शिक्षा दिबसको अबसरमा प्रदान गरिएको सम्मान शिक्षक टंकनाथ शर्माद्वारा अस्विकार

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३ भदौ ।  अन्तराष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङका तर्फबाट सम्मानित हुनुभएका शिक्षक टंकनाथ शर्माले सम्मान अस्विकार गर्नुभएको छ । उमेर हदका कारण आगामी बैशाख महिनाबाट अनिवार्य अवकासमा पर्नुभएका नलाङ माध्यमिक विद्यालय नलाङका शिक्षक टंकनाथ शर्मातिमिल्सिनाले आज जिल्ला शिक्षा कार्यालयले शिक्षा दिवसका अवसरमा प्रदान गरेको सम्मान अस्विकार गर्नुभएको हो । कार्यक्रममा बोल्दै शिक्षक शर्माले विगतमा शिक्षक हक अधिकार प्राप्तिका लागि संघर्ष गर्दा २०४२ सालमा १० बर्षे स्थायी जागिर गुमाउनुपरेको र २०४८ भदौं देखि हालसम्म २२ बर्षसम्म निरन्तर रुपमा अस्थायी सेवा गर्दा सम्म पनि पुनर्वाहलीका साथै सेवा सुविधाको कुनै प्रक्रिया अगाडि नबढाइएको भन्दै ती सुविधाहरु स्थापित नभएसम्मका लागि आफुले पाएको सम्मान पत्र जिल्ला शिक्षा कार्यालयमा नै सुरक्षित राख्न भन्दै सम्मान अस्विकार गर्नुभएको थियो । कार्यक्रममा बोल्दै शिक्षक शर्माले शिक्षा दिवसका अवसरमा आफुलाई सम्मान गरेकोमा जिल्ला शिक्षा कार्यालयलाई धन्यवाद दिंदै कार्यालयले गरेको सम्मानले आफुलाई खुसी तुल्याउन नसकेको स्पष्ट पार्नुभयो। 
         शिक्षक शर्माले २०३२ साल फागुन १३ गतेदेखि स्थायी प्राथमिक शिक्षकको सेवा गर्दै आउनुभएकोमा तत्कालिन पञ्चायति सरकारले नेपाल राष्ट्रिय शिक्षक संगठनको गतिविधिमा सक्रिय रहँदै आएको कारण देखाउँदै २०४२ सालमा बेजिल्ला सरुवा गर्दैै सेवाबाट हटाएको थियो । राजनैतिक पूर्वाग्रहकै कारण बेजिल्ला सरुवा गरिएपछि शर्मा सहितको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको बैंक खाता रोकि उहालाई सेवाबाट हटाइएको उहाले बताउनुभयो । पूर्ववत विद्यालय नलाङ नि.मा.वि. नलाङको निम्न माध्यमिक शिक्षक दरबन्दी रिक्त रहेकाले ‘पूनर्वहाली हुँदा सोही पद र सेवामा निरन्तरता हुने’ तात्कालीन जिल्ला शिक्षा अधिकारीको मौखिक आश्वासन अनुसार सो रिक्त दरबन्दीमा २०४८ भदौ ५ गतेदेखि जि.शि.का. धादिङद्वारा अस्थायी नियुक्ति भै हालसम्म सोही विद्यालयमा कार्यरत रहँदै आउँदै भएको छ । यस विचमा आफुले धेरै शिक्षामन्त्रीलाई आफ्नो समस्याको विषयमा अवगत गराएको बताउँदै उहाले सबैले आश्वासन बाहेक केही पनि नदिएको गुनासो गर्नुभयो । त्यतिवेला शिक्षकको हकहित र अधिकारको लागि अरु जागरुक शिक्षकहरुले जस्तै आफुले पनि आन्दोलन गरेको र सो आन्दोलनबाट सबै शिक्षकको हक, अधिकार स्थापित भएपनि त्यही आन्दोलनमा लागेको कारण आफु अझै अन्यायमा परिरहेको भन्दै उहाले राजनीतिक दलहरु र शिक्षक संग सम्बन्धीत विभिन्न संघ÷संगठनहरुप्रति गुनासो गर्नुभयो ।ं

                         शिक्षक शर्माले कार्यक्रमकै अवसरमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाउनुभएको छ । शर्माले ध्यानाकर्षण पत्रको बोधार्थ क्षेत्रिय शिक्षा निर्देशनालय हेटौडा, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समिति काठमाण्डौ, नेपाल शिक्षक युनियन केन्द्रिय समिति काठमाण्डौ, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति धादिङ, नेपाल शिक्षक युनियन जिल्ला समिति धादिङ, नेपाल शिक्षक संघ जिल्ला समिति धादिङ, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च जिल्ला समिति धादिङ, अखिल नेपाल शिक्षक संगठन (अध्यक्ष) जिल्ला समिति धादिङ, अखिल नेपाल शिक्षक संगठन (संयोजक) जिल्ला समिति धादिङ, नेपाल राष्ट्रिय शिक्षक परिषद धादिङमा पेश गर्नुभएको छ । त्यसैगरी राजनीतिक दलहरु एकिकृत नेकपा माओवादी धादिङ, नेपाली कांग्रेस धादिङ, नेकपा एमाले धादिङ, नेकपा माओवादी धादिङ, राप्रपा धादिङ, नेकपा एकिकृत धादिङ, र नेकपा माले धादिङको पनि ध्यानाकर्षण गराउनुभएको छ ।