महिला मानवअधिकार रक्षकमाथी दुर्व्यबहार

485 पटक पढिएको

सम्पादक: Dhadingnews.com

महिला मानवअधिकार रक्षकमाथी जिल्ला प्रहरी कार्यालयमा भएको दुर्व्यबहारको बिरुद्दमा आज बुझाईएको ध्यानकर्षण पत्र

                                                                                                   मिति ः २०७०।४।३

श्री प्रहरी नायव उपरिक्षक ज्यु

जिल्ला प्रहरी कार्यालय धादिङ

                                                विषय ः ध्यानकर्षण सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस कार्यालयमा मिति २०७०।३।३१ गते नीलकण्ठ गाविस वडा नं २ पौवा वस्ने पार्वती वाँनियाँले यस संजालमा आफुमाथि आफ्नो श्रीमान प्रहरीमा कार्यरत सानुबाबु वाँनियाले ३ वर्ष देखि खान लाउन नदिएको र पटक पटक मार्ने धम्कि दिएको भन्दै सहयोगका लागि आग्रह गरेपछि हामीले उनको सहयोगका लागि जिल्ला प्रहरी कार्यालयमा गएको वेला उनको श्रीमान सानुबाबुले महिला मानवअधिकार रक्षक गायत्री खतिवडा र खिलकुमारी तिवारीलाई “ मेरो घरको केशमा बोल्न आउनेहरुलाई पनि राम्रो हुनेछैन, मेरो स्वास्नीको पछि लाएर आउने तिमीहरु पनि मेरो स्वास्नी जस्तै भएर आ’को त हो नी, तैंले मलाई चिनेको छैनस् म को हो , मैले तँ जस्ता ३÷४ जनालाई मारेको छु, हात काटिदिएको छु , तैले मलाई के गर्न सक्छस्, म पुलिस हो, म संग ठूलो स्वरले बोल्ने? म संग पेस्तोल छ, तँ को संग बोल्दैछस् याद गर, म पुलिस हो भन्दै झम्टिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ ।

महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालले २०६६ साल देखि निरन्तर महिलामाथि हुने हिंसा विरुद्ध काम गरिरहेको छ । हिंसा पीडित महिलाहरुको न्यायका लागि सहयोग गरिरहेको छ । हाम्रो कामले प्रहरीलाई पनि सहज र सहयोग भएको छ भन्ने आशा हामीले गरेका छौं । महिला मानवअधिकार रक्षकहरुमाथि कुनै पनि किसिमको समस्या पर्दा उनीहरुमाथि हिंसा हुँदा वा जोखिम हुँदा उनीहरुको संरक्षण गर्ने दायित्व प्रहरीको हो । तर जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुकै अगाडी एकजना प्रहरीले नै महिला मानवअधिकार रक्षकहरुलाई केसमा छलफल गर्न पीडितलाई सहयोग गरेकै आरोपमा तथानाम गाली वेइजती गर्ने र हातसमेत हाल्न खोज्ने गर्दा पनि प्रहरी नतमस्तक वनेर हेरिरहनु र महिला मानवअधिकार रक्षकहरुको सुरक्षा र सम्मानका लागि केही कदम नचालिनुले हामीलाई अझै धेरै दुःखी वनएको छ ।

हामी हरेक कार्यमा प्रहरीसंगै मिलेर काम गरिरहेका छौं र हामीले प्रहरी र हाम्रो एउटै लक्ष्य महिला हिंसा अन्त्य र महिलाहरुको न्याय हो भनेर लागिरहेका छौं तर हामीलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुकै उपस्थितीमा एउटा प्रहरीबाटै दुर्व्यवहार गरिन्छ भने हामीले आफुलाई अन्त कहाँ सुरक्षित महसुस गरेर काम गर्न सक्छौं भन्ने प्रश्न हाम्रो विचमा उव्जीएको छ । त्यसैले यो घटनाप्रति यस कार्यालय प्रमुखको हैसियतले यहाँको ध्यानकर्षण गराउँदै उक्त सानुबाबु वाँनियालाई तत्काल कार्वाहीको लागि प्रकृया अगाडी वढाउनका लागि अनुरोध गर्दछौं । र आउँदा दिनमा कुनै हिंसा पीडित महिलाहरुलाई न्यायका लागि सहयोग गरेकै आधारमा यहाँकै कार्यालय भित्र हामीले दुर्व्यवहार सहनु पर्ने र प्रहरीहरु नतमस्तक वनेर निरिह बन्ने अवस्थाको सृजना नहोस् भन्ने आग्रह गर्न चाहान्छौं ।

 

 

…………………

(अम्बिका रुपाखेती)

अध्यक्ष