आँशु पनि झरीले छिनभरमै पखालीदिएको छ

1032 पटक पढिएको

सम्पादक: Dhading News

as-अस्मिता खतिवडा
चर्किरहेको घाम एक्कासी ओइलाउन थाल्छ, चिसो सिरेठो सुस्त सुस्त चल्न चालेको महसुस हुन्छ, उकुसमुकुस भईरहेको शरिरले शितलताको अनुभव गर्न थाल्छ । मानिसहरु एक अर्कालाई भन्न थाल्छन्– ओई, हेर्न आकाश कस्तो कालो हुँदै आको, अब पानी पर्छ । अनि मानिसहरुले एक अर्कालाई पानी पर्छ की क्या हो भनि भ्याऊँदा नभ्याऊँदै पानी पर्न थाल्छ ।
साँच्चै हिजोआज पनि यस्तै छन् दिनहरु । बाटोघाटोका खाडलहरु पानीले भरिन थालेका छन् । खडेरीले सुकेका पोखरीहरुमा पानी जम्न थालेका छन् । भ्यागुताहरु पोखरीको डिलमा बसेर जुवारी खेलेको आभास हुन थालेको छ । बुङ्बुङ्ती धुलो उड्ने बाटो पनि चिस्यानयुक्त देखिन्छन् । खडेरीमा वेगसंग बतास चल्दा बज्ने सुकेका पातहरु अब बज्ने भेटिँदैनन् किनकी छिन छिनमै पानी जो पर्छ ।
हिजो आज छिन्कै दिन्कै पानी परिरहँदा मलाई पनि मेरो बालापन सम्झन मन लाग्छ । धादिङ कल्लेरीमा बसेर नुवाकोटको पिमल्टार पढ्न जाँदा तर्नुपर्ने कोशी खोला गर्जँदै आऊँथ्यो । कहिले टाढैबाट खोला हेरेर फर्कन्थ्यौँ त कहिले घरका ठुलाबढालाई गुहार्न पुग्थ्यौँ हामि । हाम्रो हजुरबा पनि ए, खोला ठुलै छ आज पनि भन्दै दर्किरहेको पानीबाट जोगिन नाङलो ओढेर मलाई डो¥याऊँदै खोला तार्न आऊनुहुन्थ्यो । मलाई त दुःख दियो दियो घरमा बसिरहनुभएको हजुरबालाई पनि कत्ति दुःख दिएको यो पानीले ? त्यसैले म झन्केर भन्थेँ, यो पानी पनि कत्ति पर्न सकेको है बा ? हजुरबाले भन्नुहुन्थ्यो–झरीको मौषम नी त छोरी । यो झरी भनेको चाहीँ के हो नी, मैले सोध्दा बाले भन्नुभएको थियो– घाम रुन्छ, आकाश गड्गडाऊँछ, मेघ गर्जन्छ अनि पानी पर्छ, जब पानी लगातार परिरहन्छ त्यसैलाई हामि झरी भन्छौँ । बुढा हजुरबाले पनि कत्ति बुझ्ने गरि सम्झाऊनुभएको थियो । त्यहि समयदेखी झरी के हो भन्ने बुझेकी मैले हिजोआज झरीले पारेको प्रभाव बुझ्न सक्ने भएको छु ।
लगातारको झरीले पालमुनी बसिरहेकालाई पालले थेग्ला की नथेग्ला भन्ने पिर छ, ढलान घरमा बसिरहेकालाई यहि बेला भुकम्प आयो भने भन्ने चिन्ता छ, ग्रामिण भेगका स्कुले बालबालिकाहरुलाई स्कुल कसरी पुग्ने भन्ने सम्सया छ, बचपनमा मलाई जस्तै । बाटो हिलो छ, चिप्लो छ, बाटो भासिएका छन्, पहाड पहिरिएका छन्, खोला बढेका छन्, दिनचर्या मुस्किलले बितिरहेको छ । ढोकेहरु मालिकको सुरक्षामा घरको मुल ढोकामा निर्थुक्क भिजेर पनि नुनुको जोहो गरिरहेका छन्् । खलासीहरु सडकमा नारा लगाईरहेका हुन्छन् भने चालकहरु तिनै माथी ढुङ्गामुढा लाठी बर्साइरहेका छन् । झरीको दिन डुबानमा परेर तराईबासीहरु रोइरहेका छन्््, उनिहरुका आँशु पनि झरीले छिनभरमै पखालीदिएको छ, त्यसैले त त्यो पिडा सरकारले महशुश गर्न सकिरहेको छैन । झरीको समय कोही घरबारविहिन भइरहेका छन् भने कोही मालामाल । त्यसैले हामि पनि झरीले सिर्जना गरेका अवसरहरुको सहि सदुपयोग गरौँ, निम्त्याऊन सक्ने हानि नोक्सानी प्रती साबधान रहौँ, सुरक्षित होआँै ।