चेपाङमा पुगेन परिवार नियोजन

361 पटक पढिएको

प्रकाशित मिति: २०७०, ६ कार्तिक बुधबार १३:५४

सम्पादक: Dhadingnews.com

 

 

 

केशव अधिकारी
फूलमाया चेपाङको उमेर अहिले ३६ वर्ष पूरा हुँदैछ। ३६ वर्ष उमेर पुरा नहुँदै उनले नौवटा बच्चाको जन्म दिइसकेकी छिन्। सातवटा त उनीहरूको साथमा छ। १६ वर्षको उमेरमा बिहे गरेकी फूलमायाले १७ वर्ष लागेदेखि बर्सेनिजस्तो सन्तान जन्माउँदै आइरहेकी छिन्। उनको घरमा वर्षको नौ महिना खानेकुराको अभाव भइरहन्छ। सुत्केरी हुँदा तागतिला खानेकुरा त परै जाओस् पेटभरि खोलेसमेत खान नपाएको उनी बताउँछिन्।

फूलमाया चेपाङ पति रामलाल र सन्तानसँग ।

फूलमाया चेपाङ पति रामलाल र सन्तानसँग ।

 

ब्रुसवाङ गाउँ धादिङ जिल्लाको सबैभन्दा विकटमा रहेको चेपाङ बस्ती हो। महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ गाउँनजिकै स्वास्थ्यसंस्थासमेत छैन। स्वास्थ्यसंस्थामा पुग्न गर्भवती महिलालाई दिनभरिजसो हिँड्नुपर्दछ। गलेको शरीर, थकान र भोकले शिथिल बनाउने हुनाले महादेवस्थान गाविसकै वडडाँडामा रहेको स्वास्थ्यचौकीमा पुगेर नियमित स्वास्थ्यजाँच गराउन ब्रुसवाङका चेपाङ महिलालाई कठिनाइ हुने गर्दछ। बिरामी भएर जाने हो भने आठ घन्टामा पनि पुगिँदैन, घर फर्केर आउन नभ्याउँदा वाटोमै बास बस्नुपर्छ, खर्च हुँदैन, भोकै बस्नुपर्दछ, बाटोमा बास बस्न पर्ने भएकाले ब्रुसवाङका महिलाहरू मात्रै होइन पुरुष पनि उपचारका लागि स्वास्थ्यसंस्था जान मान्दैनन्।

एकातिर बर्सेनिजस्तो सन्तान जन्माउनुपर्ने बाध्यता अर्कोतिर पेटभरि खान र स्वास्थ्यसेवासमेत लिन पाउँदैनन् ब्रुसवाङका महिलाले। यतिमात्र होइन यो एउटा त्यस्तो बस्ती हो जहाँबाट पानी लिनका लागि लगातार तीन घन्टा उकालो ओरालो गर्नुपर्दछ। बर्सेनि सन्तान जन्माउँदा जन्माउँदा शरीर कमजोर भए पनि फूलमायाले हरेक दिन डोकोमा बोकेर पानी ल्याउनुपर्दछ। शरीर गलेर हिँड्नै हुँदैन तै पनि पानी बोक्नै पर्दछ। पानी बोकेर घर पुगेपछि भोकलाग्दा खानेकुरा केही हुँदैन खानका लागि सिस्नु र जंगली कन्दमूल खोज्न हिँड्नुपर्दछ।

गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन स्वास्थ्यस्थितिको सामान्य जानकारीसमेत नहुँदा कयौं गर्भवती महिलाले अकालमै मृत्युको सामना गर्नुपरेको छ। प्रजनन स्वास्थ्यमा घरपरिबाट सहयोग एवं सहानुभूति नपाउँदा गर्भवती तथा सुत्केरी महिलाहरू बर्सेनि मृत्युको सिकार हुन पुगेको विभिन्न तथ्यांकहरूले देखाउने गरेको छ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वभरि प्रतिवर्ष ६ लाख गर्भवती र सुत्केरी महिलाको मृत्यु हुने गर्दछ। त्यसमध्ये ९९ प्रतिशत मृत्यु विकसित देशमा मात्रै भएको पाइन्छ। त्यस्तै गर्भवती महिलाको स्याहारसुसार नपुग्दा गर्भवती तथा बच्चा जन्माउँदा दैनिक दर्जनौ महिलाले जीवन गुमाउनु परेको छ।
राजधानीको नजिकै रहेको चेपाङ बस्ती पनि यस्तै एउटा उदाहरणीय बस्ती हो। जहाँ बर्सेनि कलिलै उमेरमा आमा बन्दै गरेका महिलाहरू स्वास्थ्यसंस्था नदेखी सुत्केरी हुनुका साथै कतिले अकालमै ज्यान गुमाउनु परे पनि उनीहरूको समस्या बाहिर आउन सकिरहेको छैन।

दक्षिणपूर्वी एसियाली क्षेत्रमा मातृ मृत्युदर बढी हुने देशहरूमा नेपाल दोस्रो स्थानमा पर्दछ। एक दशक अगाडिको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक दुई घन्टामा एक जना महिलाको मृत्यु हुने गर्छ। त्यस्तै नेपालमा प्रतिलाखमा पाँच सय ३९ महिलाको मृत्यु असुरक्षित मातृत्वका कारण हुने गरेका छन्।

ब्रुसवाङकै जूनमाया चेपाङको उमेर पनि भर्खर २० वर्ष लाग्दैछ, १६ वर्षको उमेरमा बिहे गरेकी जूनमायाको दुई सन्तानको जन्म भइसकेको छ। दुवै सन्तान उनले घरमै जन्माएकी हुन्। जूनमायाका अढाइ वर्ष र तीन महिनाको छोरा दुवैले अहिलेसम्म कुनै खोप लगाएका छैनन्। त्यसो त जूनमायाले पनि गर्भवती हुँदा न त स्वास्थ्य परीक्षण नै गराइन् न त कुनै खोप र औषधिको प्रयोग गरिन्। आफूले पनि अहिलेसम्म कुनै खोप नलगाएको र दुई भाइ छोरालाई पनि खोप नलगाएको उनी बताउँछिन्।

बिरामी भएर थला पर्दा उपचारका लागि गाउँबाट स्वास्थ्यचौकी पुग्न दिनभरिको बाटो हिँड्नुपर्ने भएपछि दक्षिणी धादिङको विकटका चेपाङहरू बिरामी हुँदा औषधि उपचार होइन झाँक्रीको झारफुकमा विश्वास गर्न बाध्य छन्।

ब्रुसबाङका अधिकांश गर्भवतीले कुनै खोप नलगाएका मात्रै होइनन्, गर्भवती हुँदा सामान्य स्वास्थ्यजाँच पनि नगराउने ब्रुसबाङका चेपाङ महिलाहरू बताउँछन्। चेतनाको अभाव र विकटको बस्ती भएका कारण यहाँका अधिकांश चेपाङ किशोरीहरूको बिहे १५ वर्ष नपुग्दै हुने गरेको छ। सानै उमेरमा बिहे हुनुलाई आफ्नो परम्परा ठान्ने ब्रुसबाङका चेपाङहरूले गर्भनिरोधक अस्थायी वा स्थायी कुनै साधन प्रयोग गर्न आवश्यक ठान्दैनन्। गाउँमा तीनदेखि सात जनासम्म सन्तान घरघरमा भेटिने भए पनि गर्भ निरोधका लागि अस्थायी साधन प्रयोग गर्नेहरूको संख्या भने गाउँभरिमै भेटिँदैनन्। २६ घरपरिवारका कसैले पनि बिरामी हुँदा होस् या अरू बेलामा पनि स्वास्थ्य संस्था जानु आवश्यक ठान्दैनन्।

प्रजननमा महिलाको अधिकारका विषयमा जे जस्ता परिभाषा गरिए पनि चेपाङ महिलाले यस्ता कुनै पनि अधिकारको उपभोग गर्न पाएका छैनन्। कलिलै उमेरमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोषिलो खानेकुरा खान नपाउनु, गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको साटो गरुंगो भारी बोकेर हिँड्नुपर्ने बाध्यता फूलमायाहरूको दैनिकी नै बन्ने गरेको छ।

सन्तान जन्मनु संसारको नियम भएको एक चेपाङ अभिभावकले बताए। ‘भगवान्ले जति दिन्छन् त्यति हात थाप्नुपर्दछ आफ्नो भए अडिन्छ नभए गाडिन्छ’ ३४ वर्षीया दीलमाया चेपाङले बताइन्। चार छोरी र एक छोराकी आमा दीलमाया सबै सन्तान घरमै जन्माएको बताउँछिन्। फूलमायाकी छिमेकी ठूलीकान्छी चेपाङको उमेर ३५ वर्ष पुगेको छ । उनको पनि ६ छोरी र एक छोरा छन्। ठूलीकान्छीका पति रामलाल ४० वर्षका भए। ब्रुसबाङमा वर्षको नौ महिना खानेकुराको अभाव हुने गरेको भए पनि जनसंख्या भने बर्सेनि बढ्दै गएको छ। सात सन्तान जन्माउँदा शरीर रोगी भए पनि हरेक दिन गाउँदेखि तीन घन्टा तल रहेको चोतेसको कुवाबाट डोकोमा पानी बोक्दा ज्यानमा निकै पीडा हुने गरे पनि केही उपाय नभएकोले दु:ख लुकाउनु परेको ठूलीकान्छीले दु:खेसो गरिन्।

लोग्नेस्वास्नी भएपछि लोग्नेले जे जे गरे पनि चुप लाग्नुपर्दछ भन्ने मान्यता चेपाङ महिलाहरूमा रहेको पाइन्छ। धेरै सन्तान जन्माउनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि राम्रो हुँदैन भन्ने ज्ञानको कमीका कारण ब्रुसवाङका मात्रै होइन अधिकांश चेपाङबस्तीका महिलाहरूले बर्सेनि जसो सन्तान जन्माउन बाध्य हुने गरेका छन्। धेरैजसोको सन्तान भने जन्मेर पनि धेरै वर्ष बाँच्दैनन्। कुनै पनि बच्चा जन्मनु र मर्नुलाई चेपाङ समुदायको भगवान्को लीला सम्झन्छन्।

खानेकुराको अभावले गर्दा गाउँका सबैजसो बालबालिका कुपोषित छन्। स्वास्थ्यचौकीबाट गाउँमा पुगेर स्वास्थ्य सेवा दिनका लागि जनशक्तिको अभाव हुने गरेको महादेवस्थान उपस्वास्थ्यचौकीका प्रमुख अहेब ऋषेश्वर शर्मा बताउँछन्। बालबालिका तथा गर्भवतीलाई नियमित खोप लगाउन समुदायसँग पटकपटक आग्रह गरे पनि चेतनाको अभाव, आर्थिक विपन्नता र खाद्यान्न संकटजस्ता कारणले ब्रुसबाङका चेपाङ महिलाहरू स्वास्थ्य सेवा लिन आउन नसकेको शर्माको ठम्याइँ छ।

नजिकै कुनै बस्ती नहुनु, गाउँमा खानेपानी र खाद्यान्नको संकटजस्ता कारणले नयाँ मान्छे ब्रुसबाङ गाउँमा पुगेर बास बस्न कठिनाइ हुने गरेको छ। बिरामी हुँदा अस्पताल जान मन भए पनि औषधि र खानेकुरा किनेर खाने पैसा साथमा नहुँदा बिरामी पर्दा झाँक्रीलाई देखाएर चित्त बुझाउनुपरेको पूर्वजनप्रतिनिधि सिद्धिबहादुर चेपाङले बताए।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ६ कार्तिक बुधबार १३:५४ मा प्रकाशित