आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी
2271 पटक पढिएको
धादिङ – आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी का रुपमा आजको एकादशीलाई मानिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ।
हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु यसैदिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ।
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल हरुमा मेला लाग्दछ । धादिङको पनि बैरेनीको महेशदोभान, फुलखर्कको गंगाजमुना, खरीको बुङकोटघाट लगायतका महादेबमन्दिरहरुमा मेला लाग्ने गर्दछ । यो बर्ष कोरोना त्रासका कारण ठूलो मेला नलागेपनि रितपूर्वक पर्व भने मनाईदैछ । बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ। हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन्।
भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यो एकादशीमा गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।नेपाली हिन्दु धर्मावलम्बीहरुको लागि आज महत्वपूर्ण पर्व हो । आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।
हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी बिवाह गर्ने परम्परा पनि छ ।
तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।
अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।
आजको दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लाग्छ ।
कसरी गर्ने तुलसी विवाह?
एकादशीको साँझ तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र (चुनरी) ओढाउनु पर्छ । गमलालाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।
त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ ।
त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ र आरती पश्चात विवाहोत्सव पूरा गर्नुपर्छ ।
तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।