इजरायलमा सिकेको सीप प्रयोग गर्दा स्वदेशमै मालामाल

1143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tarakari-bali_santosh-basne कुखुरा पालन र तरकारी खेतीबाट स्वदेशमै बार्षिक ६ लाखभन्दा बढी कमाइ

केशव रोक्का
 
धादिङ (मैदी) –विदेशमा सिकेको सीपलाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । यसलाई पुष्टि गरेका छन् धादिङमैदी–७ बस्नेत टोलका  सन्तोष बस्नेतले । उनले इजरायलमा सिकेको कृषि ब्यवसाय सम्बन्धी सीप जन्मभूमि फर्केर ब्यवहारमा प्रयोग गरे । उनले गाउँमा व्यवसायिक कुखुरा पालन र आधुनिक कृषि व्यवसाय थालनी गरेका छन्  ।

बस्नेत सन् २०१२ मा मैदी साना किसान कृषि सहकारी संस्थाबाट कृषि सम्बन्धी तालिम लिन इजरायल पुगेका थिए । त्यहाँ ११ महिनाको प्राविधिक कृषि तालिमपश्चात स्वदेश फकिएका बस्नेतले आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्नेहेतुले कृषि विकास बैंक र मैदी साना किसान कृषि सहकारीबाट करिब १५ लाख ऋण लिई व्यवसाय सुरु गरेका हुन् ।

इजरायलको मरुभूमिमा चमत्कारिक कृषि व्यवसाय देखेका बस्नेतले त्यहाँबाट फर्केलगत्तै आधुनिक कुखुरा खोर निर्माण गरी १ हजार वटा लेयस (अण्डा दिने) कुखुरा पाल्न सुरु गरेका थिए । शुरुमा व्यवसायमा लगानी धेरै गर्नु परे पनि क्रमश उत्पादन सुरु भएपछि आम्दानी पनि राम्रो हुँदै आएको बस्नेत बताउँछन् ।

बजारमा कुखुराको भाउ राम्रो हुने भएकोले यस व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले कुखुरा फार्मबाहेक आधुनिक कृषि व्यवसायसमेत गरिरहेका छन् । उनले आधुनिक तवरबाट टनेल निर्माण गरी गोलभेँडा खेती गर्दै आएका छन् । उनले बारीमा मौसमअनुसारको आलु, काउली, वन्दालगायतको तरकारीसमेत उत्पादन गर्दै आाएका छन् । बिऊसमेत आफैले उत्पादन गर्दै आएका बस्नेतले बार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए ।

आधुनक कुखुरा र कृषि व्यवसायमा लागेका बस्नेत गाउँमा बजारको समस्या रहेको बताउँछन् । बजारसम्म आफ्ना उत्पादन पुर्याउन बाटोघाटोको समेत समस्या झेल्नु परेको उनले गुनासो गरे । बर्खाको तीन महिना (असार–भदौ) सवारी साधन बन्द हुँदा सदरमुकाम धादिङवेसीबाट दाना ल्याउन र कृषि उत्पादनलाई बजारसम्म लैजान नसिकेको उनले बताए । ‘यसले गर्दा व्यवसायलाई चाहेर पनि अझ बृद्धि गर्न सकेको छैन,’ उनले भने ।

बस्नेतले  उत्पादन गरेका कुखुरा र तरकारी सातदोबाटोको स्थानीय बजार र गाउँघरमै खपत हुँदै आएको छ । स्थानीय व्यवसायी मिलेर गाउँमा भएको उत्पादनलाई नियमित सदरमुकाम लैजाने  सरवारी सधान र बजारको व्यवस्था मिलाउने तयारी गरेको उनले सुनाए । बर्खाको समयमा पनि सवारी सधान हिड्न सक्ने बाटो र बजारको रम्रो व्यवस्था भए मैदीमा धेरै युवा कृषिमा आकर्षित हुने उनको दावी छ ।बस्नेतलाई मैदीवासीले युवा पुस्ताकै एक उदाहरणीय कृषकको रुपमा लिएका छन् ।

हिजोआज कृषि व्यवसायको बारेमा सल्लाह सुझाव लिन बस्नेत कहाँ जाने युवाहरु पनि धेरै छन् । आफूले सिकेको कुरा अरुलाई पनि सिकाउँदै आएका बस्नेत भन्छन् ‘श्रम गर्न सके देशकै मोटोमा रोजगारी मिल्ने रहेछ ।’ हाम्रो देश कृषि प्रधान देश भए पनि सरकारले किसानको हितका लागि खासै सहयोग नगरेको उनको गुनासो छ ।

युवाहरुलाई व्यवसायिक कृषि पेसामा लाग्न सरकारले अनुदानको व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । ‘सरकारले कृषिकलाई अनुदान दिए विदेश जाने युवाहरु स्वदेशमै कृषि व्यवासय गरेर बस्ने थिए, आज किन गाउघरको खेतियोग्य जमिन बाँझो हुन्थ्यो रु’ बस्नेतले प्रश्न गरे, ‘आफ्नै देशको माटोमा श्रम  गरे यही मनग्य आम्दानी गर्न सकिने भएपछि खाडी मुलुक किन जानु रु’ । उनले युवाहरुलाई कृषि व्यवसायमा लाग्न आग्रह गरे । 

स्वदेशमा रोजगारी नपाएर दैनिक हजारौँ नेपाली युवाहरु रोजगारीको लागि खाडीलगायतका देश जाने गर्दछन् । आफ्नै देशको माटोमा श्रम गरे यही मनग्य आम्दानी गर्न सकिने उदाहरण बस्नेत आफैं छन् । उनलाई हेरेर आजैदेखि अरु युवाले पनि कृषि व्यवसाय अपनाउने कि ?

-अर्थ संसार डट कमबाट