नेपाली सांगीतिक एल्बम ‘तिम्ले मलाई दिएको चिनु’ लण्डनमा सार्वजनिक

728 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • लण्डन / बेलायतमा बसोबास गरिरहेका नेपाली गायक, गायिका तथा संगीतकारहरुको सामूहिक प्रयासको रुपमा नेपाली सांगीतिक एल्बम ‘तिम्ले मलाई दिएको चिनु’ सार्वजनिक गरिएको छ। शनिबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष खगेन्द्र नेपाली तथा बलिउड गायक एस किङले संयुक्तरुपमा उक्त एल्बमको लोकार्पण गर्नुभएको थियो। गायक विवेक श्रेष्ठ तथा शर्मिला बर्देवाको स्वर एवम् सामवेद रामकृष्ण त्रिपाठीको संगीत रहेको उक्त एल्बममा वरिष्ठ गीतकारहरु किरण खरेल, क्षेत्रप्रताप अधिकारी लगायतको गीत समावेश गरिएको छ। विमोचन समारोहमा बोल्दै एक दशक भन्दा बढी समयदेखि बेलायतमा बसोबास गरिरहेका गायक श्रेष्ठ तथा गायिका बर्देवाले परदेशमा बसेर पनि नेपाली कला, संगीत क्षेत्रमा निरन्तर साधना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहांहरुले विगतमा झैं आफुहरुको प्रस्तुतीलाई स्रोताहरुले रुचाउने विश्वास पनि व्यक्त गर्नुभयो। उक्त अवसरमा राजदूत चालिसेले शुभकामना दिँदै मानिस जहाँ गए पनि संस्कृति र मौलिकता साथै बेकेर जाने बताए । कार्यक्रमका सभापति खगेन्द्र नेपालीले भने, सर्जक र सिर्जनालाइ भैतिक साँधसिमानाले रोक्दैन रहेछ ।
  •          लक्ष्मी राईले सञ्चालन गरेको विमोचन समारोहमा बीबीसी नेपाली सेवाका सुमन खरेलले अग्रज नेपाली संगीतकारहरूले निर्माण गरिदिएको जगमा आज धेरै गायक गायिकाले विदेशमा अवसर पाइरहेको जनाए । सामवेद क्रियसन्सले ल्याएको उक्त एल्बम आइट्युन्स, स्पटिफाइ, अमेजन, गुगल प्ले लगायतका डिजिटल प्लेटफर्महरुमा गएर किन्न सकिने पनि उत्पादकले जनाएका छन्। एउटा गीत मात्र डाउनलोड गर्न ९९ सेन्ट र पुरै एल्बम डाउनलोड गर्न अमेरिकी डलर ४.९९ लाग्नेछ। उक्त एल्बमको प्रोमोसनल भिडियो www.youtube.com/samavedamusicwww.facebook.com/samavedamusic मा गएर पनि हेर्न सकिन्छ। कार्यक्रममा आफूले संगीतलाइ परोपकारसँग जोड्ने बताउँदै संगीतकार सामवेदले हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषको लागि ५० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । स्तरीय गीतसंगित भए नेपाल बाहिर उत्पादनसँगै विक्रीवितरण गर्न कुनै समस्या नभएको र विश्वसामु विक्रीवितरण गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो । कार्यक्रममा बलिउडका अहिलेका जल्दोबल्दो गायक आस किङले पनि नेपाली गीत पनि गुन्गुनाउँदै भविष्यमा आफूले नेपाली गीत गाउने इच्छा व्यक्त गर्नु भएको थियो ।