प्रजनन अधिकार वन्न सकेन महिला अधिकार

402 पटक पढिएको

प्रकाशित मिति: २०७०, ३ श्रावण बिहीबार ११:५८

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/ फुलमाया चेपाङको उमेर अहिले ३६ बर्ष पुरा हुंदैछ । ३६ बर्ष उमेर पुरा नहुंदै उनले नौ वटा बच्चाको जन्म दिईसकेकी छिन । सातवटा उनिहरुको साथमा छ । सबैसन्तान उनको रहरमा भन्दा पनि वाध्यतामा जन्मिएका हुन । १६ बर्षको उमेरमा विहे गरेकी फुलमायाले १७ बर्ष लागेदेखि बर्षेनी जस्तो सन्तान जन्माउंदै आईरहेकी छिन । बर्षेनी सन्तान जन्माउनु परेपनि उनको घरमा बर्षको नौ महिना खानेकुराको अभाव भईरहन्छ । सुत्केरी हुंदा तागतिला खानेकुुरा त परै जावोस पेटभरी खोलेसमेत खान नपाएको उनी बताउंछिन । सांगुरो घरमा सबैजना एकै ठाउंमा सुत्नुपर्ने वाध्यता भएपनि फुलमाया र उनका श्रीमान संगै सुत्नेगर्दछन । एकै ठाउंमा सुतेपछि लोग्ने स्वास्नी बिचमा यौन सम्पर्क हुनेनै भयो । यौन सम्वन्ध कायम हुनु र वच्चा जन्मनुलाई फुलमाया सामान्य ठान्दछिन ।
ब्रुसवाङ गाउं धादिङ जिल्लाको सबैभन्दा विकटमा रहेको चेपाङबस्ती हो ।  महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ गाउं नजिकै स्वास्थ्य संस्था समेत छैन । स्वास्थ्य सस्थामा पुग्न गर्भवती महिलालाई दिनभरी जसो हिंड्नुपर्दछ । गलेको शरीर, थकान र भोकले शिथिल वनाउने हुनाले महादेवस्थान गाविसकै वडडांडामा रहेको स्वास्थ्य चौकीमा पुगेर नियमित स्वास्थ्य जांच गराउन ब्रुसवाङका चेपाङ महिलाहरुलाई कठिनाई हुने गर्दछ । विरामी भएर जाने हो भने आठ घण्टामा पनि पुगिंदैन, घर फर्केर आउन नभ्याउंदा वाटोमै बास बस्नुपर्छ,खर्च हुंदैन, भोकै बस्नुपर्दछ, वाटोमा वासवस्न पर्ने भएकाले ब्रुसवाङका महिलाहरुमात्रै होइन पुरुषपनि उपचारका लागि स्वास्थ्य संस्था जान मान्दैनन ।
एकातिर बर्षेनी जस्तो सन्तान जन्माउनुपर्ने बाध्यता अर्को तिर पेटभरी खान र स्वास्थ्य सेवा समेत लिन पाउंदैनन ब्रुसवाङका महिलाहरुले । यति मात्र होइन यो एउटा त्यस्तो बस्ति हो जहांवाट पानी लिनका लागि लगातार तीनघण्टा उकालो ओरालो गर्नुपर्दछ । बर्षेनी सन्तान जन्माउंदा जन्माउंदा शरीर कमजोर भएपनि फुलमायाले हरेक दिन डोकोमा वोकेर पानी ल्याउनु पर्दछ । शरीर गलेर हिड्नै हुंदैन तै पनि पानी वोक्नै पर्दछ । पानी बोकेर घर पुगेपछि भोकलाग्दा खानेकुरा केही हुंदैन खानका लागि सिस्नु र जंगली कन्दमुल खोज्न हिड्नुपर्दछ ।

गरिबी, अशिक्षा,अन्धविश्वास र प्रजनन स्वास्थ्य स्थितिको सामान्य जानकारीसमेत नहुँदा कैयौं गर्भवती महिलाहरूले अकालमै मृत्युको सामना गर्नुपरेको छ । प्रजनन स्वास्थ्यमा घरपरिबाट सहयोग एवं सहानुभूति नपाउँदा गर्भवती तथा सुत्केरी महिलाहरू बर्षेनी मृत्युको सिकार हुन पुगेको विभिन्न तथ्याङहरुले देखाउने गरेको छ ।  स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङगठनको प्रतिवेदनअनुसार विश्वभरि प्रतिवर्ष छ लाख गर्भवती र सुत्केरी महिलाको मृत्यु हुने गर्दछ । त्यसमध्ये ९९ प्रतिशत मृत्यु विकसित देशमा मात्रै भएको पाइन्छ । त्यस्तै गर्भवती महिलाको स्याहार सुसार नपुग्दा गर्भवती तथा बच्चा जन्माउँदा दैनिक दर्जनौ महिलाले जीवन गुमाउनुपरेको छ । राजधानीको नजिकै रहेको चेपाङबस्ती पनि यस्तै एउटा उदाहरणीय बस्ती हो । जहां बर्षेनी कलिलै उमेरमा आमा बन्दै गरेका महिलाहरु स्वास्थ्य संस्था नदेखि सुत्केरी हुनुका साथै कतिले अकालमै ज्यान गुमाउनु परेपनि उनिहरुको समस्या वाहिर आउन सकिरहेको छैन ।
दक्षिणपूर्वी एसियाली क्षेत्र नेपाल मातृ मृत्युदर बढी हुने देशहरूमा नेपाल दोश्रो स्थानमा पर्दछ । एक दशक अगाडिको सर्वेक्षणअनुसार । नेपालमा प्रत्येक दुई घण्टामा एक जना महिलाको मृत्यु हुने गर्छ । त्यस्तै नेपालमा प्रतिलाखमा पाँच सय ३९ महिलाको मृत्यु असुरक्षित मातृत्वका कारण हुने गरेका छन् ।
महिलाको मानव अधिकारसँग जोडिएको प्रजनन तथा स्वास्थ्य अधिकारलाई अन्तर्राष्ट्रियस्तरमा भएका सन्धि सम्झौतामा समेत नेपालले हस्ताक्षर गरिसकेको छ । यसले स्वास्थ्यको हेरचाह स्वास्थ्य रक्षाको अधिकार र कहिले बच्चा जन्माउने भन्ने निर्णय गर्नपाउने सम्पूर्ण अधिकार सम्बन्धित महिलामा रहने उल्लेख छ तर सहरी क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ्यस्थितिको तुलनामा ग्रामीण भेकका महिलाको स्वास्थ्य समस्या झनै जटिल छन् । त्यसैगरि महिलाहरूको प्रजनन स्वास्थ्य र सुत्केरी अवस्थालाई पनि प्रजनन अधिकारका रूपमा व्याख्या गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा जे जस्ता अधिकारको व्याख्या  गरिए पनि रुढिवादी सोचका कारण बहुसङख्यक नेपाली महिला उक्त अधिकारबाट वञ्चित छन् । प्रजनन अधिकार महिलाको मानव अधिकारसँग गाँसिएको हुन्छ भन्ने यथार्थलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने निकायको पहुंच दुरदराज सम्म पुग्न नसकेका कारण यस्तो विकराल अवस्था सिर्जना भएको कुरालाई नकार्न सकिंदैन ।
ब्रुसवाङकै जुनमाया चेपाङको उमेर पनि भर्खर २० वर्ष लाग्दैछ , सोह्र बर्षको उमेरमा बिहे गरेकी जुनमायाको दुई सन्तानको जन्म भईसकेको छ । दुवै सन्तान उनले घरमै जन्माएकी हुन । जुनमायाका अढाई बर्ष र ३ महिनाको छोरा दुवैले अहिले सम्म कुनै खोप लगाएका छैनन । त्यसोत जुनमायाले  पनि गर्भवती हुंदा नत स्वास्थ्य परिक्षणनै गराइन न त कुनै खोप र औषधीको प्रयोग गरिन । आंफुले पनि अहिले सम्म कुनै खोप नलगाएको र दुईभाई छोरालाई पनि खोप नलगाएको उनि बताउंछिन ।
विरामी भएर थला पर्दा उपचारका लागि गाउंवाट स्वास्थ्य चौकी पुग्न दिनभरीको वाटो हिंडनुपर्ने भएपछि दक्षिणी धादिङको विकटका चेपाङहरु विरामी हुंदा औषधि उपचार होइन झांक्रीको झारफुकमा बिश्वास गर्न वाध्य छन ।
ब्रुसबाङका अधिकांश गर्भवतीले कुनै खोप नलगाएका मात्रै होइनन, गर्भवती हुंदा सामान्य स्वास्थ्य जांच पनि नगराउने ब्रुसबाङका चेपाङ महिलाहरु बताउंछन । चेतनाको अभाव र विकटको बस्ति भएका कारण यहांका अधिकांश चेपाङ किशोरीहरुको बिहे १५ बर्ष नपुग्दै हुने गरेको छ । सानै उमेरमा बिहे हुनुलाई आफ्नो परम्परा ठान्ने ब्रुसबाङका चेपाङहरुले गर्भनिरोधक अस्थायी वा स्थायी कुनै साधन प्रयोग गर्न आवश्यक ठान्दैनन । गाउंमा तीन देखि सात जना सम्म सन्तान घर घरमा भेटिने भएपनि गर्भ निरोधका लागि अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या भने गाउंभरीमै भेंिटदैनन । २६ घर परिवारका कसैले पनि विरामी हुंदा होस या अरु वेलामा पनि स्वास्थ्य संस्था जानु आवश्यक ठान्दैनन ।
प्रजनन अधिकार भन्नाले मानव जिवनको प्रजनन स्वास्थ्यसंग सम्बन्धित प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्र्दभमा निरोगी नहुनु वा विरामी नपर्नु मात्र नभई शारीरिक, मानसिक र सामाजिक दृष्टिकोणबाट समेत पूर्णरुपमा स्वस्थ रहनु र मानव स्वयले आफ्नो प्रजनन स्वास्थ्यको रक्षाका लागि लागि अपनाईने अधिकारहरु पर्न आउदछन जस्मा वाच्न पाउने अधिकार, सुरक्षाको अधिकार, स्वतन्त्रताको अधिकार, समानताको अधिकार, गोपनियताको अधिकार, सूचना र शिक्षाको अधिकार, विवाह गर्ने नगर्ने वा कहिले गर्ने भन्ने वारेको निर्णय लिने अधिकार, वच्चा जन्माउने सम्बन्न्ध अधिकार, परिवार नियोजनका साधनहरुको छनौट र प्रयोगको अधिकार, स्वास्थ्य उपचार सम्बन्धि अधिकार, वैज्ञानिक आविष्कारकोे उपभोगको अधिकार, संगठनात्मक अधिकार र हिंसा तथा तनावबाट मुक्त हुने अधिकारहरु पर्दछन् । अधिकारका बिषयमा जे जस्ता परिभाषा गरिएपनि चेपाङ महिलाहरुले यस्ता कुनै पनि अधिकारको उपभोग गर्न पाएका छैनन । कलिलै उमेरमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुंदै सन्तान जन्माउन वाध्य हुनु,उपचार र पोषिलो खानेकुरा खान नपाउनु, गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको साटो गह्रुगो भारी वोकेर हिड्नुपर्ने बाध्यता फुलमायाहरुको दैनिकीनै बन्ने गरेको छ ।
सन्तान जन्मनु संसारको नियम भएको एक चेपाङ अभिभावकले वताए । ‘भगवानले जति दिन्छन त्यति हात थाप्नुपर्दछ आफ्नो भए अडिन्छ नभए गाडिन्छ ’ ३४ बर्षिया फुलमाया चेपाङले वताईन । चार छोरी र एक छोराकी आमा फुलमाया सवै सन्तान घरमै जन्माएको बताउंछिन । फुलमायाकी छिमेकी दिलमाया चेपाङको उमेर ३५ बर्ष पुगेको छ उनको पनि छ छोरी र एक छोरा छन । दिलमायाका पति रामलाल ४० बर्षका भए । ब्रुसबाङमा बर्षको ९ महिना खानेकुराको अभाव हुने गरेको भएपनि जनसंख्या भने बर्षेनी बढ्दै गएको छ । सात सन्तान जन्माउंदा शरिर रोगी भएपनि हरेक दिन गाउं देखि तीन घण्टा तल रहेको चोतेसको कुवावाट डोकोमा पानी वोक्दा ज्यानमा निकै पिडा हुने गरेपनि केही उपाय नभएकोले दुःख लुकाउनु परेको दिलमायाले दुःखेसो गरिन । लोग्ने स्वास्नी भएपछि लोग्नेले जे जे गरेपनि चुप लाग्नुपर्दछ भन्ने मान्यता चेपाङ महिलाहरुमा रहेको पाइन्छ । धेरै सन्तान जन्माउनु आमा र बच्चा दुवैको  स्वास्थ्यको लागि राम्रो हुंदैन भन्ने ज्ञानको कमिका कारण ब्रुसवाङका मात्रै होइन अधिकांश चेपाङवस्तीका महिलाहरुले बर्षेनी जसो सन्तान जन्माउन बाध्य हुने गरेका छन । धेरै जसोको सन्तान भने जन्मेर पनि धेरै बर्ष वांच्दैनन । कुनै पनि बच्चा जन्मनु र मर्नुलाई चेपाङ समुदायको भगवानको लिला सम्झन्छन ।
खानेकुराको अभावले गर्दा गाउंका सबै जसो वालवालिका कुपोषित छन । स्वास्थ्य चौकीवाट गाउंमा पुगेर स्वास्थ्य सेवा दिनका लागि जनशक्तिको अभाव हुने गरेको महादेवस्थान  उप स्वास्थ्य चौकीका प्रमुख अहेव ऋषेश्वर शर्मा वताउंछन । बालवालिका तथा गर्भवतीलाई नियमित खोप लगाउन समुदायसंग पटक पटक आग्रह गरेपनि चेतनाको अभाव, आर्थिक विपन्नता र खाद्यान्न संकट  जस्ता कारणले ब्रुसबाङका चेपाङ महिलाहरु स्वास्थ्य सेवा लिन आउन नसकेको शर्माको ठम्याई छ ।
नजिकै कुनै बस्ति नहुनु,गाउंमा खानेपानी र खाद्यान्नको संकट जस्ता कारणले नयां मान्छे ब्रुसबाङ गाउंमा पुगेर वास बस्न कठिनाई हुने गरेको छ । विरामी हुंदा अस्पताल जान मन भएपनि औषधि र खानेकुरा किनेर खाने पैसा साथमा नहुंदा विरामी पर्दा झांक्रीलाई देखाएर चित्त बुझाउनु परेको पुर्वजनप्रतिनिधी सिद्धीवहादुर चेपाङले वताए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ३ श्रावण बिहीबार ११:५८ मा प्रकाशित