दमिनी भीरलाई मदन , रत्नशमसेरलाई जगदम्बाश्री पुरस्कार

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाडौं ।मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास दमिनी भीरुलाई दिने निर्णय गरेको छ । गुठीको शनिबार बसेको बैठकले ‘दमिनी भीर’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै गुठीले जगदम्बाश्री पुरस्कार गीतकार रत्नशमसेर राणालाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

चार वटा कविता संग्रह, किराँत संस्कार नामक संस्कृति सम्बन्धि पुस्तक र दुई उपन्यास प्रकाशित गरिसक्नुभएका मुकारुङ २०३१ साल फागुन १३ गते भोजपुरको दिल्पा नागी २ मा जन्मनुभएको हो ।

दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमातदेखि पहाडमै विकासको गन्ध खोज्ने समूदायका असन्तुलित पाइलाको छाप देखिन्छ ।

२०१२ असोज १० गते रानी जगदम्बाले स्व मदन शमसेर राणाको स्मृतिमा मदन पुरस्कार स्थापना गरेकी थिइन् । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने वितरण २०१४ सालदेखि सुरु भएको हो । मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरुमध्ये एक कृतिलाई प्रदान गरिन्छ । सुरुमा मदन पुरस्कारको राशी ४ हजार राखिएको थियो ।

जगदम्बाश्री पुरस्कार भने रानी जगदम्बाको स्वर्गारोहरणपछि गुठीले बिसं २०४५ सालमा स्थापना गरेको हो । गायक नारायण गोपालले पहिलोपटक जगदम्बाश्री पुरस्कार पाउनुभएको थियो ।

टप नेपाल न्युज डट कमबाट