आफैं जुर्मुराए पीडित
478 पटक पढिएको
छत्रेदेउराली (धादिङ), -सन्तबहादुर तामाङ मंगलबार टन्टलापुर घाममा मकैबारी मासेर टहरा बनाउँदै थिए। परिवारका अन्य सदस्य भत्केको घरले पुरेका पुराना जस्ता बटुल्दै थिए।
‘भूकम्प गएलगत्तै सहयोग पाइएन। संस्थाले दिएको त्रिपालले अन्नसम्म छोप्न काम लाग्ला। मान्छे र पशुवस्तुले ओत लाग्नै पर्यो। अर्काको आसमा मात्रै कति बस्नु?’ छानाबाट उँधो चियाउँदै उनले भने, ‘त्यही भनेर हामी आफ्ना टहरा आफैं बनाउन जुट्यौं।’ छत्रेदेउराली तामाङ बस्तीमा हर्कमानका ११ भाइ नाति र आफन्तसहित ३० परिवारको थातथलो महाभूकम्पले उजाड बनाइदियो। वृद्ध र बालबालिकासहित ५ जना गुमाएको बस्ती शोकमा त छ नै, पुनर्निर्माणमा आफैं अग्रसरसमेत छ।
कसै–कसैले सामूहिक टहरा बनाउँदै छन् भने कोही व्यक्तिगत। काजकिरिया बसेका छिमेकी बन्धुबान्धवलाई घरिघरि सान्त्वना दिँदै काममै लाग्छन् उनीहरू।
भूकम्पपीडितहरूलाई खुला आकाशमुनि पाखाको बसाइ मृत्युबराबरै हुन लागिसक्यो। छैटौं दिनसम्म राहतका लागि कोही नआएपछि उनीहरूले आफैं जुर्मुराउनुको विकल्प देखेका छैनन्। यतिखेर डाँडागाउँका महिला र वृद्धहरू ध्वस्त घर उधिनेर अन्नपात निकाल्दै छन्। खट्न सक्नेहरू कच्ची टहरा बनाउन भिडेका छन्। कोही संकलित अन्न ओसारिरहेका छन्। पुरुषहरू बाँस गाडेर दसकौं पुराना कर्कटपाता ठोक्न व्यस्त छन्।
दिलबहादुर तामाङका ६ भाइले पालैपालो अरूका टहरा निर्माणमा सघाए। मंगलबारसम्म ३० परिवारका आधा टहरा बनिसकेका छन्। भुइँचालोले भएका शौचालय पनि भत्काइदियो। विभिन्न खाले होर्डिङबोर्डले घेरेर छेउमै शौचालयसमेत निर्माण गरेका छन्।-ई कान्तिपुर डट कमवाट