डुण्डुरेको पुलले रुबीभ्यालीमा जोडियो सडक सञ्जाल

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-केशव अधिकारी

धादिङ । धादिङ जिल्लाको उत्तरी भेगका गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको डुण्डुरेमा पक्की पुल निर्माण भई सञ्चालनमा आएको छ ।

सदरमुकाम धादिङबेँसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको धादिङबेँसी तिप्लिङ सडक खण्डको डुण्डुरेखोलामा पुल निर्माण कार्य सम्पन्न भएको हो ।

खनियाबास गाउपालिका वडा नम्बर ३ स्थित डुन्डुरेमा करिब चार करोड ७४ लाखको लागतमा ५० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको पक्की पुल निर्माण भएको हो ।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)ले डुन्डुरे खोलामा पाई आकारको स्ट्रिल ट्रस्ट ब्रिज बनाएको हो । आरजे कन्स्ट्रक्सन जेभी हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का पाएको पुल एक वर्षअघि नै बनाइसक्नुपर्ने सम्झौता भए पनि विकट भौगोलिक अवस्था, कोरोना कहर जस्ता कारण निर्माण सामग्री ढुवानीमा समस्या, डिजाइनमा सुधार लगायतका कारण  पुल निर्माणमा केही समय ढिलाइ भएको थियो ।

डुण्डुरेमा पुल नहुँदा वर्षा याम लागेपछि उत्तरी धादिङका वासिन्दाले निकै कष्टका साथ पैदलयात्रा गर्दै गन्तव्यमा जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

विकास र अवसरबाट टाढा पारिएको धादिङको उत्तरी भेगका लापा, तिप्लिङ, सेर्तुङका गाउँबस्तीसम्म सडक सञ्जाल विस्तार गर्ने कार्य भइरहेको छ । जिल्लाका उत्तरी भेगका बस्तीसम्म मोटर बाटो विस्तार गर्ने लक्ष्यका साथ सदरमुकाम धादिङवबेँसीबाट साङ्गकोष हुँदै तिप्लिङ जोड्ने सडकको निर्माण कार्यको सुरुवात २०५० सालबाट सुरु भए भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

धादिङबेँसी साङ्गकोष तिप्लिङ सडक नाम दिइएको उत्तरी धादिङ जोड्ने सडक निर्माण कार्यका नाममा बर्सेेनि करोडौँ रुपैयाँ लगानी भइरहे पनि वर्षा याम लागेपछि मोटर गुड्न नसक्दा विकटका वासिन्दाले निकै सास्ती खेप्नु परेकोमा अब भने त्यो समस्या नआउने झार्लाङका राजनीतिक कार्यकर्ता मंग तामाङको भनाइ छ ।

पुल निर्माण हुनुअघि साविकको पाँचवटा गाविस तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँ र झार्लाङसम्म मोटरबाटो नजोडिएका कारण सदरमुकामबाट गएका सवारीसाधन दार्खाको डुण्डुरेखोलासम्म पुगेर रोकिने गर्दथे । डुण्डुरेमा पुल नबनेकै कारण उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकाअन्तर्गत पर्ने साबिकको तिप्लिङ, सेर्तुङ, लापा र खनियाबास गाउँपालिकाअन्तर्गत पर्ने झार्लाङ जिल्ला सदरमुकामसँग सडक सञ्जालमा जोडिन सकेको थिएन ।

सेर्तुङको बोराङसम्म सडक खनिए पनि डुन्डुरे खोलामा पुल नहुँदा सवारीसाधन खोलावारी नै रोकिने गरेका थिए । यात्रुवाहक जीप र बसले यात्रुलाई डुन्डुरेसम्म मात्रै पु¥याउने गरेकोमा अब सेर्तुङसम्म मोटर चल्ने भएको छ । मोटर चलेपछि गाउँबासीलाई चाहिने खानेकुरा, निर्माण सामग्री तथा दैनिक उपभोग्य अन्य सामान ढुवानीमा सजिलो हुने भएको छ ।