आत्मनिर्भर बन्दै गल्छी बाईसकिलाका  विपन्न समुदाय

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mahaila_dhading-59361d4964a3b4.93039018धादिङ : सबैको हातहातमा बुट्टा भर्ने सियो र साथमा गोलो कपडा बाध्ने रिङ छ । सबैजना आ–आफ्नै सुरमा कपडामा बुट्टा भरिरहेका छन् । धादिङको गल्छी गाउँपालिका बडा नं ७ स्थित बाइसकिलोमा आजभोली हरेक घरमा यस्तो दृष्य देख्न पाइन्छ । पृथ्वी राजमार्गसँग जोडिएको बाइसकिलोमा विपन्न बस्ती छ । २३ घरधुरी रहेको उक्त बस्तीका अधिकांश परिवारको कमाइको कुनै स्थायी स्रोत छैन ।ज्यालामजदुरी गरेर परिवार पालिरहेकाले सामान्य घरखर्च चलाउन पनि मुस्किल परिरहेका बेला सीपमूलक तालिम लिएपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । अहिले उनीहरू घरमै बसी विहानबेलुकाको समय सदुपयोग गरेर सादा कपडामा बुट्टा भरेर दैनिक घरखर्च चलाउन सक्ने भएका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत सीपमूलक तालिम लिएपछि धादिङको गल्छी गाउँपालिकाका विपन्न समुदायका व्यक्ति आत्मनिर्भर बन्न थालेका हुन् ।

नेपाल सरकार उद्योग मन्त्रालयको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको समन्वयमा जनअधिकार सरोकार महासंघ नेपालले गल्छी गाउँपालिकाको बाइसकिलोमा रहेका दलित र विपन्न समुदायका स्थानीयलाई आयआर्जनमूलक सीप प्रदान गरेपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।

हातेकडाइ (कपडामा बुट्टा भर्ने) तालिम लिएकी मनिता गहतराजले भन्नुभयो, ‘पहिला कमाइको कुनै स्थायी स्रोत थिएन, काम गर्नको लागि हातमा सीप पनि थिएन । ज्याला मजदुरी गरेर कमाएको पैसा खानपानमै सकिन्थ्यो, भविष्यलाइ बचत गर्न र बालबालिकाको शिक्षादीक्षामा पनि खाँचो पथ्र्यो । अहिले हाते कडाइ तालिम लिएको छु, घरमै बसेर फुर्सदको समयमा पनि हातमुख जोर्ने पैसा कमाइन्छ । अहिले कमाएको पैसा पनि बचत गर्ने बानीको विकास भएको छ ।’

तत्कालीन गाउँ उद्यम विकास समितिले छनोट गरेर विपन्न, दलित र कम आय भएका समुदायलाई उनीहरूकै माग र चाहानाबमोजिम तालिम दिएपछि आत्मविश्वास बढेको र काम गर्ने हौसला मिलेको जिल्ला समन्वय समिति धादिङका योजना अनुगमन अधिकृत युवराज अर्यालले बताउनुभयो । स्थानीय दिनेश गहतराजले भन्नुभयो, ‘परम्परागत रूपमा मेटलका काम गरिरहेका थियौं, घरेलुबाट सरहरू आएर सुनचाँदीको तालिम दिनभयो । अव सुनचाँदीकै व्यवसाय गर्ने आँट आएको छ ।’

सुरुमा गाविस (तत्कालीन) स्तरीय अभिमुखीकरण गरेर गाविसले सिफारिस गरेका विपन्न समुदायका व्यक्तिलाई स्थानीय स्रोतको सदुपयोग हुने, समुदायको चाहना र बजार मागअनुसारका बस्तु उत्पादन हुने सीममूलक तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति धादिङले जानकारी दिएको छ । बाइसकिलोमा व्यावसायिक तरकारीखेतीका लागि नौ जना, सुनचाँदीका गरगहना डिजाइनका लागि ११ जना र बुटिकमा आठ जनालाई तालिम दिइएको घरेलुले जनाएको छ ।

उद्योग मन्त्रालयअन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रममार्फत सञ्चालन गरिएको तालिम विपन्न बस्तीमा उपयोगी साबित भएको छ । स्थानीयलाई तालिम दिने मात्र नभई व्यवसाय सुरु गर्न सहकारी र वित्तीय संघसस्थासँग पहल गरिदिने र उत्पादित सामग्रीको बजारीकरणको लागि पनि सहजीकरण गरिरहेको गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमकी कार्यक्रम संयोजक समीता पञ्जियारले बताउनुभयो धादिङ टुडेले खबर लेखेको छ ।