कर उठाउन नपाएपछि धादिङका दक्षिणी गाविस बजेट विहीन

615 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, साउन २७ – जिल्लाभित्रबाट निकासी हुने बालुवा, ढुंगा तथा अन्य प्राकृतिक श्रोतमा गाविसले निकासी कर नलिन नपाउने भएपछि धादिङको दक्षिणी क्षेत्रका धेरै गाविसहरु वजेट विहीन हुन थालेका छन् ।

चारवर्ष अघिसम्म गाविस भित्रको प्राकृतिक श्रोतबाट वार्षिक चार करोड रुपैयाँ गाविसमा संकलन गर्दै आइरहेको बैरेनी गाविसको आम्दानी अहिले ४ लाख रुपैयाँमा झरेको छ ।

गाविसलाई कर नलिन जिल्ला विकास समितिले पटक पटक ताकेता गरेपछि गाविसले स्थानीय प्राकृतिक श्रोत साधन निकासी वापत कर लिन छाडेको बैरेनी गाविसका सचिव टुनाबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

जिल्ला विकास समिति धादिङले जिल्ला भित्रवाट निकासी भइरहेका ढुङ्गा, वालुवा, रोडा, स्लेटलगायतका प्राकृतिक श्रोतबाट वार्षिक ७ करोड रुपैयाँ राजस्व संकलन गरिरहेका कारण गाविसले कर संकलन गर्न नपाएको हो ।

गाविसले संकलन गरिरहेको करका विषयलाई लिएर सवोच्च अदालतमा परेको रिटका कारण एक वर्ष अघिनै सर्वोच्चले दोहोरो कर नलिन स्थानीय निकायलाई आदेश दिएकाले जिविसले सर्वाेच्चको त्यही आदेशको पालना गर्न गाविसलाई निर्देशन दिएको जिल्ला विकास समितिका आन्तरिक लेखा परिक्षक अधिकृत हरीपाटा मगरले बताउनुभयो ।

उज्यालो ९० नेटवर्कको कार्यक्रम सुनौलो भविष्य गाउँ बस्ती छर्लङ्गैले आयोजना गरेको सार्वजनिक सुनुवाईमा गाविस कार्यालयबाट प्रवाह भएका सेवा सुविधा, बजेट विनियोजन, कार्यान्वयनका पक्षहरुबारे छलफल भएको थियो ।

कार्यक्रममा यो वर्ष गाविस न्यूनतम कार्य सम्पादनमा असफल भएको तथ्य पनि खुलेको थियो । यस्तै गाविसमा एक शीर्षकमा आएको बजेट अरु नै शीर्षकमा खर्च हुने गरेको तथ्य समेत खुलेको थियो ।

//ujyaaloonline.com