आँखुखोला जलविद्युत्को व्यापारिक उत्पादन सुरु

1534 पटक पढिएको

सम्पादक: Dhadingnews.com


धादिङ २४ भदौ  /आँखुखोला जलविद्युत् कम्पनीले आखुखोला १ जलविद्युत् आयोजनाबाट व्यापारिक  उत्पादन सुरु गरेको छ । सो आयोजनाको क्षमता ८ दशमलव ४ मेगावट भए तापनि हाल आयोजनाले पूर्व क्षमता सञ्चालन भई करिब १० प्रतिशत बढीसम्मको परिमाणमा विद्युत् उत्पादन भइरहेको जानकारी दिएको छ ।  उक्त कम्पनीले देशमा भइरहेको चरम ऊर्जा संकटलाई सानै रुपमा भए पनि न्यूनीकरण गर्ने उद्देश्यले नेपालीहरुको मात्र प्रवद्र्धन र स्थानीय बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा २०६६ साल मंसिरदेखि निर्माण कार्य अगाडि बढाएको  थियो । सोही आयोजनाले २०७०  असार महिनामा निर्माण कार्य सम्पन गरी साउन १४ गतेदेखि परीक्षण विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारणमा विद्युत् प्रवाह समेत गरेको थियो ।

           धादिङ जिल्लाको सल्यानकोट र मार्पाक गाविसस्थित आँखुखोला १ जलविद्युत् आयोजना सफल रुपमा तीनवटै मेसिनबाट सन्तोषजनक उत्पादन सुरु भइरहेकोमा नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता बमोजिम गठित समन्वय समितिको मिति २०७० भदौ १७ गतेको निर्णय अनुसार भदौ ८ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा जम्मा २ सय ५ जना सेयरधनीहरुमध्ये करिब ५१ जना सेयरधनीहरु धादिङ जिल्लावासी नै रहेका छन् । त्यस्तै प्राइम कमर्सियल बैंकको अगुवाइमा किष्ट बैंक, सनराइज बैंक, माचापुच्छे« बैंक, राष्ट्रिय वाणिज्य बैंक र काष्ठमण्डप डेभलपमेन्ट बैंकको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको उक्त आयोजनाको क्यासकेट आयोजनाको रुपमा १० दशमलव ५ मेगावाट सम्मको विद्युत् उत्पादन हुन सक्ने अध्ययनले देखाएको छ । कम्पनी आफैंले आयोजनाको पावरहाउसदेखि नेपाल विद्युत् प्राधिकरणको धादिङबेसी सव स्टेशनसम्म १३ किमी लामो ट्रान्समिसन लाइन बनाई  सव स्टेसनको लागि धादिङबेसीमा आवश्यक जग्गा खरिद गरी सव स्टेसन निर्माण गरिएको थियो ।