धादिङ जिल्लाका तीनै क्षेत्रमा कडा प्रतिस्पर्धा

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एशोदा नेपाल

धादिङ, ८ कात्तिक /धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा तीन ठूला राजनीतिक दलका बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ मा हुने संविधान सभा निर्वाचनको लागि धादिङ जिल्लाको तीन वटा क्षेत्रमा एक एक जना गरी तीन जना पुर्वमन्त्रीहरु चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेका छन् ।

          क्षेत्र नं. १ मा पूर्व मन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य बुद्धिमान तामाङ सहित विभिन्न दलका ११ जना र स्वतन्त्र ५ गरी १६ जना चुनावी मैदानमा उत्रिएका छन । यस क्षेत्रवाट एकीकृत नेकपा माओवादीका पुष्पविक्रम मल्ल,नेपाली कांग्रेसका तिलक रुवाली, नेकपा एमालेका धनवहादुर घले,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका श्याम लामा तामाङ लगायतका व्यक्तिहरु उम्मेदवार बनेका छन । २० गाविस रहेको यस गाविसमा अघिल्लो संविधान सभा निर्वाचनमा यसक्षेत्रवाट तत्कालिन नेकपा माओवादीका मल्ल २९ हजार ५ सय ५५ मत ल्याएर विजयी भएका थिए । मल्लका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका दिलमान तामाङले ८ हजार ९ सय ४० मत पाएका थिए । फोटो सहितको मतदाता नामावली कायम हुंदा यस क्षेत्रवाट ४० हजार ९ सय ७० मतदाता घटेपछि यस क्षेत्रमा अहिले मतदाता संख्या जम्मा ४३ हजार ५ सय २५ जना पुगेको छ । मतदाता संख्या घटेपनि यस क्षेत्रवाट एकीकृत नेकपा माओवादी, राप्रपा, नेकपा एमाले र नेपाली कांग्रेसले चुनाव जित्ने दावी गर्दै आईरहेका छन । सबै दलले गाउं गाउंमा संगठन विस्तार हुनुका साथै आफ्नो पक्षमा जनलहर आएको दावी गरिरहेका छन । राप्रपाका उम्मेदवार पुर्वमन्त्री तामाङले यसै क्षेत्रवाट २५ बर्ष सम्म संसदमा प्रतिनिधित्व गरिसकेका छन । अघिल्लो संविधान सभा निर्वाचनमा तामाङले उम्मेदवारी दिएका थिएनन ।

             जिल्लाको क्षेत्र नम्बर २ मा अघिल्लो संविधान सभा निर्वाचनमा विजयी एमाओवादीका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री कल्पना धमलाले यस पटक पनि पुनः उम्मेदवारी दिएकी छन । धमला संगै नेपाली कांग्रेसका सभापती रामनाथ अधिकारी, नेकपा एमालेका पुर्व गुरुप्रसाद वुर्लाकोटी पनि मैदानमा उत्रिएका छन । २०६४ सालमा एक लाख एक हजार चार सय ४५ जना मतदाता रहेको यस क्षेत्रमा अहिले मतदाता संख्या ६३ हजार ६ सय २३ मात्र रहेको छ । अघिल्लो निर्वाचनमा खसेको मत भन्दा पनि कम मतदाता कायम भएपछि दलहरुले थोरै मतको अन्तरले चुनाव जित्ने अनुमान गरेका छन । २०६४ सालको निर्वाचनमा धमलाले २० हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गंगालाल तुलाधरले १९ हजार ६ सय ४५ र तेश्रो स्थानमा पुगेका नेपाली कांग्रेसका रामनाथ अधिकारीले १८ हजार ४ सय ७ मत प्राप्त गरेका थिए । तुलाधरको स्थानमा यस पटक एमालेले गुरुप्रसाद वुर्लाकोटीलाई र नेपाली कांग्रेसले पुनः रामनाथ अधिकारीलाई उम्मेदवार वनाएकाले यस क्षेत्रको परिणाम कस्तो आउला सबैको चासोको बिषय बनेको छ । यस क्षेत्रवाट यस पटक ७ स्वतन्त्र र १८ जना दलका गरी २५ जना उम्मेदवार मैदानमा रहेका छन ।

             क्षेत्र नंम्वर ३ मा यस पटक पनि नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे र एकीकृत नेकपा माओवादीका शालिकराम जमकट्टेल बिच कडा प्रतिष्पर्धा हुने उनिहरुका कार्यकर्ताहरु बताउँछन् । २०४८ सालदेखि यस क्षेत्रवाट विजयी हुंदै आएका एमालेका नेता पाण्डे अघिल्लो संविधान सभा निर्वाचनमा जमकट्टेलवाट पराजित भएका थिए । २०६४ मा जमकट्टेलले २५ हजार ७५ मत ल्याएका थिए भने पाण्डेले १४ हजार ५ सय ८० मत पाएका थिए । यस क्षेत्रमा यस पटक मतदाता संख्या ६३ हजार ६ सय २३ रहेको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रको मतदाता संख्या ९० हजार ३ सय १९ रहेको थियो । २०६४ को निर्वाचनमा तत्कालिन नेकपा माओवादीले चुनाव प्रचार प्रसारका लागि एमाले नेता कार्यकर्तालाई गाउं पस्न नदिएर अवरोध गर्नुका साथै आफ्ना नेता कार्यकर्ता माथि सांघातिक हमला भएकै कारण चुनाव हार्नुपरेको वताउंदै आएको नेकपा एमालेले यस पटक भने विगतको जस्तो अवरोध नसहने चेतावनी दिंदै गाउं गाउंमा अभियान सञ्चालन गर्दै आईरहेको छ । तामाङ समुदायको वाहुल्यता रहेको यस क्षेत्रबाट यस पटक नेपाली कांग्रेसले बुद्धलक्ष्मी लामालाई उम्मेदवार वनाएका कारण नेपाली कांग्रेसले आफ्नो अवस्था सुधार भएको दावी गरेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रवाट डाक्टर राजाराम कार्कीलाई उम्मेदवार वनाएको थियो । कांग्रेसले यस पटक भने महिलालाई उम्मेदवार वनाएको हो । यस क्षेत्रवाट आसन्न निर्वाचनका लागि ६ जना स्वतन्त्र र २० जना दलका उम्मेदवार गरी २६ जना मैदानमा रहेका छन ।