महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती-कस्ता थिए महाकवि देवकोटा ?

622 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, कात्तिक १७ – आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

download (6)लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा हुनुहुन्थ्यो ।

लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उहाँको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उहाँ भन्ने गर्नुहुन्थ्यो, म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु । तर उहाँ आफैं जन्मेदखि नै रोगी हुनुहुन्थ्यो ।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढ्नुभएको थियो । उहाँ सानैदेखि आफ्ना बुबाको कविता साफी गर्नुहुन्थ्यो । आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो । देवकोटालाई बुबाले पण्डित बनाउन खोज्नुभएको थियो । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।

देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्नुहुन्थ्यो । उहाँका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर उहाँको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । उहाँले पनि सबै विद्यार्थीमाझ कविता लेखेर देखाइदिनुभयो । अनि त्यसै घडी शिक्षकहरूले उहाँलाई कोपिलाउँदो कविको दर्जा दिए ।

देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुल्नुभएको थियो । उहाँले छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाल्नुभयो ।

देवकोटाले दस वर्षनपुगी कविता लेख्नुभयो । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर म त अभागी पो भएँ शीर्षकमा उहाँले कविता लेख्नुभएको थियो ।

देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढ्नुभयो । उहाँले १७ वर्षको उमेरमा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिनुभयो ।

देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्नुभयो । उहाँले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ुलक्ष्मी, टीसी कलेज, नेपालुका नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थाल्नुभएको थियो । उहाँले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए र त्यहीबाटै बीएल पनि पास गर्नुभयो।

पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि प्रेमविषयक कविताहरू बढी लेख्न थाल्नुभयो देवकोटाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उहाँको दिनचर्या पनि बित्न थाल्यो ।

देवकोटा चौध भाषा बुझ्नुहुन्थ्यो । उहाँले नौ भाषामा लेखेएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा हुनुभएन । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि काव्यसंसारमा नै विचरण गनर्ने गर्नुहुन्थ्यो देवकोटा ।

उहाँको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उहाँ आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउनु हुन्नथ्यो ।

सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले मुनामदनु लेख्नुभयो । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।

देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाउनुभयो । झन्डै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उहाँका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उहाँ कङ्गालसरि हुनुहुन्थो । ८० बिघा खेत हुँदा पनि उहाँ  भोकभोकै सुत्नुहुन्थ्यो । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।

देवकोटा लाउनका भन्दा खानाका सौखिन हुनुहुन्थ्यो । एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिनुहुन्थ्यो देवकोटा । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।

देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।

देवकोटा जुवातास र पासामा पनि पारङ्गत हुनुहुन्थ्यो । साथै गीत पनि गाउनुहुन्थ्यो हार्मोनियम र तबला पनि बजाउनुहुन्थ्यो । उहाँको सौखको अर्को साधन साइकल पनि थियो ।

राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि हुनुभयो । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।

देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले उद्देश्य के लिनु रु उडी छुनु चन्द्र एक कविता लेख्ता धेरैले उहाँलाई तरङ्गी भने । तर उहाँ दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।

देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डा बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’

लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सक्नुभएन देवकोटा । अन्ततः उहाँ नेपाली भाषानुवाद परिषद्मा जागिरे हुनुभयो । त्यतीबेला उहाँको बौद्धिक जुहारी बालकृष्ण समसँग चल्थ्यो । त्यसै बेला उहाँले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाउनुभयो । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उहाँ प्रथम नेपाली हुनुभयो ।

देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाउनुभयो । तर त्यहाँ चार महिना मात्र टिक्नुभो । त्यसपछि उहाँले कमर्स कलेजमा पनि प्रोफेसर पद पाउनुभयो । त्यहाँ पनि तीन महिना मात्र टिक्नुभयो । आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्ने र कहिले समयभन्दा धेरै ढिलो पुग्ने उहाँको बानी थियो ।

देवकोटा लहैलहैमा बनारसतिर पनि जानुभयो । त्यसबेला उहाँले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिनुभएको थिएन र त्रिचन्द्र कलेजबाट पनि बिदा लिनुभएको थिएन । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो ।

त्यस बेला उहाँको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उहाँ वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किनुभयो ।

देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।

देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत हुनुभयो । त्यसपछि उहाँकै हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य हुनुभयो ।

डा केआई सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बन्नुभयो । ११० दिनसम्म मन्त्री भएका बेला पनि उहाँले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाउनुभयो ।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्योउने काम पनि देवकोटाबाट नै भएको थियो ।

भारतीय महापण्डित डा।राहुल साङ्कृत्यायनले भनेका थिए, मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु । साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द जानुभयो । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द जानुभएको थियो । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए ।

तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उहाँको पारिश्रमिक निकासा गरिदिए ।

देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए उज्यालो अनलाईनले जनाएको छ ।  । (नई प्रकाशनबाट)