मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुमार्गीको उम्मदेवारी

788 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /आगामी भदौ २८ गते शुक्रबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा हुन गइरहेको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदका लागि मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट अरुणराज सुमार्गीलाई अगाडि सारिएको छ । नारायणी अञ्चल संघको सहमतिपछि सुमार्गी निर्वाचनको तयारीमा जुट्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले मकवानपुर जिल्ला क्षेत्रीय हिसाबले निकै महत्वपूर्ण तथा मध्यमाञ्चल क्षेत्रीय सदरमुकाम समेत रहेकाले उद्योगी व्यवसायीको समस्याका एकमुष्ट निकास निकाल्न सजिलो हुने भन्दै निवर्तमान अध्यक्ष सुमार्गीलाई अगाडि सारिएको बताउनुभयो ।

 यसअघि मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा औद्योगिक क्षेत्रमा नमुनायोग्य कामहरु गरेकाले उहाँलाई जिताउन सक्रिय भएर लागेको नारायणी अञ्चलका अर्को एक जिल्लाका सदस्यले बताए । बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद्यले सकेसम्म सर्वसम्मत गर्ने र निर्वाचनमा गएको खण्डमा क्षेत्रीयता, नेतृत्व क्षमताको आधारमा सुमार्गीलाई समर्थन गर्ने जानकारी दिनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको र धुलिखेल वाणिज्य संघ र मकवानपुर वाणिज्य संघको दाबी परेको जानकारी दिनुभयो ।