६ खेल जितेर नेपाली टोली दिल्लीबाट फर्कियो

663 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

६ खेल जितेर नेपाली टोली दिल्लीबाट फर्कियो
काठमाडौं — महत्वपूर्ण प्रतियोगिताअघिको दिल्ली भ्रमण उपलब्धिपूर्ण भएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन्। नोभेम्बरमा हुने विश्व ट्वान्टी–२० छनोटको अन्तिम तयारीलाई नेपाली टोली सात अभ्यास खेल खेल्न दिल्ली गएको थियो।
दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसन (डिडिसिए) सँग द्विपक्षीय सम्झौताअनुरुप नेपालले दिल्ली भ्रमण गरेको हो। डिडिसिएसँगको पहिलो खेलमा पराजित हुनुबाहेक नेपालले बाँकी ६ खेल जित्यो । डिडिसिए यु–२५ ले पहिलो खेलमा इन्डियन प्रिमियर लिग दिल्ली डेरडेभिल्सका योगेश नागर र पवन नेगीलाई ओरोलेको थियो । बाँकीका केही खेलमा प्रथम श्रेणीका केही खेलाडी उतारे पनि नेपालले सबै खेल जित्दै दिल्ली भ्रमण टुंग्याएको हो।

पारस दिल्ली भ्रमण ‘ठीकै’ भएको बताउँछन् । ‘भ्रमण ठीकै भयो । पहिलो ४–५ खेल राम्रै थियो । अन्तिम दुई खेल अलि कमजोर पर्‍यो, नराम्रो चाहिँ भएन,’ पारसले नागरिकन्युजसँग भने, ‘डिडिसिएसँग सम्झौता हुँदा आधिकारिक हिसाबले हामीले अलि राम्रो टोली आशा गरेका थियौं, त्यो अनुरुप चाहिँ प्रतिद्वन्द्वी टोली थिएन। तर यसअघिको भारत भ्रमणभन्दा यो राम्रो थियो।’

अगस्टमा नेपालले सिंगापुरमा एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउनुपूर्व तयारीस्वरुप श्रीलंका भ्रमण गरेको थियो । नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ५ मध्ये ४ अभ्यास खेल खेलेको थियो । पारसले भने, ‘हामीले यसपटक भ्रमणमा त्यस्तै टोली पाउने आशा गरेका थियौं। प्रान्तीय टोलीहरूसँग खेल्न पाइन्छ होला जस्तो लागेको थियो, त्यो चाहिँ भएन।’

दिल्लीमा नेपालले खेलेको ७ मध्ये ३ खेल अन्तिम ओभरसम्म चल्यो । स्कोर कार्ड हेर्दा पहिलो दुई खेलबाहेक अन्यमा उनीहरूलाई नै सिकाउन गए जस्तो देखिन्थ्यो नि भन्ने प्रश्नमा पारसले मुस्कुराउँदै भने, ‘केही खेलहरू अन्तिम ओभरसम्म चलेको थियो । हामी त्यहाँ अभ्यासका साथै सिक्नै गएका थियौं । अन्तिम ओभरसम्म खेल चल्दा हामीले धेरै सिक्ने अवसर पायौं । प्रतिस्पर्धात्मक अवस्थामा खेल कसरी नियन्त्रणमा लिने भन्ने सिक्यौं । प्रतिस्पर्धात्मक खेल जित्दा अन्य धेरै पक्ष सिक्न पाइयो ।’

नेपालले दिल्लीमा राम्रो खेलेकाले पनि विपक्षी टोलीले कम अवसर पाएको पारस बताउँछन् । कप्तानबाहेक अन्य ब्याट्सम्यानले औसतमात्र प्रदर्शन गर्न सकेका थिए । पारसले भने, ‘तीब्र बलिङ र ब्याटिङमा हामी केन्द्रित भएका थियौं । ब्याट्सम्यानहरू विस्तारै जमिरहेका छन्, मुख्य प्रतियोगिता आउन अझै बाँकी छ ।’

पहिलो केही खेलपछि नेपालले थप ३ खेल खेल्ने भएको थियो । तर तालिका नमिल्ने भएपछि नेपाली टोली बुधबार राती काठमाडौं फर्किएको छ । विश्व ट्वान्टी छनोट नोभेम्बर १५ बाट युएईमा सुरु हुँदैछ । नेपाली टोली नोभेम्बर १० मा युएई जानेछ । युएई प्रतियोगितासम्म नेपाली टोलीको टेक्निकल एनालिस्टमा राखिएका भारतीय श्रीराम सोमायाजुला नोभेम्बर ५ नेपाल आइपुग्ने छन् ।