गुणस्तर चिन्ह नलिएका धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै देशका १८ कम्पनीका सिमेन्ट बेच्न रोक

795 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ आफुले  मात्रै गुणस्तरको सिमेण्ट उत्पादन गरेको दाबी गर्दै एकोहोरो प्रचार प्रसारमा लाग्ने गरेका नेपाली सिमेण्ट उत्पादक कम्पनीको यथार्थ सार्वजनिक भएको छ् । धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै  देशका बिभिन्न स्थानमा रहेका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन तथा विक्री वितरणमा सरकारले रोक लगाएको छ ।
कम गुणस्तर सिमेन्ट उत्पादन गरेर विक्री गरेको तथा नेपाल गुणस्तर प्रमाणपत्र चिन्हको इजाजत नलिएका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन र वितरण रोकी कारबाही अघि बढाइएको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।
विभागले तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको सिमेन्ट उत्पादन गरेर विक्री वितरण गर्दै आएको बुटवल सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट उद्योगको उत्पादन र विक्री वितरण रोकेको छ ।
त्यस्तै अनिवार्य रुपमा नेपाल गुणस्तर चिन्ह प्रयोग गरी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्नुपर्नेमा गुणस्तर चिन्हको इजाजत नलिएका तथा चिन्ह प्रयोग नगरेका १६ वटा कम्पनीको उत्पादन र विक्रिवितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार सिजी सिमेन्ट, रोल्पा सिमेन्ट, अरनिको सिमेन्ट, घोराही सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, एमजेपी सिमेन्ट, मारुती सिमेन्ट, कैलाश सिमेन्टको उत्पादन तथा विक्रि वितरण रोकिएको छ ।
त्यस्तै स्टार सिमेन्ट, कृष्ण सिमेन्ट, केपी सिमेन्ट, श्री सिमेन्ट ओम सिमेन्ट र इस्टन कसमस सिमेन्टले गुणस्तर प्रमाणपत्र नलिइएको तथा चिन्ह प्रयोग नगरेको भन्दै उत्पादन र विक्री वितरणमा रोक लगाउँदै कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।