विवाह नगर्नेहरु विकल्पमा के गर्छन्

569 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, /सबैलाई थाहा छ कि विवाह वंश विकास र निरन्तरताको महत्वपूर्ण पाटो हो ।

एउटा पुस्ताबाट अर्को पुस्तामा जाने प्राकृतिक रुप र जीवनलाई सफलतापूर्वक बिताउने भरपर्दो आधार पनि विवाह हो । सामाजिक रुपमा हेर्दा विवाह एक सामाजिक र पारिवारिक बन्धन पनि हो भने मनोवैज्ञानिक रुपमा प्राकृतिक र जैविक आवश्यकता ।

नेपालमा भने विवाहलाई सामाजिक र पारिवारिक छविसँग जोडेर हेरिन्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा विवाह प्राकृतिक र जैविक पाटो हो । एउटा वंशबाट अर्को वंशमा जानु हो । यसका लागि अर्को महत्वपूर्ण क्रियाकलापलाई पनि संगै लिईन्छ, त्यो हो शारीरिक सम्पर्क ।

धार्मिक रुपमा पनि शारीरिक सम्पर्क अर्थात यौनलाई महत्व दिइएको पाइन्छ । हिन्दु धर्ममा भगवान मानिने महादेवको यौनप्रतिको चाहना, कृण्णका १६ सय गोपिनी र रामले सीताप्रति गरेका शंकाबाट पनि हिन्दू धर्ममा यौनको आवश्यकता कति रहेछ भन्ने थाहा हुन्छ ।

यौन अर्थात शारीरिक सम्बन्धमा अरुभन्दा कट्टर मानिने मुस्लिम धर्ममा अल्लाहको ईच्छालाई जोडेर गरिने यौनका कुराले पनि यौन र विवाहको महत्वलाई पुष्टि गर्छ ।

धार्मिक मात्र होइन, धर्मलाई अफिमको रुपमा लिने माक्र्सले पनि विवाह र यौनलाई अनिवार्य जैविक आवश्यकता मानेका छन् । उनले यौन आवश्यकतालाई दबाएर राखेमा त्यो कुनै न कुनै रुपमा बाहिर आउने अर्थात बिस्फोट हुनेसम्मको खतरा आंैल्याएका छन । त्यसैले विवाह यो सबैका लागि जैविक आवश्यकता हो ।

कहिले गर्ने त विवाह ?

विवाहको लागि सामान्यतया २० देखि ३० वर्षको उमेर उपयुक्त मानिन्छ । नेपालको कानुनले केटीको लागि १८ र केटाको लागि २० वर्षपछि विवाहको लागि उपयुक्त उमेर मानेको छ । मुलुकी ऐन अनुसार अभिभावकको स्वीकृतिमा विवाह गर्न महिला र पुरुष दुवैको उमेर १८ वर्ष तथा अभिभावकको स्वीकृतिविना विवाह गर्न २० वर्ष पुगेको हुनुपर्छ  ।

तर नेपालमा पश्चिमा देशहरुमा भन्दा कम उमेरमा समेत विवाह गर्ने चलन छ । तथ्याङ्क विभागका अनुसार नेपालमा महिलाले सरदरमा १९ दशमलब ५ र पुरुषले २२ दशमलब ९ वर्षको उमेरमा विवाह गरिसक्छन ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विवाहका निम्ति उमेर १८ वर्ष हुनुपर्छ । २० देखि ३० वर्षसम्मको उमेरमा जन्मेका बालबालिका र आमाहरु स्वस्थ्य हुने संगठनको भनाई छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समान्यतया २० वर्षदेखि ३० वर्षसम्मको उमेरलाई विवाहका लागि उपयुक्त मानेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काम गरेको अनुभव भएका डां गोबिन्द ओझा भन्नुहुन्छ ‘विवाह १८ वर्षदेखि ३५ वर्षभित्रै गर्नुपर्छ । तल्लो उमेरको हदमा कानुनी रुपमा किटान भएपनि माथिल्लो उमेरबारे भने केही भनिएको छैन ।
कानुनले केही नभेपनि चिकित्सकहका अनुसार ३५ वर्षपछि विवाह गर्दा सन्तान उत्पादनमा नराम्रो असर पर्छ, फलस्वरुप पारिवारीक झमेला समेत आईपर्छ ।’

त्यसैले नेपालमा सामान्यतया ३५ वर्ष उमेर नाघेकालाई विवाह नगरेका भन्न मिल्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

नेपालको जनगणना २०६८ अनुसार विवाह गर्न योग्य उमेर भएका ७३ लाख ८३ हजार १ सय ८६ जना अविवाहित छन् । अनुमान अनुसार ३५ वर्ष नाघेका एकसय महिलामध्ये झण्डै ४/५ जनाले र एकसय पुरुषमा ३ जनाले विवाह गर्दैनन् ।

विवाह नगर्नुको कारण

विवाह सामाजिक, पारिवारीक र आर्थिक बन्धन पनि हो । यस्तो बन्धनमा बाँधिनु जो कसैका लागि पनि चुनौती विषय हो । जब उमेर पुग्छ, अनि सबैलाई विवाहबारेको चासो बढ्न थाल्छ । उसले धेरैलाई हेर्छ ।

आफूलाई बिभिन्न ठाउँमा राखेर उसले आफैंले पनि हेर्न थाल्छ ।  अनि उसले आफ्नो अगाडि थुप्रै समस्याको पहाड देख्न थाल्छ । त्यसपछि विवाह झट्ट निर्णय लिने कुरा होइन भन्ने निष्कर्षमा ऊ पुग्छ । धेरै सोच्दासोच्दै उसको विवाह गर्ने उमेर बिस्तारै ढल्कदै जान्छ ।

अनि निष्कर्षमा पुग्छ, यो समस्यामा नफस्नु राम्रो छ । मनोविश्लेषक डा चिरन्जीवी नेपाल भन्नुहुन्छ ‘सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा जीवनयापन गर्न सकिँदैन कि भनेर धेरैले विवाह गर्दैनन् । कतिपयले आफ्ना साथीहरुको वैवाहिक सम्बन्ध र आफ्ना नजिकका जस्तै आमाबाबु, छर छिमेकीको नराम्रो सम्बन्धलाई पनि नियालेका हुन्छन् । एकथरीको वातावरणमा हुर्केकालाई अर्को खालको बानी, व्यवहार र रहनसहनमा परिवर्तन हुनुपर्ने कारणले बोझ लाग्छ ।’

मनोविश्लेषक नन्दिता शर्मा पनि यसै भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘जब विवाहपछि आफूले सोचेजस्तो गर्न सकिँदैन की भन्ने भित्री मनमा डर हुन्छ, एकआपसमा सम्बन्ध बिग्रियो भने के गर्ने भन्ने सोच्न थाल्छन्,  तब कतिपय बिवाह गर्दिन भन्ने निष्कर्षमा पुग्छन् । नजिकैको साथीको अर्को विपरीत लिङ्गीप्रतिको सम्बन्धलाई केलाएर हेर्यो भनेपनि मानिसलाई विवाह गर्न डर लाग्छ । अनि उनीहरु विवाहबाट टाढिन्छन् ।’

विवाह नगर्नेहरु के गर्छन् त ?

यौन शारीरिक, मानसिक र सामाजिक रुपमै अनिवार्य कुरा हो । तर विवाह नगर्नेहरुले आफूलार्ई ‘सेक्स’ को जरुरत पर्दैन भनेर दावी गर्छन । तर यस्तो दावी केवल बाहिर देखाउनको लागि मात्र हो  मनोविश्लेषक डा नेपाल भन्नुहुन्छ ‘सेक्सको चाहना नहुने भन्ने बिल्कुलै होइन । यतिसम्म अत्यावश्यक हो की संसारमा अहिले जसले सेक्सुअल रिलेसन राख्दैन, त्यो मान्छे मनोविकृतिमा परिणत हुन्छ । त्यसैले यौनलाई अनिवार्य र अतिआवश्यक अन्तर्गत राख्नुपर्छ ।’

यसकारण पनि विवाह नगरेकाहरुले कुनै न कुनै रुपमा ‘सेक्सुअल’ आवश्यकता पूरा गर्छ । विश्लेषक शर्मा भन्नुहुन्छ ‘विवाह नगरेकाहरुले बाहिर थाहा नपाउने गरी श्रृजनात्मक अरु कामबाट समेत  त्यो आवश्यकता पूरा गरेका हुन्छन् । श्रीमान–श्रीमती नभएपनि सेक्सका माध्यमहरु उनीहरुले खोजेका हुन्छन् । कसै न कसैसँग सम्बन्ध राख्न पाए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको हुन्छ ।’

डा नेपालका अनुसार विवाह नगर्नेहरुले कल्पना गरेर, नग्न फोटोहरु हेरेर, पुस्तक पढेर, अरुका कुरा सुनेर आनन्द लिने गर्छन् । कतिपयले त विवाह गरेका जोडीलाई हेरेर पनि आनन्द लिन सक्छन् । धेरैले आफ्ना यौनाङ्ग चलाएर अर्थात हस्तमैथुन गरेर सन्तुष्टी लिने गरेको विज्ञहरु बताउँछन् ।

विवाह नगर्नेहरुको स्वभाव !

सामान्य मान्छे भन्दा उनीहरुको स्वभाव फरक खालको हुन्छ । मनोविदहरुका अनुसार ‘सेक्स’ नगर्नेहरु झर्किने, रिसाउने, अरुलाई विश्वास गर्न नसक्ने स्वभावका हुन्छन् । प्रकृति विरुद्धको काम भएकाले उनीहरु अरुभन्दा व्यवहारिक रुपमा अलि पछि पर्छन् ।

मनोविश्लेषक नेपालका अनुसार विवाह नगर्नेहरुले कुनै न कुनै प्रकारबाट वैवाहिक सन्तुष्टी लिएर अघि बढ्यो भने ऊ उदाहरणीय बन्छ । त्यस्ता मान्छे तिक्ष्ण स्वभावका हुन्छन् । ‘उग्र, स्वाभाव, तिक्ष्णता, आफ्नो प्रवृति, प्रकृति, ईन्टेन्सन, एटिच्यूट, एक्टिच्यूट आफ्नो नियन्त्रणमा राख्यो भने त्यस्ता मान्छेबाट अरु सामान्य मान्छेहरुबाट भन्दा ठूलो फाईदा लिन सकिन्छ । तर नियन्त्रणमा रहेन भने ऊ पागल नै भएर हिँड्छ’ उहाँले भन्नुभयो ।

रोसन पुरी/उज्यालो अनलाइन बाट