आग्रा खोलाबाट स्थानीय पाँचजनाको समूहले अवैध कर संकलन गरेको आरोप
594 पटक पढिएको
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास कार्की लगायतको समूहलाई आग्रा खोलाबाट अबैध रुपमा कर संकलन गरेको आरोप लागेको छ । समूहगत रुपमा अबैध ढंगबाट कर संकलन भईरहेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको ठाडो आदेशमा थांक्रे गाविसका राजकुमार थापा पक्राउ परेका छन । स्थानीय प्रशासनले कार्की लगायतको समूहको खोजीलाई तिव्र पारेको छ । यो समाचार धादिङ न्यूजका लागि इ कान्तिपुर डट कम बाट साभार गरिएको हो ।
आग्राखोलाबाट गिट्टी, ढुङ्गा बोक्ने साधनहरुसँग अवैधरुपमा कर संकलन गर्ने समूहलाई स्थानीय प्रशासनले नियन्त्रण्मा लिएको छ । विगत तीन वर्षदेखि लगातार स्थानीय पाँचजनाको समूहले थाक्रे–३, आग्राखोलाको सडकमै कर संकलन काउन्टर राखेर दैनिक ५० देखि ६० हजार रकम अवैधरुपले कर संकलन गर्दै आएका थिए ।
‘खोलाबाट निकासी हुने प्राकृतिक श्रोत साधनको कर स्थानीय निकायले बाहेक व्यक्ति, समूह वा कुनै पनि संस्थाले पटके कर लगाउन पाउदैन’ आग्राखोला गएका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने, ‘हामीले कर संकलन गर्ने काउन्टरमा बसेको राजकुमार थापालाई नियन्त्रणमा लिएका छौं, थप अरुलाई पनि खोजी गर्दैछौं ।’ विभिन्न जिल्लाबाट आएर आग्राखोलामा गिट्टी कुट्ने पेशामा लागेका मजदुर परिवार र स्थानीय समूहले नाजायज कर संकलन गर्ने, आर्थिक शोषण गर्ने र दु:ख दिनेजस्ता गुनासा आएपछि मुख्य समूहलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका स्थानीय विकास कार्की समेत अवैध कर संकलनमा प्रत्यक्ष संलग्नता रहेको प्रमाण फेला परेपछि उनी लगायत रामबहादुर राई, श्यामबहादुर थापाहरु फरार रहेका प्रजिअ सुवेदीले बताए । स्थानीयले खोला किनार बगरलाई आफ्नो जग्गा भन्दै ढुङ्गा, गिट्टी निकासी गर्ने ट्याक्टर र टिप्परहरुसँग पटके कर १ सय रुपैयाँ संकलन गर्ने गरेका थिए । त्यस्तै, आग्राखोलामा रहेका ईजाजत प्राप्त ढुङ्गा खानीका सञ्चालकहरुसँग पनि एकमुष्ठ लाखौं रकम कर लिने गरिएको थियो ।
२०५७ देखि २०७० सालसम्म स्थानीय गाविसको सहमतिमा थाक्रे र भुमेस्थान गाविसको स्वीकृतिमा दुई गाविसका ३ वटा विद्यालयले कर संकलन गर्ने, सेतीदेवी मावि, भगवती निमावि र भुमैसान माविले प्रतिखेप ७५ रुपैयाँ संकलन गरी एक विद्यालयलाई वार्षिक १२ लाख रकम भाग लगाउने गरिएको थियो । विद्यालयले उक्त आयश्रोतले विभिन्न भौतिक निर्माण र शिक्षकहरुको पारिश्रमिकमा खर्च गर्ने गरेको थियो ।
जिल्ला विकास समितिले कर संकलन अवैध भन्दै २०७० मा रोक्का गरेको थियो । स्थानीय विद्यालयलाई कर संकलनमा रोक लगाएपछि विगत तीन वर्षदेखि निरन्तर स्थानीय समूहले खोला कब्जा गरी कर संकलनमा लागेका हुन् ।
जिल्लाका अरु सवै खोला स्थानीय निकायको नियन्त्रणमा छन् तर जिल्लाको दक्षिणी भेक मकवानपुरको सीमानाबाट उत्तर बगेर त्रिशुलीमा मिसिने आग्राखोला ३० किलोमिटर खोला गाविसको नियन्त्रणमा छैन । आग्राखोलाको पल्लो किनार भुमेस्थान गाविसले वार्षिक निकासी कर संकलन गर्न ४२ लाखमा ठेक्का लगाएको छ भने अर्को किनार थाक्रे गाविसले नियमानुसार निकासी कर संकलन गर्न नदिई स्थानीयवासी समूहको कब्जामा छ ।
‘स्थानीयवासीले पनि आवश्यक परे खोलाका गिट्टी, बालुवा र ढुङ्गा संकलन गरी आफ्नो घर निर्माण गर्न पाउँदैनन्’ मजदुर युनियनका अध्यक्ष पूर्ण लिम्बुले भने, ‘आग्राखोलामा ढुवानी साधन लैजान पनि सिण्डिकीकेट छ ।’ आग्राखोलामा ढुङ्गा बोक्ने ३ सय ट्याक्टरहरुमध्ये आधा जोन देरे कम्पनीकै छन् भने थप १७ वटा लिम्बुको सिफारिसमा बुक भैसकेका छन् ।
जिल्ला विकासले वातावरणीय प्रभाव मूल्याङ्कन गरी आग्रा खोलाबाट ठूला उपकरणहरु प्रयोग गर्न नपाइने गरी ढुङ्गा, गिट्टी निकाल्न अनुमति दिएको छ । मजदुरहरुले पनि खोलामा डोजर, स्काभेटर लगायत उपकरण प्रयोग गर्न दिँदैनन् । यो खोलाको ढुङ्गा जिल्लामा सञ्चालनमा रहेका २९ वटा क्रसर उद्योगहरुले ७ हजारमा खरिद गर्छन् । आग्राखोलामै चार वटा क्रसर उद्योगहरु सञ्चालनमा छन् ।
स्थानीय चन्द्रज्योति एकीकृत विकास समाजका अध्यक्ष एवं स्थानीय शिक्षक मेघवहादुर तामाङले २०४५ सालदेखि ढुङ्गा, गिट्टी बालुवा निकाल्न शुरु गरेदेखि खोलाको सतह ५ मिटर घटिसकेको बताए ।