यक्रम गरेर भेडी गोठमै गएर उपचार गर्न थालेपछि भेडा मर्ने समस्या पनि समाधान भएको छ ।
उमेरले ४५ टेकेका खरिमान बुढीआमासँग अहिले भेडाको ऊनबाट सामग्री बनाउन सिकिरहनुभएको छ । ४ जना बालबच्चा, श्रीमती र आमा सहित सातजनाको परिवारको गर्जो टार्ने काम यही व्यवसायबाट भैरहेको छ ।
भेडाको मासु, ऊन र ऊनबाट बनेका सामग्री बेचेर वार्षिक २ लाख आम्दानी हुने उहाँले बताउनुभयो । चाडपर्व र पूजाआजाको लागि भेडा खोज्नेहरु भेडी गोठमा नै पुग्ने गर्छन् । एउटा भेडाको मुल्य १० हजारदेखि १५ हजार रुपैंयासम्म पर्ने तामाङको भनाई छ ।
व्यवसाय मात्रै हैन हिजोआज उहाँको सोच पनि फेरिएको छ । ‘कामलाई सानो ठूलो नभनी गर्ने हो भने यहिँ मज्जाले आम्दानी गर्न सकिन्छ’ खरिमान भन्नुहुन्छ । विदेश भोगेर फर्किएका तामाङ भन्नुहुन्छ, ‘अरु युवाले पनि परदेश नगई यहिँ केहि व्यवसाय गर्नु राम्रो हुन्छ ।’