बाबुको उपचार गर्न गएका दुर्गाप्रसाद आफैं २६ महिनादेखि अस्पतालमा

958 पटक पढिएको

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार ०६:२१

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्ज। न्युरो वार्डको बेड नम्बर ४१ मा उपचाररत छन्, धादिङका ४५ वर्षीय दुर्गाप्रसाद तिवारी। श्रीमानको सेवामा दिनरात खटिएकी छिन्, ४१ वर्षीया सकुन्तला।

गाह्रो हुँदा आइसियू र भेन्टिलेटर चाहिने दुर्गाप्रसादलाई अहिले टिचिङ अस्पताल न्युरो वार्डको निःशुल्क वार्डमा राखिएको छ । गाडी दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेपछि २६ महिनादेखि दुर्गाप्रसादको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ।

दुर्गाप्रसादको रेखदेखमा श्रीमतीसँगै दुई छोरी पनि छन्। सरसफाइमा कमी हुन दिएका छैनन् उनीहरुले। श्रीमान्को स्वास्थ्यमा सुधार हुने आशाले समयसमयमा आफैं थेरापी गरिदिन्छन्। सकुन्तला श्रीमान्लाई कहिले मुट्ठी खोल्न भन्छिन् त कहिले जिब्रो देखाउन भन्छिन्। ज्ञानी बच्चा जस्तै आज्ञा पालन गर्छन् दुर्गा। ‘श्रीमान्लाई निको बनाएर ह्विलचियरमा बस्नेसम्म बनाउन सके जीवनभर सेवा गर्ने थिएँ,’ सकुन्तला भन्छिन्।

बुबाको उपचार गराउन आउँदा आफैं बिरामी
धादिङका ४५ वर्षीय दुर्गाप्रसाद तिवारी पेसाले कानुन व्यवसायी हुन्। नेपाल बार एसोसिएसन धादिङको पूर्व जिल्ला अध्यक्ष समेत रहेका दुर्गाप्रसादको चार जनाको परिवार थियो। दुई छोरी र श्रीमतीलाई काठमाडौं राखेर उनी आफू धादिङबेसीमा वकालतको काम गर्थे ।

दुर्गाप्रसादका बुबा लामो समयदेखि दमका बिरामी थिए। बेलाबेलामा काठमाडौँमा उपचार गर्न ल्याइराख्थे। एकदिन बुबालाई एक्कासि दमले च्यापेपछि उनले एम्बुलेन्स बोलाएर राति नै काठमाडौं ल्याए। बुबालाई उपचार गर्न काठमाडौं ल्याउँदै गर्दा उनीहरु चढेको एम्बुलेन्स दुर्घटनामा पर्‍यो।

२०७४ वैशाख १३ गते रातिको २ बजेको थियो। धादिङबाट काठमाडौं आइरहेको एम्बुलेन्सललाई एक्लेफाँट भन्ने ठाउँमा ट्रकले ठक्कर दियो। ‘रोकिराखेको ट्रकमा एम्बुलेन्स ठोक्कियो, उहाँको टाउकोमा गम्भीर चोट लाग्यो,’ घटनाका बारेमा सकुन्तलाले भनिन्, ‘एम्बुलेन्समा अरु पाँच जना पनि थिए, तर उहाँहरु सामान्य घाइते भए।’

बुबाको स्वास्थ्य उपचारका लागि काठमाडौं आइरहेका दुर्गा आफैं गम्भीर घाइते भएर कोमामा पुगे। ‘उहाँलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइयो, उहाँको दुवै करङ भाँचिएको, कानमा चोट लागेको र टाउकोमा गम्भीर चोट लागेकाले तुरुन्त अप्रेसन गर्नुपर्ने डाक्टरले बताएका थिए, तर अप्रेसन भने दोस्रो दिन मात्र भयो,’ सकुन्तलाले भनिन्।

मान्छेको अति संवेदनशील अंग मानिन्छ, मस्तिष्क। दुर्घटनामा परेका दुर्गाप्रसादको मस्तिष्कका दुवै हड्डी भाँचिएको चिकित्सकले बताए। एक पक्षको हड्डीको अप्रेसन गरेर कृत्रिम हड्डी राखिएको छ भने अर्को हड्डीको शल्यक्रिया गर्न बाँकी नैै छ।टाउकाको चोट भएकाले फिजियोथेरापी गराइरहनुपर्छ। यस क्रममा उनलाई ब्लु क्रस अस्पताल, चिरायू, शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र सहारा गरेर धेरै वटा अस्पताल पु¥याइयो। २६ महिना त अस्पताल धाउँदाधाउँदै बिते। तर अझै स्वास्थ्यमा सुधार आएको छैन।

१६ महिनापछि बल्ल बोले
फिजियोथेरापी गर्न थालेपछि दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइरहेको थियो। मान्छे नचिने पनि भेट्न आउनेहरुसँग भने मजाले कुराकानी गर्थे। श्रीमतीलाई भने उनी सजिलै चिन्थे, त्यसैले श्रीमती आएको देखेपछि मेरो महारानी आयो भनेर ठट्टा पनि गर्थे। उनले आफूलाई मनपर्ने गीत गाउने र श्रीमतीसँग दोहोरी खेल्न थालेका थिए।

‘फिजियोथेरापी गर्न थालेपछि हिँडडुल गर्न नसके पनि आफूलाई मनपर्ने गीत गुनगुनाउने, हाँस्य टिभी सिरियल हेरेर हाँस्ने गर्नुहुन्थ्यो,’ सकुन्तलाले सुनाइन्, उहाँको बन्द आवाज सुन्न १६ महिना कुुनुप¥यो। त्यो क्षण असाध्यै खुसी भयौं।’

बोल्दाबोल्दै बेहोस्  भए
शिक्षण अस्पताल महाराजगञ्ज ल्याउनुभन्दा अघिल्लो रात तिवारी परिवार सिरिएल हेरिरहेको थियो। गीत गाउने र हसिमजाक चलिरहेको थियो। श्रीमानको सुध्रिँदो स्वास्थ्य अवस्थाले सकुन्तला मात्र होइन, छोरीहरु पनि खुसी थिए। तर त्यो खुसी लामो समय टिकेन। दुर्गाप्रसाद एक्कासि कामेर बेहोस्  भए।

लामो समयसम्म सिजर आएकाले उनको स्वास्थ्य अवस्था फेरि पुरानै अवस्थामा पुग्यो। उनको बोली हरायो। हँसिला दुर्गाप्रसाद बोल्नै नसक्ने भए। तत्कालै उनलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो। ‘आइसियुमा बेड खाली थिएन। एकदिन इमरजेन्सीमै राखियो, अर्को दिन मात्र आइसियुमा राख्याौं,’ सकुन्तलाले भनिन्, ‘त्यसपछि अस्पतालमैं छौं, सुधार भएको छैन।’

चिकित्सकले दुर्गाप्रसादलाई पहिलाकै अवस्थामा फर्काउन चमत्कार नै हुनुपर्ने बताएका छन्। ‘डाक्टरहरुले त राम्रो हुने सम्भावना छैन भनिरहेका छन्, तर मैले भने हार खाएकी छैन,’ सकुन्तलाले आत्मविश्वासका साथ भनिन्, एकदिन उहाँ निको हुनुहुन्छ र म घर लैजान्छु।’

दुई वर्ष बितिसक्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि धेरैले सकुन्तलालाई अब आश नगर्न सुझाएका थिए। ‘सबैले पशुपति लैजा भन्छन्, तर सास रहेसम्म आश हुन्छ, म अझै पनि मेरा श्रीमान् निको हुन्छन् भन्ने सोच्छु,’ उनले भनिन्। फिजियो नगरेपछि छातीमा कफ जम्मा भएर बेलाबेलामा निमोनियाको संक्रमण पनि हुन्छ। त्यसपछि आइसियुमा लगिहाल्नुपर्छ।

दुर्गाप्रसादलाई पाइपको माध्यमबाट खाना खुवाउनुपर्छ। डाक्टरले बिरामी हेरेर कुन बिरामीलाई कस्तो खाना चाहिन्छ भनेर लेखिदिन्छन् र अस्पतालले नै क्यालोरी भएकोे खानेकुरा खुवाउँछ। अहिले दुर्गाप्रसादलाई ३ सय एमएलको दरले दिनमा १० पटक खुवाउनुपर्छ। त्यसका अलावा दुध, प्रोटिनयुक्त खानेकुरा, बदाम, ओखर, किसमिस खुवाउनुपर्छ।

अस्पतालको बसाई जति लम्बिँदै गएको छ, खर्च पनि उत्तिकै बढ्दैछ सकुन्तलाको। खेत बेचेर श्रीमान्को उपचार गराइरहेकी छिन् उनले। आफन्तहरुले २ लाख जति सहयोग गरेको उनले बताइन्। आम्दानीको स्रोत केही नहुँदा अबको जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ता छ सकुन्तलालाई।

सकुन्तला पनि दुर्घटनामा
दसैंको फुलपातीको दिन आवश्यक सामान किन्न न्युरोड जाँदा उनी चढेको ट्याम्पु दुर्घटनामा प¥यो। उनको हिपको हड्डी भाँचियो र मसल पनि फाट्यो। आफूसँग छुट्टै भर्ना भएर उपचार गर्ने खर्च नभएकोले श्रीमान्कै बेडमा बसेर उपचार गराइन्। दुई छोरीले तीन महिनासम्म आमाबुबाको स्याहार गरेको सकुन्तलाले सुनाइन्।

तीन महिना उपचार गराइसकेपछि सकुन्तला विस्तारै वाकरको सहायताले हिँडडुल गर्नसक्ने भइन्। अहिले अस्पताल बस्दाबस्दै विभिन्न स्वास्थ्य समस्या आएका छन्। ‘अस्पतालमा दिनभरि उभिनुपर्दा हातखुट्टा सुन्निएका छन्। स्मरण शक्तिमा पनि कमी भएको महसुस भएको छ,’ उनले भनिन्।

पीडामाथि पीडा
२०७२ सालको भूकम्पले धादिङमा भएको घर भत्कियो। सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सहयोग दिने घोषणा ग¥यो। यसका लागि नाम टिपाउनुपर्ने थियो तर श्रीमान्को उपचारमा धाउँदाधाउँदै भूकम्पपीडितले पाउने राहतमा उनको नाम छुट्यो। राहत पाउन गाउँ जानुपर्ने भएकाले सकुन्तला घर जान पाइनन्।

दुर्गाप्रसादका बुबाको गत वर्ष निधन भयो। दमका बिरामी बुबालाई काठमाडौं ल्याउँदा आफै गम्भीर दुर्घटनामा परेका दुर्गाप्रसादलाई बुबाको निधन भएकोबारे जानकारी छैन।

फिस तिर्न नसक्दा सकुन्तलाले जेठी छोरीको १२ पास गरेको सर्टिफिकेट निकाल्न सकेकी छैनन्। जेठी छोरीलाई यहाँभन्दा बढी पढाउने–नपढाउने द्विविधानमा छिन् उनी। कान्छी छोरी एसइई दिएर बसेकी छिन्। उनलाई अगाडि कसरी पढाउने भन्ने चिन्ताले सताएको छ। श्रीमानले जहिले पनि ‘छोरीलाई पढाउनुपर्छ, अरुभन्दा भिन्न र निडर बनाउनुपर्छ’ भन्ने गरेको कुराले भने सधैं घच्घच्याइरहन्छ सकुन्तलालाई।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० जेष्ठ २०७६, बिहीबार ०६:२१ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका.....

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा.....

धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै

धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि  'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात.....

‘लिगलिगे साइकल दौड’मा धादिङ गल्छीका मल्ल प्रथम

गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफमा कार्यरत धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ घर भएका लक्ष्मण.....

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी.....

Categories