ऐतिहासिक महत्व जोगाउन सेनाको एकीकरण पदयात्रा

59 पटक पढिएको

प्रकाशित मिति: २०७९, २३ पुष शनिबार ११:४६

सम्पादक: धादिङ न्यूज

 

 

केशव अधिकारी

धादिङ । ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले सञ्चालन हुंदै आईरहेको एकीकरण पदयात्राको चौथो श्रृंखला बिहीबार गोरखा सदरमुकामबाट सुरु भएको छ। ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षउल्ल्लासका साथ मनाउन पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ।
तत्कालिन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाह र उनका फौज ओहोरदोहोर गरेको बाटोलाई एकीकरण पदमार्ग नाम दिईएको हो। पृथ्वी राजमार्ग सञ्चालनमा आउनु अघि विसं २०३१ साल सम्म चलनचल्तिमा रहेको काठमाण्डौबाट नुवाकोट धादिङ हुंदै गोरखा सम्मको पैदलै ओहोरदोहोर गर्ने गरिएको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्गका रुपमा चिनाउँदै आएको छ।
पदमार्गको प्रचारप्रसारका लागि भन्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्म हरेक बर्ष पौष अन्तिम हप्ता पदयात्रा गर्दै आईरहेको छ। पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रम्मा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा सुरु गर्न थालेको हो। गोरखा दरबार बाट पौष २१ गते बिहीवारदेखि सुरु भएको एकीकरणपदयात्रा पौष २७ गते काठमाण्डौं हनुमानढोकामा पुगेर समापन हुनेछ।

 

नेपाली सेनाको गोरखा सदरमुकाममा रहेको रिपुमर्दन गणका ३० जनाको सहभागीता रहेको पदयात्राको टोलीले टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डासहित पदयात्रा सुरु गरेको छ। रिपुमर्दन गणले धादिङको शिवदल गणलाई, शिवदल गणको टोलीले नुवाकोटको जबरजंग गणको टोलीलाई टर्च र झण्डा हस्तान्तरण गर्नेछ। पदयात्रा टोली पुस २७ मा काठमाडौं पुग्नेछ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा पहिलो पटक बिक्रम संवत १८०० मा नुवाकोट माथि हमला गरेपनि सफलता पाउन नसेकेको र १८ सय २ सालमा लामो तयारी सहित हमला गर्दा गोरखाका राजा शाहले नुवाकोट माथि विजय प्राप्त गरेको इतिहास छ। राज्य विस्तारका लागि शाहको फौज हिंडेको वाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग घोषणा गरि संरक्षणका लागि पहल गर्दै आईरहेको छ।

तत्कालीन समयमा काठमाडौको हनुमान ढोका र गोरखा दरवारसम्मको दूरी २६ कोष टाढा रहेको र २६ वटै कोषहरुका कोषेढुंगा गाडिएकोमा ७ वटा कोषे ढुंगा धादिङ जिल्लामा रहेका छनन्। धादिङको सल्यान्टार रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोगटेनी र थर्पुमा कोषे ढुंगा छन्। पदयात्रा टोली यीनै कोषे ढुंगा भएर अघि बढ्नेछ। धादिङ खण्डमा मात्र पदमार्ग कुल ४२ किलोमिटरको दुरी रहेको छ। पौष २१ बाट सुरु भएको पदयात्रा पौष २७ गते पृथ्वीजयन्तीका दिन सकिने छ।

एकीकरण पदमार्गको यात्रा ऐतिहासिक गोरखा दरबारबाट सुरु हुने गर्दछ। गोरखा दरबार नजिकैको हनुमान भञ्ज्याङ, काठमाण्डौको हनुमानढोकाबाट २६ कोसको दुरीमा रहेको छ। त्यहाँबाट पोखराथोक, मेलबिसौना, कोखेआहाले हुँदै झण्डै एक घण्टाको उकालो चढेपछि ताप्लेकोट पुगिन्छ। अहिले गोरखा नगरपालिकाको वडा नम्बर २ मा पर्ने ताप्लेकोट हनुमानढोकाबाट २४ कोसको दुरीमा रहेको जनाउ दिने कोसेढुङ्गा सो ठाउँमा अहिले पनि देख्न सकिन्छ।

ताप्लेकोटबाट आधा घण्टाको ओरालो यात्रा गरेपछि गोरखा–आरुघाट सडक किनारको झिँगटे बजार छ, जुन ठाउँ भीमसेन थापा गाउँपालिकाको सीमाना समेत हो। पदयात्राको दोस्रो दिन बोर्लाङ गाउँबाट १५ मिनेट उकालो चढेर बोर्लाङकोटको अवलोकन गर्दै दोस्रो दिनको यात्रा सुरु हुने गर्दछ। यात्राको क्रममा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको घरको भग्नावशेष बाटो समेत देख्न सकिन्छ। पुराना इँटा र बुट्टेदार काठपात अहिले पनि भग्नावशेष आसपास यत्रतत्र छरिएको देखिन्छ। भीमसेन दरबारबाट केही मिनेटको पैदलयात्रापछि भने पुरानै पैदलबाटो भेटिन्छ र जङ्गलै जङ्गल आधा घण्टाको ओरालोपछि यात्रा टोली बोर्लाङको महादेवटार पुग्दछ।

जङ्गलको बीचमा पनि भीमसेन थापाकालीन हिटी चौतारा, पौवा धारो र पुरानो पौवाको अवलोकन गर्न सकिन्छ भने महादेवटारमा रहेको जागेश्वर माविको आडैमा भीमसेन थापाकालीन पुरानो कलात्मक धारो छ। विसं १८७६ सालमा निर्माण गरिएको धारोमा पानी नआएपनि झण्डै डेढ किलोमिटरपरको मुहानबाट धारोसम्म पानी ल्याउन झिँगटीले बनाइएको नहरको भग्नावशेष भने यात्रा क्रममा देख्न सकिन्छ।

महादेवटारबाट घाटबेसी हुँदै बूढीगण्डकी नदीको झोलुङ्गे पुल तरेपछि पदयात्रा टोली धादिङ जिल्लाको सिमानामा पुग्दछ। धादिङको कछारगाउँ हुँदै यात्राटोली सल्यानटारतर्फ अघि बढ्छ। कछारगाउँमा कुमाल र माझी बस्ती रहेको छ। पैदलमार्गबाट यात्रा गर्नेहरुलाई काठबाट निर्मित डुङ्गाबाट नदी वारपार गराउने गरेको बुढापाका माझीहरु बताउँछन्।
यात्रा अघि बढ्ँदै जाँदा सल्यानटारबाट पौवा डिल–खोल्छी–कुमालखोला हुँदै त्रिपुरासुन्दरीको मन्दिर पुग्दछ। त्रिपुरासुन्दरीलाई घर र माईती आवतजावत गर्ने देवीका रुपमा पनि चिनिन्छ। त्यहाँबाट हाँसे–सुकौरा–खहरे बजार हुँदै खहरेबाट अचने,चरङ्गेफेदी पुगेपछि आधा घण्टाको उकालो चढेपछि चरङ्गे गाउँ पुगिन्छ।

चरङ्गे गाउँबाट केहीबेर उकालो लागेपछि कटुञ्जे बजार पुगिन्छ। भादगाउँबाट बसाइ सरेर आएकाहरुले स्थापित गरेको कटुञ्जे बजारमा बज्राचार्य, शाक्य, मानन्धर, गुभाजू लगायतका समुदायको बसोबास रहेको छ। अहिलेको नेत्रावती डबजोङ गाउँपालिका ५ मा पर्ने कटुञ्जे बजारमै निकै आकर्षक पुरानो पौवा छ। कटुञ्जेबाट सेल्लेबजार भोगटेनी–थर्पु भञ्ज्याङ–र्भयाङभुरुङसम्मको ओरालो बाटो पार गरेपछि धादिङको भूभाग सकिएर नुवाकोटको सीमा सुरु हुन्छ। धादिङ र नुवाकोटलाई जोड्ने गरि विसं १९९० सालमा बनाइएको झोलुङ्गे पुल तरेपछि नुवाकोटको मेघाङ गाउँपालिका प्रवेश हुन्छ। टक्सार गाउँको रुपमा चिनिएको यस ठाउँमा पृथ्वीनारायण शाहले स्थापना गरेको टक्सारको भग्नावशेष समेत देख्न सकिन्छ। त्यहाँबाट मोटरबाटोबाट जोरचौतारा–तिँदूभट्टी हुँदै सामरी भञ्ज्याङ पुगिन्छ।

सामरी भञ्ज्याङ बाट काभ्रेबास, चिलाउनेबास, हुलाकघर, कागुने, देउडी र बागबानी हुँदै त्रिशुलीबजार पुगिन्छ। त्रिशूलीवजार हुंदै सिँदुरेफेदीबाट चतुराले–बरबण्डी हुँदै रानीपौवासम्मको झण्डै चार घण्टाको लगातारको उकालो उक्लिएपछि रानीपौवा बजार पुगिन्छ। रानीपौवाबाट काउलेथाना हुँदै ककनीसम्मै पासाङ ल्हामू राजमार्गको किनारै किनार पदयात्रा अघि बढ्ने गर्दछ।
चिसापानीधारा नजिकैबाट पुरानो पदमार्ग भेट्न सकिन्छ, जुन अहिले पनि चालु छ। चिसापानीधाराबाट आधा घण्टाको यात्रापछि काठमाण्डौ र नुवाकोटको सीमानाको ठूलो खोला तरेपछि पाँचमाने भञ्ज्याङ पुगिन्छ। जहाँबाट काठमाण्डौ उपत्यकाको अधिकांश भागको अवलोकन गर्न सकिन्छ। जीतपुरफेदीबाट धर्मस्थली–बाइपास–बालाजु–सोह्रखुट्टे–क्षेत्रपाटी–नरदेवी हुँदै हनुमानढोका पुगेर ऐतिहासिक एकीकरण पदमार्गको यात्रा समापन हुने गर्दछ।
पृथ्वीराजमार्ग सञ्चालनमा नआउँदा सम्म प्रयोगमा रहेका यिनै पैदलमार्गमा २०३१ साल भन्दा अघि सम्म मानिसहरुको निकै आवतजावत हुने गरेको थियो।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७९, २३ पुष शनिबार ११:४६ मा प्रकाशित