मिरुना प्रकरणले उदाङ्गो पारेको एक चुनौती र अवसर

1003 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– वाङ्ग्यल लामा

जेठ १५ गते गणतन्त्र दिवसको दिन सिभिल मलमा भएको घटनाको तरङ्ग र यसले निम्त्याउन सक्ने सम्भावित दुर्घटना परिकलपना गर्ने हो भने हाम्रो न्यायीक र प्रशासनीक व्यवस्था अझै पनि अव्यवस्थित र पुरातनबादीमात्रै नभई यो पूर्णरुपमा भीड़तंत्रबाट निर्देशित छ। त्यसको बुझाई सर्वसाधारण जनमानसमा एक किसिमले गयो होला तर यस्तो गम्भीर र संवेदनशील विषयमा प्रशासनतन्त्र चुक्नु र  एकतर्फी हुनु आफैमा खेदजनक र  चिन्ताजनक छ। न्याय र प्रशासन त चुक्यो चुक्यो,  सार्वजनिक वृत्तलाई  प्रतिनिधित्व गर्ने मिडिया पनि पूर्णरूपमा चुक्न  गएको प्रष्ट देखिन्छ।

हालसम्म प्राप्त भिडिओ-क्लिपहरुलाई आधार मान्ने हो भने भिक्षु फुर्बा लामा न त दोषी देखिन्छन् न त निर्दोष नै। पत्रकार विश्व लिम्बूका अनुसार अभिनेत्री मिरुना मगरसँग यदि भिक्षु दोषी देखिने कुनै प्रमाण छ भने चाँडो प्रसारण गरियोस् ता कि यसले सिर्जित सम्भावित सामाजिक समस्याहरुको दुरी थप नटाढियोस। अहिलेसम्म पक्ष- विपक्षमा भएका थुप्रै टिक्का-टिप्पणी, लेख र भिडियो अन्तर्वार्ताहरु हेर्दा एकअर्कोलाई दोषी देखाउने बाहेक अरु खासै केही भेटिदैन। तर उल्झनलाई सुल्झाउनका लागि सायदै केहि टिप्पणी पाँए। भुवलडाँडा, बौध्द-०६ स्थित बौध्द महासंघको कार्यलयभवन अगाडी प्रदर्शनकारीको सङ्ख्या भन्दा परिचालित प्रहरी-सुरक्षाकर्मी बढी भएको दृश्यले विषयवस्तुको गम्भीरतालाई अापतकालीन ठाँने र तत्परताका साथ यस घटनाबारे लेख्न जरुरी बुझे देखे ।

यस विषयमा अहिलेसम्म मैले सरसर्ती अध्ययन गर्दा उल्लेख गर्न योग्य  दुईवटा लेख लेखिएको भेटे; पहिलो बिश्व लिम्बूको म्याजेस्टिक खवरमा (जो अहिले यस प्रकरणमा मुछिएको छ) र दोस्रो पत्रकार बसन्त बस्नेतको शिलापत्रको लेख।बिश्व लिम्बू जसलाई भिक्षु र नायिका बिच सहमतिपत्रको मस्यौदाकारको अारोप छ । उहाँलाई भित्री अन्तरवस्तुका केही जानकारी भएतापनि सतही टिप्पणी गरेका छन् भने बसन्त बस्नेतले हल्का जानकारीको माध्यमबाट गम्भीर पाटो प्रसट्याउन खोजेका छन्। दुबै जनाको अालेखमा सामान्य जानकारी सिवाय अरु केहि भेटिदैन र दुबै जनाले भिक्षुलाई एकपक्षिय रुपमा दोषी देखाउनु बाहेको खासै नयाँ कुरा गरेका छैनन्। यध्यपि दुबै जनाले मिडिया उपभोक्तालाई भने राम्रै अाकर्षित गर्न पक्कै सफल रहे। के यो  परिपक्व पत्रकारिता हो ? यो कस्तो किसिमको  खोज पत्रकारिता हो? यो सुचनाको कस्तो गेटकीपिंग हो?

यस घटनालाई सजिलो तवरले बुझ्नलाई दुबै पात्रलाई साधरण व्यक्ति र सार्वजनिक व्यक्तित्वमा वर्गीकरण गरी सम्भावित परिदृष्यको अाँकलन गरौँ। पहिलो, साधारण दुई व्यक्ति बिचको घटना, केटाले यौनजन्य हिंसाको कसुरमा सजायको भागी हुनसक्थ्यो। दोस्रो, भिक्षु र साधारण केटी, केटीले झापड लगाउँथ्यो लगाउँदैनथ्यो अनुमान गर्न गार्हो छ, तर यौनजन्य कसुरमा सजायको भागेदार पकै हुनसक्थ्यो। तेस्रो, साधारण केटो र नायिका, झापड संगै भिडको कुटाईका साथ कानुनी सजायको भागीदार हुनसक्थ्यो र  मिडियालाई मसालेदार समग्री मिल्थ्यो। अन्तिम अवस्था, दुई सार्वजनिक व्यक्तित्व जस्तै भिक्षु र नायिका बिच भए के हुन्छ, भन्न परेन। यहाँ बिचारणीय पक्ष के छ भने, नायिकाले एक साधरण केटामाथि सार्वजनिक स्थलमा झापड हान्नु र गेरु बस्त्रधारी भिक्षुलाई झापड हान्दा कत्तिको फरक हुन्छ । बुद्धिष्ठ नायिकाले भिक्षुलाई दोषी देखी आफ्नो रिस सम्हालन नसक्नु र यसले निम्त्याउन सक्ने परिघटनाहरु बारे अनभिज्ञ हुनु नायिका जस्तो एक सार्वजनिक हस्तिको आवेग्, उग्रता र अपरिपक्व्व मात्र देखाउछ । यस्तो घटनाले किन बिकराल रुप लिन्छ, यसको लागि राष्टवादको सैध्दान्तिक पक्ष  र  अबधारणा  छलफल गर्नुपर्ने  जरुरी देखिन्छ ।

राष्ट्रवाद बहुरुपी अनि बहुआयामिक  हुन्छन्। नेपालको हकमा धार्मिक, जातीय, भाषीक , लैंगिक, साँस्कृतीक र भूगोल राष्ट्रलाई प्रतिनिधित्व गर्ने प्रमुख घोतक हरु हुन्। हरेक राष्ट्रवाद बिभिन्न मित्थक, कथा, सङ्केत, प्रतिकमा निर्माण भएका हुन्छन। यस्ता प्रतीक अनि चिन्हहरु पबित्र मानिन्छन र यसैको बलमा राष्ट्रवाद अडिएको हुन्छ। झन धार्मिक राष्ट्रवादमा यस्ता अवयवहरु झनै शक्तिशाली हुन्छन। जब-जब यस्ता पवित्र प्रतीक अनि चिन्हमाथि प्रहार हुन्छ तब यस्ता राष्ट्रवादीहरु उर्लिएको इतिहासमा धेरै नजिर छन्। केहि समय अगाडी न्हिउ बज्रचार्यको लुङ्ता प्रकारण होस या अहिलेको अवस्थामा भिक्षुको बस्त्रमाथि प्रहार, यस्ता घटनाले बौद्ध राष्ट्रवाद प्रस्फुटित भएको देखिन्छ ।

एकपटक घटनाको प्रकृति बारे छलफल गरौं। जेठ १५मा घटना भयो र भिक्षुलाई हिरासतमा लगियो। भोलिपल्ट चावहिलको के- एल टावरमा बिरोध प्रदर्शन भयो र त्यसै दिन भिक्षु रिहा भए। घटनाले अर्को रङ्ग लियो जब बिना आवश्यक, सुनियोजित तरिकाले भिक्षुलाई गलत देखाउने गरी भिक्षुसहित उसको पक्षको हस्ताक्षर रहेको सहमतिपत्र सार्वजनिक भयो। सामान्य मानिसलाई पनि यति बुझ्नलाई गाह्रो परेन कि त्यो सम्झौता प्रभाव वा दवावमा गरिएको थियो किनकी हरेक सहमति बराबरी, नाफा घाटाको मुल्याङ्कनसहित गरिन्छ।

भोलिपल्ट भिक्षु समर्थकहरु अलमलमा परेको बुझेँ तर साँझसम्मा सबैजना हस्ताक्षरकर्तालाई स्पष्टीकरण लिने सहमित भयो। अर्को दिन बिहान बौद्ध महासंघको कार्यलयमा छलफल गर्दा समर्थकहरुका अाशंकाअनुरुप उहाँहरुको कमजोरी उदाङ्गो भयो र उपस्थित दुईजनालाई सार्वजनिक माफी माग्न लगाइयो। उनीहरुको बयान अनुसार पत्रकार बिश्व लिम्बू, दुई पक्षबिचको सहमतिपत्रको मस्यौदाकार रहेको पुष्टि भयो तर उनको यस घटनासँग लेनदेन के थियो भन्ने अनुसन्धानको विषय नै रहयो। त्यस दिन सहमति गराएर भोलि नायिकासँग अन्तर्वार्ता गर्दा केहि थाहा नभएको जस्तो गरी नायिकाको एकतर्फी कुरा बाहिर ल्याउनु बिश्व लिम्बुको दोहोरो चरित्र उदाङ्गो गर्दछ। त्यसपछि भिक्षुको भिडियो बयान बाहिर अायो जसले नायिकाको पेशागत भविष्य धरापमा पर्ने भएकाले भिक्षुलाई भावनात्मक प्रभावमा पारी सहमति गराएको प्रष्ट भयो।

नेपालको राष्ट्रवाद, माथि उल्लेखित सबै अायामहरुको सह-सम्मान र सहिष्णुता रहुन्जेल नेपाल साँच्चिकै शान्त बुद्धभूमि रहनेछ। जब कुनै एक सम्प्रदायको अास्थामा चोट पुर्याइन्छ र त्यही सम्प्रदायलाई प्रभावमा दबाईन्छ, तब राज्यको बिरोधमा जनताले अाक्रोस पोख्छन् र त्यस्ले लिने रुप बिकराल हुनसक्छ। गेरुबस्त्रमा लामा, पुरोहित, पास्चर अनि  गुम्बा, मन्दिर, मस्जिद, चर्चहरु जस्ता आस्थाका बस्तु अनि केन्द्रमा, आक्रमणलाई बन्द गरियोस। तसर्थ यस्ता संवेदनशील र आस्थाको महत्व बोकेको प्रतिकात्मक वस्तुको सुरक्षाको सुनिश्चितता कानूनद्वारा गर्नुपर्ने प्रत्याभूतीका साथ यस घटनाले समाजमा रहेको चुनौती उजाँगर गरी समाधानबारे सोच्ने अवसर प्रदान गरेको छ।

           – ( लेखक अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनिति विषयमा स्नातकोत्तर  तहमा अध्ययनरत छन ।)