तिप्लिङको स्वादिलो स्याउलाई छैन बजार खोज्नुपर्ने झन्झण्ट, बोटबाटै भयो सबै बिक्री
547 पटक पढिएको
धादिङ न्यूज
रुवीभ्याली ,१ कार्तिक २०८१ बिहीबार । धादिङ जिल्लाको हिमाली बस्ती रुवीभ्याली गाउँपालिकाको तिप्लिङमा उत्पादन भएको स्याउ यो बर्ष पनि बगैंचाबाटै बिक्री भएर सकिएको छ ।
सहज यातायातको सुविधा नहुँदा स्याउ वजार पु¥याउन नसकेर बोटमै कुहिएर लगानी खेर जाने हो कि भन्ने चिन्तामा रहेका किसान बोट बाटै स्याउ बिक्री भएकोमा खुसी छन् ।
धादिङको उच्च हिमाली बस्ती तिप्लिङमा व्यवसायिक रुपमा स्याउ खेती शुरुवात भई उत्पादन हुन थालेको यो दोश्रो बर्ष हो । धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर १ मचेत गाउँका लरेन्स लामा र योहन लामाले पाँच बर्ष अघि मुस्ताङको मार्फा बाट विभिन्न जातका २ सय बिरुवा स्याउ ल्याएर आफ्नो ६ रोपनी जग्गामा लगाएका थिए ।
मार्फाबाट फुजी, गोल्डेन रेड,डेलियसियस र क्रिस्पिन जातका बिरुवा ल्याएर परिक्षणका लागि रोपेकोमा ति स्याउ अघिल्लो बर्ष बाट फल्न शुरु गरेको थियो । लामा दाजु भाईले व्यवसायिक रुपमा स्याउ खेती गर्न रुवी एग्रो तिप्लिङ नामको फर्म दर्ता गरी सोही फर्मबाट स्याउ खेती गरिरहेका छन् ।
स्याउ उत्पादन हुन थालेपछि वजार सम्म लैजान नसकिने हो कि भन्ने चिन्तामा रहेका किसान दाजुभाईले अघिल्लो बर्ष जस्तै यो बर्ष पनि सजिलै सँग स्याउ बिक्री गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । गाउँमै स्याउ उत्पादन भएको खबर थाहा पाएपछि साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविसका वासिन्दाले यो बर्ष पनि बगैंचामै पुगेर स्याउ खरिद गरेका छन् । यसैगरी रुवीभ्याली गाउँपालिकामा कार्यरत सरकारी, बैंक तथा वित्तिय कार्यालय र गैर सरकारी निकायका कर्मचारी,शिक्षक लगायतले बगैंचामा पुगेर छानी छानी स्याउ किनेर लगेको किसान योहन लामाले धादिङ न्यूजलाई वताए ।
बगैंचामा नै पुगेर स्याउ किन्न चाहनेलाई प्रतिकिलो १७० रुपैयाँमा स्याउ बिक्री गरिएको कृषक योहनले जानकारी दिए । पहिलो बर्ष ९ सय केजी स्याउ बिक्री गरेकोमा यो बर्ष ५०० किलो मात्रै बिक्री गरिएको किसान लामाले वताए । समयमै बर्ष नभईदिंदा अघिल्लो बर्ष भन्दा यो बर्ष उत्पादन घटेपनि उत्पादित स्याउको गुणस्तर भने मुस्ताङकै स्याउ सरह रहेको किसान लरेन्सको दावी छ ।
स्याउ भण्डारणका लागि धादिङमा सुविधासम्पन्न कोल्डस्टोर र बजारीकरणको समस्या रहेको छ । साविकको तिप्लिङ गाविसका अधिकांश गाउँवस्ती हिमाली भेग भएकाले यहाँको चिसो हावापानीमा स्याउ खेतीको सम्भावना राम्रो देखिएको रुवीभ्याली वडा नम्बर १ का पूर्व अध्यक्ष पेम्वा घले बताउँछन ।यहाँ फलेको स्याउको स्वाद मुस्ताङकै सरह पाईएकाले खेती बिस्तार गरेर वजारीकरणको व्यवस्था गरेमा गरिबीको रेखामुनी रहेका रुवीभ्यालीका किसानलाई आर्थिक रुपमा सवल बनाउन सकिने घलेको सुझाव छ ।
स्याउ खेती शुरु गरिएको गाउँ मचेत धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।सदरमुकाम धादिङबेसीबाट साङकोष,कटुन्जे,चरङ्गे,किन्ताङफेदी, दार्खा, झार्लाङ, बोराङ हुंदै तिप्लिङ नजिकै सडक सञ्जाल जोडिएको छ ।
रुवीभ्यालीको तिप्लिङ आलु, भेंडा र चौरीको उत्पादनका लागि प्रख्याती कमाएको ठाउँ हो । अहिले पनि यहाँ गाँउका सवैको वारीमा मुख्य वालीका रुपमा आलु खेती हुने गरेको छ ।