धादिङमा सिकाइ उपलब्धि आधा भन्दा कम, खर्च भने पुरा

714 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ विध्यालयमा जाने अनुदान सबै खर्च हुने गरेका तर विद्यार्थीको सिकाइ उपलब्धि भने आधाभन्दा कम हुने गरेकाले शिक्षाको गुणस्तरमा सुधार आउनुपर्ने शिक्षा कार्यालयले जनाएको छ । ।

शिक्षकले अध्यापन गराउने शैली परिवर्तन नगर्ने, कण्ठ गराउने वा शिक्षक नै विद्यालय नआएर विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न नसकेका हुन् । विद्यार्थीले १०० प्रतिशत सिकाइ उपलब्धि हासिल गर्नुपर्नेमा  ४५ दशमलब ५ प्रतिशतमात्र सिकाइ उपलब्धि रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव जनार्दन रिजालले बताउनुभयो ।

प्राथमिक तहमा ३६.५ प्रतिशत, निमावि तहमा ४४.४ प्रतिशत र मावि तहमा ४५.५ प्रतिशत मात्र सिकाइ उपलब्धि रहेकाले यसलाई तत्कालै सुधार गर्नुपर्ने आवश्यकता रहेको रिजालको भनाइ छ । नेपालीभाषी भएर पनि नेपालीमा सिकाइ उपलब्धि लाजमर्दो किसिमको रहेको शिक्षक नै बताउँछन् । प्राथमिक तहमा ४९.५ प्रतिशत, निमावि तहमा ४४ प्रतिशत र मावि तहमा ४५.३ प्रतिशत मात्र सिकाइ उपलब्धि हुनालाई नेपाली अध्यापन गराउने शिक्षकले पनि आफूहरुको योग्यतामाथि प्रश्न गरेको बताएका छन् ।

कुनै पनि विषयमा सिकाइ उपलब्धि ५० प्रतिशत पनि नभएकाले सरकारले गरेको लगानीलाई सदुपयोग नभएको अभिभावकको भनाइ छ । मावि तहमा सिकाइ उपलब्धि खस्किँदै जाँदा विद्यार्थीले नतिजा हासिल गर्न सकेका छैनन् । माध्यमिक तहमा अङ्ग्रेजीमा ४४ प्रतिशत, गणितमा ४२ प्रतिशत, विज्ञानमा ४५.७ प्रतिशत र सामाजिक अध्ययनमा ४० प्रतिशत मात्र सिकाइ उपलब्धि रहेको उपसचिव रिजालले बताउनुभयो ।

आगामी वर्षदेखि सिकाइ उपलब्धि बढाउन शिक्षकलाई मात्र होइन सरोकार भएकालाई समेत तालिम दिइने र नयाँ योजना ल्याइने जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताउनुभयो । यस वर्षदेखि जिल्ला शिक्षा कार्यालयले तथ्याङ्क सत्यापनका लागि २० स्रोत केन्द्रमा २०  टोली बनाएर परिचालन गरेको जनाएको छ ।