नयाँ संविधानको लागि एमाओवादीको बहुमत आवश्यक ः भट्टराई

588 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैदी । अघिल्लो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ । Baburam Bhattaraiउहाँले अब पनि संविधान नबने देश ठूलो दुर्घटनामा फस्ने भन्दै समृद्ध नेपाल निर्माणको लागि माओवादीलाई बहुमत दिनको लागि आग्रह गर्नुभयो । धादिङ निर्वाचन क्षेत्र न. २ अन्तरगतको मैदी गाउँ विकास समितिको एकीकृत नेकपा माओवादीको चुनावीसभालाई सम्बोधन गर्दै धादिङ जिल्लाको विकासको लागि एकीकृत नेकपा माओवादीले केन्द्रबाटै चासो देखाइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले धादिङलाई देशकै नमुनाको रुपमा चिनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । आफु सरकारमा रहँदापनि आफुले थुप्रै राम्रा काम गरेको भन्दै उहाँले देशकै महत्व बोकेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको लागि आफ्नो पार्टी एकीकृत नेकपा माओवादीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । नेता भट्टराईले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माणको लागि एमाओवादीलाई स्पष्ट बहुमत चाहिएको भन्दै धादिङको तीन वटै निर्वाचन क्षेत्रबाट एकीकृत नेकपा माओवादीलाई जिताउन जनतासँग विशेष आग्रह गर्नुभयो । जनताको गाँस, बास, कपास र खाद्य अधिकार सुनिश्चित गर्नु अहिले आवश्यकता रहेको भन्दै भट्टराईले ६५ बर्ष नाघेका बृद्धबृद्धाहरुलाई पेन्सनको सुविधा उलपब्ध गराउनको लागि आफ्नो पार्टीले पहल गरिरहेको समेत जानकारी गराउनु भएको थियो । संविधानसभाको जननी एमाओवादी भएकोले संविधानसभाको विरुद्धमा जनताको छोराछोरीको हत्या गर्नेहरुले यसको महत्व नबुझ्ने नेता भट्टराईले आरोप लगाउनुभयो । एमाओवादी धादिङको क्षेत्र नं. २ ले संविधानसभाको निर्वाचनमा आफ्नो पक्षमा जनमत जुटाउनको लागि मंगलबारदेखि यस क्षेत्रको चुनावी अभियान सुरु गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कल्पना धमलाले जनपक्षीय संविधानसभा निमार्णको लागि एकीकृत नेकपा माओवादीलाई जिताउनको लागी जनतासँग आग्रह गर्नुभएको छ । जनजाति, महिला, गरिब र दलितको मुक्तिको लागि आफ्नो पार्टीलाई जिताउनुको विकल्प नरहेको भन्दै धमलाले सहि एजेन्डा भएको पार्टीलाई मत दिनको लागि आग्रह गर्नुभएको हो । नेतृ धमलाले परिवर्तनको संवाहक शक्ति र नयाँ नेपाल निर्माणको स्पष्ट मार्गचित्र भएकोले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले विशेष अपिल गर्नुभयो ।  चुनाव परिचालन समिति मैदीका अध्यक्ष अर्जुन शाहीको अध्यक्षता र एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा निर्वाचन क्षेत्र न. २ का उम्मेदवार कल्पना धमला, केन्द्रीय सल्लाहकार परिषदका सदस्य बेदनिधि अधिकारी, ताम्सालीङ राज्य समितिका सदस्य राजु नेपाल विकास, जनवर्गीय संगठनका प्रतिनिधि, पार्टी शुभचिन्तकहरु र स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । मैदी गाउँ विकास समितिबाट सुरु भएको चुनावी सभा भोलीदेखि क्रमशः केवलपुर, गोगनपानी, कल्लेरी र कुम्पुर हुँदै घरदैलो अभियान सञ्चालन गरिने एकिकृत नेकपा माओवादी धादिङले जनाएको छ ।