विद्यार्थीको हाजिर अब मेसिनबाट

642 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
काठमाडौँ, / विद्यालय वा क्याम्पसमा अब दैनिक हाजिरकापी लगेर कराइकराई झन्झटिलो तरिकाले हाजिरी लिनु नपर्ने भएको छ । हारती कम्प्युटर सर्भिसेज काठमाडौँले विद्यार्थीको हाजिरीसम्बन्धी विद्युतीय हाजिरी प्रणाली मेसिन (स्टुडेन्ट एटेन्डेन्स सफ्टवेयर)को विकास गरेपछि उक्त झन्झटबाट मुक्ति पाइने भएको हो ।
विद्यार्थीको उपिस्थितिको हाजिरी मेसिनबाटै लिन सकिने भएपछि उनीहरु कति बजे स्कुल कलेज पुगे, कति बजे बाहिरिए भन्ने मात्रै होइन, आवतजावतको सबै हिसाब मेसिनले नै राख्ने हारती कम्प्युटर सर्भिसका प्रबन्धक न्यूटनप्रसाद सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो सफ्टवेयरको विकास भएको यो नेपालमै पहिलोपटक हो । यस सफ्टवेयरको विकासबाट आमाबुबा वा आफन्तले बालबालिका कति बजे स्कुल कलेज पुगे, कति बजे बाहिरिए भन्नेबारे सजिलै घरमै बसेर हेर्न सक्नेछन् । इमेल आइडीजस्तै सफ्टवेयरबाट छुट्टै आइडी बनाएर घरबाट नै विद्यार्थी कलेज÷स्कुलमा प्रवेश गरेको छ छैन, कति बजे बाहिरियो भन्ने थाहा पाउन सक्ने उहाँको कथन छ ।
सूचना प्रविधिको विकासले त्यो सम्भव भएको सुवालको भनाइ छ । अत्यधिक विद्यार्थी चाप भएर व्यवस्थित गर्न असहज स्कुल कलेजहरुका लागि यो बढी उपयोगी हुने हारतिकी प्रडक्ट मार्केटिङ अफिसर रजनी द्रुतराजले बताउनुभयो । उहाँका अनुसार यसले विद्यार्थीलाई अनुशासित, जिम्मेवारसमेत बनाउनेछ । यसले स्कुल कलेजको शैक्षिक स्तर उकास्नमा मद्दत मिल्ने उहाँको भनाइ छ । हाजिरकापी लिएर दैनिक कक्षामा हाजिर लिनुपर्दा झन्झटिलो हुनाका साथै समय खेर जाने, ठूलोठूलो स्वरले कराउनुपर्ने झन्झट हट्नेछ । साथै विद्यार्थीको आवतजावत मेसिनबाट नै हेर्न सकिने भएकाले अझ व्यवस्थित हुनेछ / रासस