यसरी भयो तेलको खोज

632 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धर्तीको लगभग आधा माइलबाट चार माइलको गहिराइबाट जुन गाढा हिलो मिश्रित पदार्थ निस्किन्छ, त्यसलाई नै खनिज तेल भनिन्छ । वर्तमान संसारलाई आधुनिक बनाउनमा यस बहुमूल्य पदार्थको निकै ठूलो हात छ ।
सन् १८५९ मा तेल तथा पेट्रोलको आविष्कार एडविन एल. ड्रेक नामक एक बेरोजगार र अशिक्षित व्यक्तिले गरेका थिए । उनलाई न्यूयोर्कका एक वकिलले तेलको खोजको लागि प्रेरित गरेका थिए । सन् १८५४ को शरद ऋतुमा एक प्राध्यापकले वकिल जर्ज एच. बिसेललाई एक खनिज तेलको नमूना देखाएका थिए । प्राध्यापक प्रयोगशालामा त्यस नमूनाको परीक्षण गरिरहेका थिए । प्राध्यापकले वकिल मिसेललाई आश्वस्त गरे कि यदि खनिज तेललाई ठीक तरिकाले शुद्ध गर्ने हो भने कोइलाबाट निकालेको तेलको ठाउँमा यसले अधिक राम्रो प्रकाश दिन सक्नेछ । ह्वेल माछाको तेल र बत्तीमा प्रयुक्त हुने मैनको अभावलाई हेर्दै स्कटल्याण्डमा ती दिनहरूमा कोइलाबाट तेल निकाल्ने प्रयत्न चलिरहेको थियो । प्राध्यापकको सिद्धान्तले बिसेललाई यति धेरै प्रभावित ग¥यो कि उनले एउटा कम्पनी बनाए ।
तर बिसेलको प्रयत्न सफल हुन सकेन । उनको सारा धन खर्च भयो । यस अवसरमा ड्रेकले आफ्नो भूमिका निर्वाह गरे । उनले कुनै पनि विद्यालयमा शिक्षा पाएका थिएनन् । उनी एक रोजगारीबाट अर्को रोजगारीको खोजीमा भट्किरहेका थिए । हो, उनलाई पानीको इनार खन्ने अनुभव थियो । स्थानीय जनताले ड्रेकको दुःसाहसलाई उनको मूर्खता भनिदिएका थिए, त्यसै समयमा ६९ फुटको गहिराइमा एक दिन तेल निस्क्यो । टिट्सविलेमा त तेल भू–सतहसम्म आएको थियो । पम्प लगाउँदा कुवाबाट प्रतिदिन २० ग्यालिन तेल निस्किन थाल्यो ।
ड्रेकको मूर्खताले रंग ल्यायो । सन् १८६७ सम्ममा तेलको स्थानमा किरोसिन तेल छायो । यस तेलबाट उत्तरी अमेरिकी राज्यहरूलाई अमेरिकी गृहयुद्धमा मद्दत मिल्यो, साथै दक्षिणी राज्यहरूलाई कपासको स्थानमा विदेशी विनिमयको एउटा नयाँ साधन पनि मिल्यो । युद्धपछि तेल अमेरिकाको महान् औद्योगिक जीवनको आधार बन्यो । त्यसपछि युरोप र अमेरिकामा तेलका नयाँ स्रोतहरू पाइए, तर विश्वको सबैभन्दा ठूलो तेल उत्पादक क्षेत्र मध्यपूर्व धेरै समयसम्म तेलको दृष्टिले उपेक्षित रह्यो ।
सन् १८७० मा लर्ड रायटरले इरानी सरकारबाट खनिज तेल निकाल्ने अधिकार प्राप्त गरे । २० वर्षसम्म प्रयत्न गर्दा पनि सफलता नमिलेको हुनाले रायटर पत्रकारिताको धन्दामा गए । रायटरको पदचिह्नहरूमा विलियम कक्स द अर्की यस क्षेत्रमा प्रवेश गरे । अस्ट्रेलियामा सुनको खानीबाट उनले विशाल धनराशि पाएका थिए । द अर्कीले इरानका क्षेत्रहरूको अनुसन्धानको लागि एक भू–गर्भशास्त्रीलाई पठाए । यी अंग्रेज उद्योगपतिले २०,००० पाउण्ड दिएर ४,८० हजार वर्ग माइलमा तेलको खोजको अधिकार प्राप्त गरे । भारतीय सार्वजनिक निर्माण विभागका एक अवकाश प्राप्त अधिकारी रेनाल्ट्सले खन्ने काम शुरु गरे । जनवरी, सन् १९०४ मा सफलता मिल्यो र तेल प्राप्त भयो, तर तुरुन्तै एउटा समस्या उत्पन्न भयो । पहिलो कुवा सुक्यो । मध्यपूर्वको तेल अभियानमा द अर्कीको सवा लाख पाउण्ड डुबिसकेको थियो । कैयौं प्रयत्नहरू विफल भइसकेपछि रेनाल्ट्स अन्ततः २६ मे, १९०८ मा सफल भए । त्यस दिन तेलको मूल नै फुट्यो । अन्ततोगत्वा इरानमा तेल पाइयो र मध्यपूर्वमा तेल उद्योग स्थापना भयो । यो तेल उद्योगको संचालनको लागि एङ्ग्लो–पर्शियन तेल कम्पनी स्थापित गरियो । समुद्र सतहसम्म १३० माइल लामो पाइप ओछ्याइएको तथा वर्षभरिसम्म पनि तेलको एक थोपा बिक्री नभएको हुनाले कम्पनीको सम्मुख आर्थिक संकट उत्पन्न भयो । तत्कालीन नौसेना मन्त्री विन्स्टन चर्चिलले ब्रिटिश नौसेनाको लागि वाष्पचालित शक्तिको स्थानमा तेलको प्रयोग उचित सम्झेर मध्यपूर्वको तेल उत्पादनलाई उचित सम्झे । चर्चिलको विवेकको कारणले मध्यपूर्वको तेल उद्योग फस्टायो र प्रथम विश्वयुद्धमा ब्रिटेनको स्थिति तेलकै कारणले बलियो भयो ।
भारतमा तेलको खोज
भारतमा पहिलो तेलको कुवा आसाममा सन् १८६६ मा नाहार पोंगमा खनियो । यस कुवाबाट तेल निस्किएन तर सन् १८६७ मा माकुम नामक स्थानमा खनिएको कुवामा पहिलो पटक तेल निस्कियो । असम रेलवे एण्ड कम्पनी तथा आयल सिन्डिकेटले १८९०–१८९३ को बीचमा चार वटा तेलका कुवाहरू खने । दुवै कम्पनीहरूले निकै सफलता पाए । सन् १८९८ सम्ममा यी कम्पनीहरूले १५ वटा कुवाहरू खनेका थिए । यी दुवै कम्पनीहरू मिलेपछि असम आयल कम्पनी भनिन थाले ।
केही समयपछि सन् १९०२ मा डिगबोईमा कारखाना खोलियो । सन् १९२० सम्ममा असम आयल कम्पनीले ८० वटा कुवाहरू खनिसकेको थियो र १४,००० ग्यालेन खनिज तेल प्रतिदिन निकाल्न थालेको थियो । यसै वर्ष बर्मा आयल कम्पनीले व्यवस्था आफ्नो हातमा लिएको थियो ।
सन् १९५९ मा गुजरातको खम्भातमा पहिलो कुवाबाट तेल निकालियो र अहिले गुजरातमा खम्भात, अंकलेश्वर र कलोलमा तेल निकालिन थालिएको छ ।
तेलको खोजमा भारतलाई रुसले धेरै मद्दत गरेको छ । रुसले तेलको खोज, सफाइ र वितरणको काममा मद्दत गरेको छ । केही विदेशी र स्वदेशी विशेषज्ञहरूको मत छ कि हाम्रो देशमा चार अरब टनभन्दा अधिक तेलको भण्डार छ । एक रुसी विशेषज्ञले त यतिसम्म पनि भनेका छन् कि अब भारतले १५ करोड टन तेल प्रतिवर्ष निकाल्नु पर्दछ । यस लक्ष्यलाई पूरा गर्नको लागि अनुसन्धान र कुवा खन्ने गति तीव्र गरिंदैछ ।
त्यसपछि इराक, कुवेत र साउदी अरबमा तेल उद्योगको स्थापना भयो । यस समयमा उत्तरी ध्रुवबाट दक्षिणी ध्र्रुवसम्म र एशियाबाट दक्षिणी अमेरिकासम्म तेलको खोजी जारी छ । यस समयमा मध्यपूर्व विश्वको तेल उत्पादनको मुख्य स्रोत हो । त्यहाँ ३,३४,००० करोड ग्यालिन, रुसमा २,८०० करोड तथा रुमानियामा १०० करोड ग्यालिन तेलको भण्डार रहेको अनुमान छ । युरोप, अमेरिका, एशियाका विभिन्न देशहरूमा तेलको खोजी जारी छ । संसारको औद्योगिकरण मात्र होइन, विश्वको सामान्य संस्कृति अर्को कुनै पनि पदार्थको अपेक्षा तेलमाथि निर्भर छ । १९ औं शताब्दीमा विद्युतको विकासभन्दा पूर्व तेल बालेर प्रकाश लिइन्थ्यो । तर अब त तेल स्थल, जल र वायु यातायातको आधार बनेको छ, यसैको शक्तिद्वारा अन्तरिक्षमा रकेट पठाइन्छ । आज यसैको बलमा उद्योगहरूले ऊष्मा, ऊर्जा र शक्ति प्राप्त गर्छन् । तेल अब बालिँदैन, तर यसलाई अन्य उत्पादनहरू, प्लाष्टिक, नाइलन, टेरीलिन र अरु कृत्रिम उत्पादन, जसले औद्योगिक क्रान्ति गरेका छन्, मा प्रयोग हुन्छ । रासायनिक मल तथा कीटाणुनिरोधक औषधिहरू यसैबाट निर्मित भइरहेका छन् । संभवतः केही वर्षहरूमा यो प्रोटिनको मुख्य स्रोत पनि बन्न सक्छ । एक समयमा जुन तेललाई ड्रेकको मूर्खता भनिएको थियो, आज त्यो मानवको रक्षक र अत्यावश्यक सामग्री बनेको छ ।