अब यसो गरे कसो होला ?

49 पटक पढिएको

सम्पादक: Dhading News

  • सानुबाबु तिमिल्सिना 

अझैपनि हामी आफुहरुलाई अविकसित मुलुकका नागरिकको रुपमा हेर्ने गर्छौ । देशमा केही पनि भएन, केही गरिएको छैन, अथवा भनौं यहाँ कहिल्यैपनि केही हुँदैन भन्न पनि पछि पर्दैनौं । देशको राजनीतिक वातावरण हेर्दा यो यथार्थ हो जस्तो पनि लाग्ने गर्छ कहिलेकाही । देशमा विद्यमान राजनीतिक खिचातानी, सत्तापक्ष र प्रतिपक्षको जुहारी, सरकार बनाउने र गिराउने खेल अनि केन्द्र देखि स्थानीय तहसम्म मौलाएको राजनीतिक खिचातानीको निकै नसुहाउने खेल आदी इत्यादी हेर्दा र भोग्दा भने देश अझै धेरै पछाडि धकेलिएको चित्र देख्न सकिन्छ । तर यसो भनेर मात्र यहाँ हुनेवाला केही छैन । सधैं नकारात्मक सोच र मानसिकताले केही हुँदैन । यी र यस्ता विषयप्रति सुधारको लागि समयमै लाग्नुपनि पर्छ । फेरी यहाँ प्रश्न उठ्न सक्छ कि कसले कहाँबाट शुरुवात गर्ने ? यसको उत्तर पनि सजिलो नै छ कि शुरुवात आफैबाट गर्ने हो, अरु कोहीले शुरु गर्ला र पछि लागौंला भनेर बस्नु हुँदैन । ल ठिक छ के बाट कसरी शुरु गर्ने त । ल आउनुहोस एकछिन यसै विषयमा लागौं ।
शुरुवात सानो कुराबाट नै गर्दा हुन्छ, कुनै ठुलै पहाड फोर्नु पर्दैन । देशको समग्र अवस्था विस्तारै सुधार हुदै जाला तर पहिला हाम्रै ठाउँबाट सुधारको कुरा गरौं, किनभने सबैलाई आफ्नै ठाउँबाट केही गर्न सजिलो हुन्छ । यसमा पनि धेरै जटिल विषय नराख्दा पनि हुन्छ । उदाहरणको लागि हामीकाँहा रहेको गाउँपालिका र वडाको विषयलाई लिऔं । अहिले हाम्रो गाउँठाउँमा (केही अपवाद बाहेक) वडा कार्यालय भवन बनेको छ । वडाबाट नै दैनिक सेवा पनि शुरु भएको छ । वडाभित्रको सबै क्षेत्रलाई समेट्ने गरी (केही अपवाद वाहेक) वडा कार्यालय भवन बनेका छन् । वडामा वडाअध्यक्ष, वडा सचिव र केही कर्मचारी हुने व्यवस्था छ । नागरिकका धेरै काम अहिले वडा कार्यालयबाट नै हुने गरेका छन् । वडामा सेवा सुविधामा समय लाग्ने गरेको छ तर शुरु त भएकै छ ।
करिब १० वर्ष अगाडि कुरा बेग्लै थियो । त्यतिवेला अहिलेको २ अथवा ३ वडाको समग्र एक गाविस (केही अपवाद बाहेक) मातहत काम हुने व्यवस्था थियो । १ जना सचिवले २ वटासम्म गाविसको कामकाज हेर्नुपर्ने हुँदा गाविस सचिवबाट सेवा लिनै निकै मुस्किल हुने अवस्था थियो । अझ धेरै जसो गाविस सचिव सदरमुकाम नै कार्यालय खडा गरी बस्ने गरेको हुँदा गाविसका नागरिकलाई सेवा लिन सदरमुकाम नै जानुपर्ने वाध्यता थियो । त्यतिवेला एउटा सानो काम गर्न पनि कति कठिनाई थियो, त्यो हामी सबैले भोगेकै कुरा हो, यहाँ बयान गरिराख्नुपर्छ जस्तो लाग्दैन । तर अहिले त्यस्तो अवस्था छैन । एक गाविसलाई २ अथवा ३ (केही अपवाद बाहेक) वडामा विभाजन गरिएको छ । हरेक वडामा वडाबासी मध्येबाट नै एक वडाअध्यक्ष निर्वाचित हुने व्यवस्था छ । वडामा नै एक वडा सचिव रहने र केही कर्मचारी हुने हुँदा वडाभित्रका हरेक नागरिकका धेरै जसो कामकाज सहज ढगबाट समाधान हुँदै आएका छन् । यो एउटा राम्रो पक्ष हो ।
स्थानीयको समस्यालाई नजिकबाट बुझेको र केही सुधार गर्नुपर्छ भन्ने सोच राख्ने वडाअध्यक्ष र वडा सदस्यहरु निर्वाचित भएको अवस्थामा वडामा छिटो समयमा नै धेरै सुधार गर्न सकिन्छ । केही वडाहरुमा यस्ता प्रभाव पनि देखिन थालेका छन् । उदाहरणको रुपमा नीलकण्ठ नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ युवा जोश जाँगरको साथमा केही गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति हुनुहुन्छ, उहाले आफ्नो वडाभित्र केही देखिने र समुदायमा सकारात्मक प्रभाव पार्ने खालका काम पनि शुरु गरिसक्नुभएको छ । त्यस्तै सिद्धलेक गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष पेमा लामा  खासगरी उहाले कृषि व्यवसाय प्रबर्धन गर्ने कार्य आर्फैबाट शुरु गर्नुभएको छ । गल्छी गाउँपालिका ७ का वडाअध्यक्ष हरिप्रसाद खतिवडा पनि केही गरौं भन्ने सोच राख्ने युवा अध्यक्ष हुनुहुन्छ, उहाहरुको प्रयासमा  समाजमा केही सुधारको काम शुरु भईसकेको छ ।जनप्रतिनिधिको जिम्मेवारी संगै उहाँहरुको समय कृषि तथा पशुपालनमा पनि वित्ने गरेको छ । यस्तै ज्वालामुखी गाउँपालिका वडा नम्वर ५ खरीका निर्वतमान वडाअध्यक्ष कृष्ण काप्रीले पनि कृषि व्यसायीकरणको काम आर्फैबाट शुरु गरी स्थानीयको मन जित्न सफल हुनुभएको छ । यी त केही उदाहरण मात्र हुन, यस्ता धेरै उदाहरण जिल्लामा पछिल्लो समय देखिएको छ । हेर्दा सामान्य र सानो खालको काम भएपनि यस्ता कार्यले स्थानीय समुदायमा निकै ठुलो प्रभाव पार्न सक्छ । स्थानीयले अनुसरण गर्ने खालको काम हुने गरेका छन् । राम्रो कामलाई राम्रो भन्नुपर्छ । काम गर्नुपर्ने क्षेत्र धेरै होलान, छन पनि तर शुरुवात नै नभएको चाहिँ भन्न नमिल्ला । विस्तार विस्तार हुने हो । एकैपटक सबै क्षेत्रमा सुधार हुन सक्दैन । सबैको इच्छाशक्ति र तत्परता रहेको अवस्थामा भने काममा तिब्रता आउन सक्छ ।
त्यतिमात्र होइन, जिल्लाको धेरै वडा कार्यालयसम्म पुग्नको लागि सडकको पनि राम्रो विकास भएको छ । बर्षभरी नै सडकको प्रयोग गर्न नसिकएतापनि धेरै समय सडक प्रयोगमा आउने अवस्था छ । शिक्षा स्वास्थ्य तथा पूर्वाधारको क्षेत्रमा पनि पछिल्लो समय निकै विकास भएको छ । १० बर्ष अगाडि र अहिलेको अवस्था यी क्षेत्रमा धेरै सुधार भएका छन । तर यतिमै मात्र सन्तोष लिन सक्ने अवस्था भने अझै छैन । दैनिक आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानीको सुविधा सबै क्षेत्रमा पुग्न सकिरहेको छैन । यस विषयमा पनि वडा तथा पालिकामा खवरदारी गर्नु आवश्यक छ ।

मेरो जानकारीमा नआएर पनि अझै राम्रो काम गरिरहनु भएका जनप्रतिनिधिहरु हुनुहुन्छ । म केही समय देखि देश बाहिर भएकाले धेरै कुराको जानकारी नभएको पनि हुन सक्छ । जनप्रतिनिधिको जिम्मेवारीमा रहेर स्थानीय सरकार संचालन संगै कृषि, पशुपालन, फलफूल खेतीमा रमिरहनु भएका र त्यसबाट आयआर्जन संगै अरुलाई प्रेरणा दिईरहनु भएका व्यक्तिहरुको बारेमा आगामी दिनमा लेख्दै जानेछु । जिल्लाको १०४ वटै वडामा रहनु भएका जनप्रतिनिधिहरु जस्ले समाजका लागि उदाहरिणय कार्य गनुर्् भएको छ उहाँहरुको कार्यको खोजिगर्दै राम्रा कुराको प्रचार गर्नु जरुरी छ ।

यसकारण केही शुरुवात भएका र हुँदै गरेको विद्यमान अवस्थामा केही पनि भएको छैन, केही भएन, केही हुँदैन जस्ता नकारात्मक विचार र टिकाटिप्पणी गर्नुभन्दा सुधार भएका सुधार गरिएका अनि हुँदै गरेका क्षेत्रलाई उदाहरण दिएर केही भएका छन्, केही हुँदैछ र केही पक्कै हुनेछ भन्ने आशा जगाउने खालका सकारात्मक सन्देश दिँदा के होला । एकपटक विचार गरौं त । यसो गरे कसो होला ?

  • सिद्धलेक गाउँपालिका १ नलाङ,धादिङ (हाल पोर्तुगल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *