आफ्नो जमिन बाँझै राखेर विदेशमा पसिना

700 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कल्पना खनाल,

नेपालबाट दैनिक हजारभन्दा बढी सख्यामा युवाशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन भइरहेका छन् । जीवनको महत्वपूर्ण ऊर्जावान समय लाखौं नेपाली युवाहरुले विदेशी माटोमा रगत÷पसिना बगाइरहेका छन् । यसरी आफ्नो बल र क्षमता रहुञ्जेल विदेशी भूमिलाई सिगार्नमा व्यस्त युवाशक्तिहरुलाई नेपालमै रोजगारीको सिर्जना गरी रोजगारी दिलाउन हालसम्म कसैको ध्यान जान सकेको छैन । वैदेशिक रोजगारीमा जाने युवाशक्तिको क्रम पछिल्लो समयमा अत्यधिक मात्रामा बढ्दै गएको छ । दैनिक हजारभन्दा बढीको संख्यामा युवाशक्ति विदेश पलायन भइरहँदा पनि ऊर्जाशील श्रमशक्तिलाई स्वदेशमै काम दिनेतर्फ कसैको ध्यान जान सकेको छैन  ।

अहिले नेपालका गाउँगाउँमा युवाभन्दा बुढापाका र बालबच्चाको अनुहार बढी देखिने गरेको छ । यसरी वैदेशिक रोजगारीमा आकर्षित युवाशक्तिले नेपाल होइन विदेशि भूमि सिगारिरहेको सत्य सबैलाई थाहा छ । वार्षिक लाखौं संख्यामा युवाशक्ति पलायन भएर अहिले गाउँघरका ६० प्रतिशत जमिन बाँझै रहेका देखिन्छन् ।  जसले गर्दा आगामी दिनमा ठूलो दुर्घटना नआउला भन्न सकिन्न । वार्षिकरुपमा हेर्ने हो भने आर्थिक वर्ष २०५०÷०५१ देखि नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाशक्तिको संख्या हेर्दा निकै वृद्धि भएको छ । जसमा आर्थिक वर्ष २०५०÷५१ सालमा जम्मा २ हजार ६ सय ५ जना व्यक्तिहरु रोजगारीको सिलसिलामा विदेशिएका थिए । त्यसपछि २०५१÷५२ देखि आर्थिक वर्ष २०५३÷५४ सम्म वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्यामा खासै वृद्धि नभए पनि आर्थिक वर्ष २०५३÷५४ मा ३ हजार २ सय ५९ जना व्यक्तिहरु विदेशिएको पाइन्छ ।

त्यसैगरी आर्थिक वर्ष २०५४÷५५ मा ७ हजार ७ सय ४५ जना व्यक्तिहरु नेपालबाट रोजगारीको सिलसिलामा विभिन्न देशमा गएको पाइन्छ । यसपछिका वर्षहरुमा विदेशिने नेपालीको संख्या उल्लेख्यरुपमा बढेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५५÷५६ मा २७ हजार ७ सय ९६ जना, आर्थिक वर्ष २०५६÷५७ मा ३५ हजार ५ सय ४३ जना र  आर्थिक वर्ष २०५७÷५८ मा ५५ हजार २५ जना युवाहरु कामको सिलसिलामा विदेश गएका छन  । यो समयमा देशमा चरम राजनीतिक अस्थिरता, श्रम समस्या, द्वन्द्व, रोजगारीको अभाव जस्ता कारणले नेपाली युवा विदेशिएको विज्ञको धारणा छ । त्यस्तै आर्थिक वर्ष २०५८÷५९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो वृद्धि भएर १ लाख ४ हजार ७ सय ३६ जना र आर्थिक वर्ष २०५९÷६० मा १ लाख ५ हजार ४३ जना पुगेको छ । नेपालमा बेरोजगारीको दर बढेसँगै युवाशक्तिको आकर्षण वैदेशिक रोजगारी भएको हो । त्यस्तै आर्थिक वर्ष २०६०÷६१ मा १ लाख ६ हजार ६ सय ६० जना, आर्थिक वर्ष २०६१÷६२ मा १ लाख २९ हजार ७ सय १८ जना, आर्थिक वर्ष २०६२÷६३ मा १ लाख ६५ हजार २ सय ५२ जना व्यक्तिहरु विदेशिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०६३÷६४ मा २ लाख ४५ हजार ३३ जना, आर्थिक वर्ष २०६४÷६५ मा २ लाख ४९ हजार ५१ जना, आर्थिक वर्ष २०६५÷६६ मा  २ लाख १९ हजार ९ सय ६५ जना र आर्थिक वर्ष २०६६÷६७ मा २ लाख ९४ हजार ९४ जना व्यक्तिहरु रोजगारीको सिलसिलमा विदेशिएको छन् ।  विगत दुई वर्षयताको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा अत्यधिक वृद्धि भएको छ । जसमा आर्थिक वर्ष २०६७÷६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना र आर्थिक वर्ष २०६८÷६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना व्यक्तिहरु रोजगारीको सिलसिलामा विदेशिएका छन् ।  नेपालमा सीमित स्रोत र साधनले गर्दा सबैका लागि रोजगारीको व्यवस्था गर्न नसकेको, गरिबी र अभावको कारण वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकमा जाने युवाहरुको संख्यामा वृद्धि भएको यूएन विमनकी कार्यक्रम विज्ञ सरु जोशी श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ पछिल्लो समयमा केही राम्रा अवसरहरु आएर पनि युवाहरुको लागि वैदेशिक रोजगारी आकर्षक बनेको छ ।

विभिन्न बाध्यता र जोखिमकाबीच पनि नेपाली युवाशक्तिको विदेश पलायनले नेपालको आर्थिक अवस्थामा केही सकारात्मक प्रभाव पारे पनि दीर्घकालीनरुपमा ठीक नहुने अर्थशास्त्रीहरु बताउँछन् । राष्ट्रको विकासका दृष्टिकोणले युवा जनशक्ति विदेश पलायनबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ– अर्थशास्त्री विश्वम्भर प्याकुरेल भन्नुहुन्छ– नेपालमा भित्रिने रेमिट्यान्सलाई हेर्ने हो भने ठूलै योगदान रहेको छ । सकिन्छ भने मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गरेर बढ्दो युवा जनशक्ति पलायन रोक्न सक्नुपर्छ ।

(आर्थिक दैनिक बाट )