‘धादिङ’ एक वर्षभित्र पूर्ण साक्षर बन्ने

583 पटक पढिएको

सम्पादक: Dhadingnews.com

शंकर श्रेष्ठ
धादिङ । अबको एकवर्ष भित्र धादिङ पूर्ण साक्षर जिल्ला बन्ने भएको छ । ग्रामीण बस्तीका ५ देखि ६० वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका व्यक्तिहरुलाई समेत यस वर्ष अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत साक्षर बनाएर जिल्लालाई पहिलो साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । यस वर्ष जिल्लाका विभिन्न स्थानमा साक्षरता कक्षा संचालन गरी ५० हजार नागरिकलाई साक्षर बनाउने तयारी भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए । अहिले धादिङको कुल जनसंख्या ३ लाख ३६ हजारमा ४८ हजार २ सय ४४ जना निरक्षर रहेको जिल्ला शिक्षा समितिको तथ्याङ्कले देखाएको छ । यो ४३ प्रतिशत जनसंख्या निरक्षर हो । गयको वर्ष संचालन भएको साक्षरता कक्षाबाट साढे १३ हजार जनालाई साक्षर बनाइएपछि जिल्लाको साक्षरता प्रतिशत ६६ पुगेको तथ्याङ्क छ ।

जिल्लाको ५० गाविस मध्ये केही महिनाअघि १५ वटा गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिसकिएको छ । जिल्ला शिक्षा अधिकारी सुवेदीले भने । ‘निलकण्ठ, सुनौलाबजार लगायतका केही गाविसलाई अहिले नै साक्षर गाविस घोषणा गर्न सकिने अवस्था छ ।’ यस वर्ष समयमै बजेट आएकोले पनि अभियान सफल बनाउन थप सहयोग पुग्ने सुवेदीले बताए । राष्ट्रिय मापदण्ड अनुसार जिल्लाको कुल जनसंख्याको ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिनेछ । उमेर पुगेर पनि विद्यालय नपुगेका बालबालिकालाई विद्यालय पहँचमा ल्याउन पनि पहल भैरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १५ देखि ६० वर्ष उमेर समुहका नागरिकलाई साक्षर बनाउन अनौपचारिक शिक्षा तथा साक्षरता कक्षा संचालन गरिएसंगै बालबालिकालाई विद्यालयको पहँचमा पु¥याउन अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा कार्यक्रम समेत अगाडि बढाइएको छ ।
शिक्षा क्षेत्रमा नेपालकै नमूना जिल्लाको रुपमा चिनाउन सक्नु सबैको गौरबको विषय भएको भन्दै जिल्ला शिक्षा अधिकारी सुवेदीले यो अभियानमा सक्दो सहयोग गरिदिन राजनीतिक दल र शिक्षा संग सम्बन्धित निकायहरुसंग आग्रह गरेका छन् । निरक्षर नागरिकलाई साक्षर बनाएर आफ्नो नागरिक कर्तव्य पुरा गर्न समेत सुवेदीले आग्रह गरेका छन् । आर्थिक वर्ष २०७०÷७१ को लागि जिल्लामा विद्यालय क्षेत्र सुधार कार्यक्रममा ३२ करोड र अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको लागि ३ करोड गरी ३५ करोड बराबरको कार्यक्रम तयार पारिएको छ । बजेट अन्तर्गत साक्षरता कक्षा संचालन, सामुदायिक अध्ययन केन्द्र संचालन, साक्षरोत्तर कक्षा संचालन, अनिवार्य आधारभूत शिक्षा लगातका कार्यक्रम संचालन हुने सुवेदीले जानकारी दिए ।

धादिङमा सामुदायिक र निजि तथा सस्थागत गरी १२ सय वटा विद्यालय रहेका छन् । अहिले औषत उमेर पुगेर विद्यालय नजाने बालबालिकाको संख्या २ दशमलव ६ प्रतिशत रहेको छ । विशेष गरी सिमान्तकृत, दलित समुदायका बालबालिका विद्यालय बाहिर छन् । विद्यालय बाहि रहेका बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले अभिभावकको समेत पहिचान गरेर त्यस्ता बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा अन्तर्गत विद्यालय भर्ना गराउने काम गरिरहेको छ । सुवेदीले भने, ‘धादिङलाई अहिलेकै वर्ष पूर्ण साक्षर बनाएरै छोड्छौं ।’ आर्थिक वर्ष २०७०÷७१ भित्र साक्षर धादिङ बनाउने अभियानमा निजि तथा आवासीय विद्यालय अर्गानाइजेशनहरुले पनि प्रतिवद्धता जनाएका छन् ।
आ.व. २०६९÷७० को शैक्षिक प्रगति अनुसार मध्यमाञ्चल विकास क्षेत्रमा धादिङ पहिलो हो । शिक्षा कार्यालयको बेरुजु फस्र्यौट, दरबन्दी मिलान, विद्यालय समायोजन जस्ता कार्यमा धादिङ मध्यमाञ्चलमा पहिलो भएको थियो ।

कमाण्डर पोस्ट डट कमबाट